सम्झनामा दिल्ली–गोरखपुर रेल यात्रा

/
0 Comments

जनकराज सापकोटा 
रेलसग जोडिएका कति धेरै गीतहरु नेपाली समाजमा प्रचलनमा छन् । कहिल्यै रेल नदेखेकाहरुले पनि, रेल चढदै नचढेकाहरुले पनि कति मज्जाले रेलको गीत गाएको सुनेको छु । लाहुरे परम्परा र त्यसैमा आश्रित नेपाली समाजका निम्ती रेलका गीत नया होईनन् । दाई त कालो रेलको धुवाले ... होस कि पहाडको छुक छुके रेल गयो हजुर रोक्दै नरोकी ... होस । रेलसंग जोडिएका अनेकन गीत नेपाली गायन परम्परामा एउटा हिस्सा बनेर बसेको छ । 

यतिविधी रेलको कुरा गर्नुर्का कारण हो, हालैका दिनमा मैले गरेको दिल्ली–गोरखपुरको आठ सय तीस किलोमिटर दुरीको रेल यात्रा । झण्डै दस बर्ष अघि रिपोर्टिङ सकेर संखुवासभाबाट  फर्किएको थिए । चर्किदो मधेश आन्दोलका कारण म कैयन दिन बिराटनगरमा अडकिए । त्यतिबेला म कान्तिपुरसंग जोडिईसकेको थिईन् । तर कान्तिपुरकर्मीसंग चिनाजानी थियो । यही चिनाजानीको फेरो समातेकै कारण बिराटनगरका रैथाने पत्रकार भिम घिमिरेले मलाई बिराटनगरबाट जोगवनी हुदै कटिहार जाने र त्यहांबाट रेल चढेर गोरखपुर हुदै सुनौली भएर काठमाडौं फर्किने चांजो मिलाईदिनुभएको थियो । त्यो मेरो पहिलो रेल यात्रा थियो । 

म हदै केटौले थिए । त्यसैले पहिलो रेल यात्रा डरै डरमा सकिएको थियो । पैसा चोरिदिन्छन भन्ने डर, स्टेशनमा झर्न बिर्सिएर अन्तै पुगिएला भन्ने डर, रेलभीत्र अपरिचितले केही सुघाईदिएर लुटिदेलान भन्ने डर । यस्तै डरै डरका माझ मैले कटिहार–गोरखपुर यात्रा आम्रपाली रेल सेवाबाट गरेको थियो । त्यतिबेला आफन्त र अन्य चिनारुले रेल यात्रका अनेकन किस्सा सुनाएर मेरो मनमा डर भरिदिएका थिए । कसैले सुतेका बेला के हो के सुघाएर लुटने किस्सा सुनाएका थिए । कसैले किन्नरहरु नाच्दै आउने र तिनीहरुलाई पैसा नदिई धर नपाईने कुरा सुनाएका थिए । कसैले छेवैमा बस्ने यात्रुप्रति सचेत हुन सुझाएका थिए । कसैले पैसा पर्समा नराखेर अन्यत्र राख्न सुझाएका थिए । अनेकन सल्लाह सुनेर म यति डराएको थिए कि भनी साध्धे छैन् । नाढटी भन्दा मैले भारु ५ सयको दुई नोट दांया र बांया खुट्टाको प्लास्टिकमा बेरेर तलुवामुनी लुकाएको थिए । 

दसकपछिको रेल यात्रा फरक थियो । म संग हराईन्न, लुटिईन्न र यात्राको मज्जा चाख्नुपर्छ भन्ने आत्मविश्वास थियो । सन्र्दभ थियो, दिल्लीस्थित साउथ एसियन युर्निभर्सिटीले आयोजना गरेको 'Work, Identity and Livelihood in 'new' Nepal: Conversation within South Asia' शिर्षकको सम्मेलन । यो कार्यक्रममा मैले साथी सिपी अर्यालसंग मिलेर एउटा बैदेशिक रोजगारीबाट कसरी दलितहरुले मुल्य चुकाईरहेका छन भन्ने विषयमा माथी एउटा अनुसन्धानपत्र बारे छलफल गरेका थियौं । 

कार्यक्रम पछिका दुई दिन दिल्लीको धुप खांदा खांदै म आत्तिसकेको थिए । लामो रेल यात्रा गर्दै छु भन्ने भावले म पुलकित चाही औधी थिए । ५ साउनको राती आठ बजे म बैशाली एक्सप्रेसको रेल चढे । लम्मेतान रेलको मुख कता हो पुच्छर कता हो ? कहां नेर मेरो डब्बा छ, कहांनेर मेरो सिट पर्छ ? सुरुमा त आपतै पर्यो । एक जनालाई हैन, दुई जनालाई सोधेर मैले कन्र्फम गरे । दस बर्ष अघिको यात्रा जस्तो म धेरै हडबडाएको थिईन् । हतारो त मेरो स्वभावमै गासिएको छ । तर म दस बर्ष अघि जस्तो आत्तिएको थिईन् । के होला कसो होला भन्ने पिरले पनि मलाई गांजेको थिएन । 

सजिलै म मेरो कोठामा पुगे । चार वटा बेड थिए । मेरो सामुन्नेको बेडमा गोरखपुर निवासी आंखाका डाक्टर थिए । मेरो बेड माथीको बेडमा अर्का एक यात्रु थिए । डाक्टरको बेड माथिको बेडमा एक महिला यात्रु । महिला यात्रुले आफुलाई माथील्लो बेडमा सुत्न अप्ठ्यारो पर्ने बतँएपछि मैले बेड साटे । अर्थात म डाक्टरको बेड माथीको बेडमा पुगे । ति महिलाले बडो मायालु स्वरमा मलाई छोराजस्तै मानेर धन्यवाद मात्रै दिईनन, एक बोतल पानी किनेर दिईन् । डाक्टरको मोबाईलमा ब्याट्री सकिनै आटेको थियो । रेलको प्लकमा उनको चार्जर घुसेन । अनि मैले पावर बैंक दिए । बदलामा भलाद्मी डाक्टरले पनि मलाई एक कप मिठो चिया पिलाए । भलै ति दुवै सहयोग मैले केही अपेक्षाले गरेको थिइन् । 

रेलको बेड काईदाको थियो । सेतो तन्ना, सानो तौलिया, पातलो कम्मल सबै सफा थिए । दस बर्ष अघि यस्तो थिएन् । रेलभीत्र औधी फोहोर थियो अनि चर्को हल्ला पनि । तर यसपाला फरक थियो । मेरो दिमागमा दसक पुरानो यात्राका स्मृतीहरु ओहोरदोहोर गरिरहेका थिए । जसै रेल जोल्ठिङमा पथ्र्यो त्यतिबेला स्मृतीको लय गिजोलिन्थ्यो । जसै विपरित दिशाबाट आएको रेलको सिठ्ठी मेरो कानमा पथ्र्यो, तसै स्मृतीबाट म बौरिएजस्तो हुन्थे । 

हाम्रो डब्बाभीत्रका अर्का यात्रु त पल्टिने बित्तिकै निदाईसकेको थिए । तिनी बेला–बेला बाघ झै घुर्थे । निदाउंन नसकेर म किताब पढदै समय कटाउंथे । रेलको खाना कस्तो होला भन्ने कौतुकताले पनि मैले भेज खाना अर्डर गरे । भात त मोटा चामलको जस्तो पो थियो । दालमा पनि चिल्लो धेरै । पनिर र तरकारीमा चिल्लोको त के कुरा । आलु र परवरको भुजिया भने तै विसेक थियो । तीन वटा चपाती र दाल खाएर मैले बांकी खाना खेरा फाले । खाना फालेकोमा थकथकी त लाग्यो नै ।

राती कुन बेला निदाएछु पत्तो भएन । बिहान नौ बजेर ५५ मिनेटमा गोरखपुर स्टेशनमा उत्रिनुपर्ने थियो । रातभरको यात्रामा हाम्रो कम्र्पाटमेन्ट सुनसान रह्यो ।
  
बिहान नहुंदै म शौचालय गए । पानी थियो, तर हात धुने साबन थिएन । मैले जेनतेन काम चलाए । धारामा सिक्रीले बाधेर राखीएको स्टिलको मग थियो । चोरेर लैजान्छन भनेर सायद कुकुरलाई जस्तै सिक्रीले बाधीएको होला । सायद त्यो भारतिय समाजको सभ्यता जांच्ने लिटमस टेस्ट थियो । 

एकछिन पछि म फेरी टुथपेस्ट र ब्रस बोकेर आए । त्यतिबेला मेरो आंखा अघिको शौचालयको विपरित दिशामा रहेको शौचालयको ढोकामा पर्यो । त्यहां लेखिएको थियो, पाश्चात्य शैली । के पो रछ भन्ने खुल्दुलीले ढोका खोलेपछि देखे, त्यो कमोट सहितको शौचालय रहेछ । अघिल्लो भन्दा थोरै सफा । त्यहां हेन्ड वास पनि रहेछ । मैले कुरो बुझे र काम तमाम गरे । 

गोरखपुर आउन एक घन्टा जति बांकी रहेका बेला मेरो विपरित तख्तामा घुर्दै सुतेका यात्रु ब्युझिए । उनीसंग बल्ल संवाद भयो । संवादको बहाना अनौठोसंग जुरेको थियो । गुट्खाका अम्मली उनी अघिल्लो रातीबाटै गुट्खा खान नपाएर रन्थन्निएका रहेछन् । म संग गुट्खा छ कि भनेर उनले कुरा सुरु गरे । गुट्खा नभएपनि  हामीबिच कुराकानी सुरु भयो । 

उनी त दार्जलिङ मुल घर भएका मोहम्मद जैनुद रहेछ । नेपाली भाषा मज्जाले बोल्ने रैछन । दुई बर्षको साउदीको रोजगारीबाट फर्केका । उनले साउदीको रोजगारीको अनुभवहरु सुनाए । उनले नेपाली र भारतिय कामदारको स्थान अफ्रिकी कामदारहरुले ओगटदै गएको बताए । अनि अर्को रमाईलो कुरा पनि सुनाए, गुट्खाको । 

साउदीमा गुटखा किन्न पाईदो रहेनछ । अनि भारत र नेपालबाट जाने कामदारहरुले लुकाएर लैजादा रहेछन र चर्को दाममा बेच्दा रहेछन् । उनले भारतमा ५ मा पाईले गुट्खा साउदी पुग्दा तीस रुपैया भारु सम्म पर्ने सुनँए । उनी गुट्खाको तलतलमा छटपटाईरहेका थिए । उनीसंगको कुराकानीले मलाई नेपालबाट गुटखा र सुर्तीजन्य सामाग्री बोकेर खाडी जाने कामदारको रिपोर्टिङ गर्ने आईडिया फुर्यो  (हेर्नुस  रिर्पोट https://www.kantipurdaily.com/news/2019/07/26/156410680318612065.html?author=1) । 

झण्डै दस बजे गोरखपुर उत्रिदा चर्को घाम थियो । तालु छेडला जस्तो घामले भन्दा यात्रुको हातै समातेर लर्तालान जस्तो गर्ने चालकहरुले मलाई रिस उठेको थियो । गोरखपुर–सुनौली यात्रा कार, जिप र बस जे बाट गरेपनि हुन्छ । कारको भाडा भन्न चाही साढे तीन सय भन्दा रैछन । तर मोलतोलमा साढे दुई सयमा सजिलै मिल्दो रैछ । जिप चाही दुई सय जतिमा पाईदो रैछ । अनि बसको भाडा चाही असी । एउटा जीपवालाले मलाई औधी पछ्यायो । कस्तो जिप हो ? मेरो प्रश्नमा उसले जस्तो उत्तर दियो त्यसले मलाई अचम्ममा पार्यो । 
उसले भन्यो, एसीवाला । प्रेसको जीप हो । 

म छक्क परे । उसकै पछि लागेर गाडीकोे छेउ पुगेपछि थाह भयो, उ बचनको पक्का रहेछ । हो त, टाटा सुमो जस्तै गाडीमा चालक बस्ने सिट अगाडीको सिसामा ठुलो अंग्रेजी अक्षरमा प्रेस लेखिएको थियो । कस्तो अचम्म । म पत्रकार भन्ने था पाएर त्यो मान्छेले मलाई यही गाडीमा यात्रा गराउन खोजेको त हैन । मनमनै कुरा खेलाए र मनमनै हासे । दुई सय भाडा भन्दै थियो । मैले आलटाल गरेपछि एक सय पचास भारुमै लैजान तयार भयो । 

प्रेसको गाडीको अघिल्लो सिटमा बसे । गाडी ट्राफिक नियम विपरित सडक छेउ ओगटेर बसेको थियो । सहचालक सकडमा हिडने प्रत्येक यात्रुको हात तानेर घिसारौला झै गरीरहेको थियो । झण्डै बीस मिनेटपछि उसले गाडी भर्यो । हिडने बेला हुन लागेको थियो, गाडी अगाडी सरकारी मोटरसाईकलमा आएका दुई प्रहरी देखिए । तिनीहरु गाडी अगाडी रोकिए । मोटरसाईकलको पछाडी बस्ने प्रहरी दबंग शैलीको थियो । बाक्लो र कालो जुंगा अनि कालो चश्मा उसलाई खुबै सुहाईरहेको थियो । मैले सोचे, प्रेसको गाडीमा यात्रु बोकेको छ । फेरी सडक छेउमा गाडी रोकीराखेको छ । अब पक्कै कार्वाही हुने भयो । मनमनै सोचे, हेर्दैमा यस्तो दबंग प्रहरी छ । यसले पक्कै के बांकी राख्ला  । 

तर म एकैछिनमा गलत सावित भए । चालकले चर्को स्वरमा कराउंदै सह चालकलाई बोलायो । हातमा केही राखिदियो । सहचालक खुरुरु दौडदै मोटरसाईकल छेउमा पुग्यो र प्रहरीसग हात मिलाएजस्तो गरेर केही राखिदियो । पछि थाह पाए त्यो पचासको नोट थियो । पैसा हातमा परेको खुशीमा होला कि काम फत्ते पारेको अवसरमा त्यो प्रहरी मुसुक्क हासेर आफ्नो बाटो लाग्यो । त्यसको दबंग छबी मेरो आंखै अगाडी धुलीसात भयो । 




You may also like

Powered by Blogger.

.

.

.

.