विछट्टको शहर

/
0 Comments
शहर वडो विछट्टको लाग्छ । विरोधाभाषहरु शहरका आत्मा हुन सायद । बारहरुले घेरीएको खुलामंच देख्दा होस वा कहिल्यै पुरानो नहुने नयां बानेश्वर देख्दा । शहरले केही नामहरु मुफ्तमा पाएको छ । त्यसको फाईदा शहरका केही गल्ली र चोकले वर्षौदेखी उठाईरहेका छन् ।
रामशाहपथस्थित पद्मोदय स्कूल । जुन भुकम्पले चिरा चिरा परेको छ । रातो स्टिकर टासेर खतराको संकेत त गरिएको छ तर मान्छेहरु वेवास्तापूर्वक भवन छेउ सुस्ताईरहेछन 


मान्छेहरुको भिडले किचिएको खिचापोखरी पुग्दा मैले दर्जनौंपटक देखेको छु कुनै कुनामा क्वाई क्वाई गरीरहेको कुकुरको छाउरो । खिचा अर्थात कुकुर आफ्नै क्षेत्रमा सुरक्षित छैन । सुरक्षा सायद शहरलाई कहिल्यै नचाहिने र सबैभन्दा बढी उच्चारण गरिने शब्द हो ।

संविधानसभा भवनबाट मुश्किलले पांच सय मिटरको दुरीमा मध्य बानेश्वरको एक घरमा चलेको झारफुक दोकान । सायद दिशा हराईरहेको देशको चिना टिप्पन पनि हेरीन्छ की ? 
यहां सुरक्षा भन्दा औपचारिकता ठूलो ठानिन्छ, यहां । त्यही भएर शहर भद्धा मजाकहरुको संग्रालय भएको हो । टेकाले धानेका घरमा हासेर बाचीरहेका यहांका रैथाने हुन वा फोहोरको डंगुर छेउ उभिएर ढुंगा पुजीरहेका श्रद्धालु हुन । काठमाडौं शहर आस्थाको कुण्ड हो । डामेको साढेदेखी, वर्षभरी भुस्याह भएर पनि तिहारमा पुजिने कुकुर सम्म शहरको घन्चमन्चमा अटाएका छन् ।

शहरको रखवाल गर्न यहां सालिकहरु छन् । मान्छेहरुलाई हर रात व्युझाउन यहां खानेपानी संस्थान छ । दिउसै अध्यारो महशुस गर्न यहां अध्यारा गल्लीहरु छन । गर्मीमा जाडो महशुस गर्न ओसीएका साघुरा चोकहरु छन् । लिंग परिक्षणका डाक्टरी दोकानदेखी, गर्भनिरोधश चक्कीको व्यापार सम्म यही चलेको छ । झारफुक देखी अन्तराष्ट्रिय दवाईखानाको पसलसम्म एउटै कवलमा अटाएका छन् । यतिका दृश्य देख्दा पनि कसले भन्छ, यो शहरमा देख्नाको झिलीमिली र हेर्नको आनन्द छैन भनेर ।


विरोधाभाषका श्रृखलाहरुलाई आफुसंगै हुर्काएर मैमत्त बनेको शहर देख्दा भूपी शेरचनको कविताको याद आउछ । भूपीले लेखेको बेला जस्तै छ यो शहर


साँझको नयाँ सडक जिन्दगीको यात्रा
बाह्य सुकिली नयाँ सडक, छाँट्टिएर
पेटीहरु ओहोर–दोहोर गर्छिन् साँझमा
र स्लिभलेस् ब्लाउजको पाखुरामुनि खिचापोखरी
निसासिन्छ, गल्लीका
काखीका रौँजस्ता झ्वास्स उम्रेका धमिला, दुर्गन्ध
घरहरुका माझमा
पसलहरुका शो–विण्डोभित्र
सू–जि वाँग हाँसो हाँस्तछन् हङकङ सुन्दरी
मैडम टेरिउन, मिस् नाइलन र सुश्री टेरेलिनहरु
र सम्मोहित कुमारी लूपकुमारीहरु
पाखुराभरि पेन्सिलिन इन्जेक्सनको
यात्राका पदचिह्नहरु बोकेर
अँध्यारा गल्लीहरुतिर लम्किन्छन्
ब्रेसरीको खर्पनमा बासी यौवनका फलहरु उचालेर
‘ट्रीप’मा मग्न हिप्पीकुमारको अंगालोमा
अर्धनग्न पीताम्बर साडी–ब्लाउजमा
फ्लावर बेबी हिप्पी मैयाँ नयाँ सडकमा हिंड्छे
नयाँ सडकका तमाम आँखाहरुलाई
आफ्नो नाइटोमा खोपाएर
र वरिपरि उभिएका पीपलको बोटमा धर्मपुत्रहरु
भित्र–भित्रै करुवा भइदिन्छन्
चौतारीवरिपरि उमि्रन्छन्
प. स. क. को डे्रनेजले मिल्काएका फोहोरहरु
र कमलपित्ते आँखाले आउँदो भोलीलाई हेर्दछन्
अखबारका खापाहरु उघारेर।
एउटी माग्ने आइमाईले न्यूज सेन्टरअगाडि उभिएको
सूटेड टाटकुमार नेपाली रित्तो खल्तीको एक्सरे गरिदिन्छे
पाँच पैसा मागेर
र टाटकुमार नेपाली
काठमाडौंको आकाशमा गालीको बेलून उडाएर
भाग्योदय चिट्ठातिर हेरेर आफूलाई थकिदिन्छ।

नयाँ सडकमाथि
बोकेर
उभिनुको कुनै अर्थ पाउँदिनँ
र घरबार शब्दलाई एउटा अर्थ दिन
(दिउसो घर र राति बार आवाद गरेर)
लेटेष्ट कविताको पारिश्रमिकलाई जाँड बनाएर घोक्छु
र नयाँ सडकलाई नाप्छु
नयाँ कविताको प्लट सोच्तै
र अनायास टुँडिखेलतिर लम्किन्छु
वरिपरिका भीडहरुतिर भैरहवा सुगर मिलको हाँसो फालेर
शहीदद्वारतिर पुगेर म अडिन पुग्छु
र अन्तिम खिल्ली चारमिनारको सल्काएर
म रित्तो बट्टाभित्र काठमाडौंको
रिक्तता हालेर मिल्काइदिन्छु
र एक टक शहीदद्वारलाई हेरेर शहीदद्वारतिर
एउटा मौन प्रश्न फाल्छु
शहीदद्वार मलाई हेरेर फिस्स हाँस्छ
र कुहिरोभित्र हराउँछ।
(२०२५–मधुपर्क)


You may also like

Powered by Blogger.

.

.

.

.