/
0 Comments

हामीले यस्तो कहिले गर्ने?

लन्डनको एउटा पत्रिकाले चलाएको अत्यन्त प्रभावकारी परोपकारी अभियानबाट काठमाडौँका पत्रपत्रिकाले केही सिक्ने हो भने नेपाली पत्रकारितामा नयाँ अध्याय सुरु हुनेछ।
'लन्डन इभिनिङ स्ट्यान्डर्ड' लन्डनको सानो आकारको नाम चलेको दैनिक हो । उक्त दैनिक १ सय ८० वर्षसम्म सशुल्क रहेपछि सन् २००९ अक्टोबरदेखि निःशुल्क भएको छ । यस पत्रिकाले यो वर्ष लन्डन प्रेस क्लबले प्रदान गर्ने प्रतिष्ठित 'वर्षको उत्कृष्ट दैनिक समाचारपत्र' को उपाधि पायो। यो दिनहुँ सात लाखप्रति निःशुल्क वितरण गरिन्छ। पन्ध्र लाख जनाले नियमितरूपमा पढ्ने अनुमान गरिन्छ । गत जुन ६ मा बीबीसीको मुख्यालय रहेको बुस हाउसबाट नजिकैको ट्रेन स्टेसन हलबोर्न पुगेपछि पत्रिकावालाले हातमा थमाइदिएको इभिनिङ स्ट्यान्डर्डको एकप्रति समाएँ। पत्रिकाको पहिलो पृष्ठमा प्रचलित पत्रकारिताका लागि असामान्य तर मैले उपलब्धिमूलक पत्रकारिताका लागि आवश्यक भन्दै बारम्बार उठाएको विषयसँग सम्बन्धित सामग्री छापिएको थियो । पत्रिकाको पहिलो पृष्ठको सम्पूर्ण स्थान प्रदान गरिएको उक्त सामग्री 'परोपकारी पत्रकारिता'को ज्वलन्त उदाहरण थियो। पढिरहेको बालकको तस्बिरसँगै पत्रिकाको दायाँदेखि बायाँसम्मै छापिएको शीर्षकमा लेखिएको थियो : 'निरक्षरताविरुद्ध स्ट्यान्डर्डद्वारा अभियान सुरू : लन्डनलाई पढाउँ'। त्यसको मुन्तिर दुई बुँदामा पाठकलाई प्रत्यक्ष आग्रह गर्दै लेखिएको थियो :

• हामी तपाईँलाई विद्यालयमा पढ्न सिकाउने स्वयंसेवीका लागि चन्दा दिन अनुरोध गर्छौँ।
• तपाईं आफैँ पनि स्वयंसेवी बनेर बालबालिकालाई सहयोग गर्न सक्नुहुन्छ।
त्यसपछि 'इभिनिङ स्ट्यान्डर्ड अभियान' को नामबाट लेखिएको अभियानमूलक समाचारको पूर्ण पाठको अनुवाद यस्तो छ :
'लन्डन इभिनिङ स्ट्यान्डर्ड लन्डनलाई पढाउन आज अभूतपूर्व अभियान सुरु गर्छ - र त्यसमा सहयोग गर्न हामी तपाईँलाई आग्रह गछौँं।
हामी पढ्न कठिनाइ भोगिरहेका बालबालिकालाई पढ्न सहयोग पुर्‍याउन स्वयंसेवीको खोजीमा छौँ। हामी ती स्वयंसेवीको खर्च बेहोर्न चन्दा दिन पनि आग्रह गर्छाँैं।
गत साता हामीले (लन्डनमा) तीनमध्ये एक बालकसँग पुस्तक नभएको र काम गरेर जीविकोपार्जन गर्ने दस लाख वयस्क पढ्नै नसक्ने तथ्य सार्वजनिक गरेका थियौँ। यो हाम्रा बालबालिका र यस महान् सहरलाई हामीले दिएको धोका हो। निरक्षरताको यस अभिशापसँग जुध्न, हामी 'साक्षरता सहयोगका लागि स्वयंसेवी' नामको विशेष प्रकृतिको कल्याणकारी संस्थासँग सहकार्य गर्दैछौँ। त्यस कल्याणकारी संस्थाले सयौँ बालबालिकाको जीवन परिवर्तन गरिसकेको छ।
उक्त संस्थाले पढ्न र लेख्न कठिनाइ भोगिरहेका विद्यालयका बालबालिकालाई सहयोग पुर्‍याउन सर्वसाधारण वयस्कलाई तालिम दिने असाधारण काम गर्छ। ती वयस्कले सहयोग गरेका दसमध्ये नौ बालबालिकाको पढ्ने र लेख्ने क्षमतामा व्यापक सुधार भएको छ। तर, त्यस संस्थालाई नयाँ स्वयंसेवी र तिनलाई लाग्ने खर्चको खाँचो छ।
आज हामी नयाँ स्वयंसेवीलाई आवश्यक खर्च जुटाउन चन्दाका लागि र स्वयंसेवी बन्न चाहनेहरूलाई अगाडि आउन आह्वान गरिरहेका छौँ। 'लन्डनलाई पढाऊँ' हाम्रो अभियान निसहायहरूको जीवनमा परिवर्तन ल्याउन चाहन्छ।
आजको हाम्रो आग्रह हाम्रो पुरस्कार विजेता 'गरिबीविरुद्ध अर्को अभियान'कै निरन्तरता हो। गत वर्ष यस अभियानमा हामीले राजधानी लन्डनका अति विपन्नहरूको स्थिति उजागर गरेका थियौँ। गरिबीविरुद्ध लडिरहेका कल्याणकारी समूहहरूका लागि लगभग ८५ करोड रुपियाँ उठाएका थियौँ।
परिवर्तनका लागि हामीलाई साथ दिनोस्। आजै स्वयंसेवी बन्नोस्, आजै चन्दा दिनोस् - र जीवन बदलिदिनोस्।'
पत्रिकाको उक्त प्रयास त्यतिमा सीमित थिएन। समाचारको अन्त्यमा उक्त अभियानसँग सम्बन्धित अन्य समग्री पृष्ठ २, ३, ४, ५, ६, ७ र १४ मा पढ्न आग्रह गरिएको थियो। ती थप सामाग्रीमा अभियानसँग सम्बन्धित विभिन्न तथ्य र विश्लेषणहरू प्रस्तुत गरिएका थिए। अनि सोही अभियानबारे सम्पादकीय पनि लेखिएको थियो।

अस्ति सोमबार साँझ यो स्तम्भ नागरिक दैनिकलाई इमेल गर्नु अगाडिसम्मको एक सातामा अभियानका लागि पत्रिकाले झन्डै एक करोड रुपियाँ संकलन गरिसकेको थियो। त्यस अभियानलाई सघाउनेमा युवराज चार्ल्सकी पत्नी कमिला, भूतपूर्व प्रधानमन्त्री टनी ब्लेर, कैयन् सेलिब्रेटी, गुगलजस्ता केही ठूला कम्पनी र सयौँ सर्वसाधारण छन्। गत वर्ष गरिबीविरुद्ध अभियानमा इभिनिङ स्ट्यान्डर्डले लक्ष्य गरेभन्दा बढी रकम संकलन गरेको थियो र त्यसका लागि सबभन्दा उपलब्धिमूलक अभियान चलाएकोमा 'वर्षको अभियान' पुरस्कार पनि प्राप्त गरेको थियो।


पत्रकारिताको सीमाभित्र सामाजिक कल्याणको कार्यसूचीलाई सांकेतिकरूपमा मात्र होइन, ठोस परिवर्तनकारीरूपमै कति प्रभावकारी ढंगबाट समाहित गर्न सकिँदोरहेछ भन्ने इभिनिङ स्ट्यान्डर्डले पुष्टि गरिदिएको छ।

यहाँ उक्त पत्रिकाको अग्रपृष्ठमा प्रकाशित सामग्रीको सम्पूर्ण अनुवाद प्रस्तुत गरेर यति फूलबुट्टा पनि भर्नुका पनि कारण छन्।
पत्रकारिताको काम समाजिक कल्याण गर्दै हिँड्नु होइन, सामाजिक काम गर्ने जिम्मेवारी सामाजिक संस्थाहरूलाई नै छाडिदिनुपर्छ। पत्रिकाले पत्रकारिता गर्नुपर्छ भन्नेहरूका लागि इभिनिङ स्ट्यान्डर्डको अभियान गतिलो जबाफ हो। इभिनिङ स्ट्यान्डर्ड हल्कारूपमा लिन सकिने पत्रिका होइन। अन्यथा, न त त्यसले वर्षको उत्कृष्ट दैनिक पत्रिकाको उपाधि पाउँथ्यो, न त त्यसलाई कमिला, ब्लेर, कैयन् सेलिब्रिटी र गुगलजस्ता प्रतिष्ठित कम्पनीले साथै दिन्थे। पत्रकारिताको सीमाभित्र सामाजिक कल्याणको कार्यसूचीलाई सांकेतिकरूपमा मात्र होइन, ठोस परिवर्तनकारीरूपमै कति प्रभावकारी ढंगबाट समाहित गर्न सकिँदोरहेछ भन्ने इभिनिङ स्ट्यान्डर्डले पुष्टि गरिदिएको छ। पत्रपत्रिकाबाट यस्ता कल्याणकारी प्रयास भएका थिएनन् भन्ने होइन। तर, ती सामान्यतया प्राकृतिक विपत्ति र अन्य तात्कालिक परिस्थितिबाट निर्देशित हुन्थे। तर, बेलायतजस्तो देशमा इभिनिङ स्ट्यान्डर्डजतिको लोकप्रिय पत्रिकाले गरिबी वा निरक्षरताजस्तो सामाजिक समस्यालाई सामान्य अवस्थामा उठाएर त्यसका लागि अग्रपृष्ठको सम्पूर्ण भाग र भित्रका कतिपय पृष्ठ खर्च गरेर उठाएको समस्या सम्बोधन नै गर्ने गरी उच्च महत्व दिई अभियान चलाउनुचाहिँ बिरलै हुनै घटना हो। त्यस प्रकृतिको परोपकारी पत्रकारितालाई सक्दो प्रवर्द्धन नगरी भएको छैन किनभने विश्वभर नै पत्रकारिता परिवर्तनभन्दा बढी बहसको संवाहक बनेको छ।
परोपकारी पत्रकारिताको खाँचो बेलायतभन्दा नेपालजस्तो देशलाई बढी जरुरी हुन्छ। बेलायतमा त निरक्षरै भए पनि कमसेकम राज्यले त्यस्ता व्यक्तिलाई थोरै नै किन नहोस् हेरचाह गर्छ, पैसा नभए पनि बिरामी हुँदा नागरिकले उपचार पाउँछ। हाम्रो जस्तो देशमा सर्वसाधारणको स्थिति सधैँ कमजोर हुन्छ। जनता खान नपाएर मर्छन्, विद्यालय जानबाट वञ्चित हुन्छन्, बिरामी हुँदा सिटामोलसम्म खान पाउँदैनन्। तर, हामी तर्क गर्छौँ, 'यस्ता समस्या समाधानका लागि राजनीति गतिलो हुनुपर्छ, त्यसैले हाम्रो पहिलो दायित्व राजनीतिलाई सुधार्नु हो।' त्यो तर्क ठूलो हदसम्म सही हो तर जुन देशमा सामाजिक उत्तरदायित्वको एउटा प्रमुख संवाहक बन्नुपर्ने पत्रकारिता, आफ्नो उत्तरदायित्वलाई राजनीतिको चस्माबाट मात्र हेर्छ, जुन देशमा सामान्य नागरिकहरू व्यक्तिगत उत्तरदायित्व बिर्सेर राजनीतिक उत्तरदायित्वको मात्र खोजी गर्छन्, त्यस देशमा न राजनीति सुधि्रन्छ, न समाजै सुसंस्कृत हुन्छ। राजनीतिक स्थिरताले मात्र सबै समस्या सम्बोधन गर्ने भए बेलायतजस्तो देशमा एउटा पत्रिकाले गरिबी र निरक्षरताविरूद्ध अभियान चलाउनुपर्ने थिएन।
बेलायतमा त्यस्तो पत्रकारिताको त्यति ठूलो महत्व देखियो भने हाम्रो जस्तो देशमा झन् त्यसको महत्व कति होला? तर, हाम्रो त कुरै छोडिदिउँ्क, विकसित देशका अधिकांश पत्रकारले पनि सम्बन्धित अधिकारीहरूबाट जबाफदेहीको खोजीमात्र गर्ने पत्रकारिताको साँगुरो घेराबाट निस्किएर समाजप्रति जबाफदेही हुने पत्रकारिताको अभ्यास गर्न सकेका छैनन्। त्यसो नगरेसम्म पत्रकारिता ठोस सकारात्मक रूपान्तरणको वाहक बन्नै सक्दैन। त्यसले आफ्नो पेसाको मूल धर्म, सार्वजनिक हितको लक्ष्य हाँसिल गर्नै सक्दैन। अर्थात्, परम्परागतरूपमा पत्रकारिताले अवलम्बन गर्दै आएका सबै मूल्यमान्यता त्याग्नुपर्छ भन्ने होइन। तर, सधैँ अरूबाट खोज्नेले आफैँंले पनि सकेको दिएर देखाउनैपर्छ।
इभिनिङ स्ट्यान्डर्डले सम्भवतः वर्षभर सम्बन्धित अधिकारीबाट जबाफदेहीको खोजी गर्छ तर वर्षमा एक पटकमात्र पनि आफूले वास्तवमै 'हित' गर्नुपर्ने वर्गका लागि आफैँ जबाफदेही भएर देखाउँदा, ऊप्रतिको सद्भाव, सहयोग र उसको छवि ह्वात्तै बढेको देखिन्छ। जताततै समस्या भएको हाम्रो समाजमा कुनै राष्ट्रियस्तरको पत्रिकाले इभिनिङ स्ट्यान्डर्डले जस्तै पत्रकारिताको मूल धर्मप्रति इमानदारी र यसको परम्परागत अभ्यास बदल्ने आँट गर्न सक्ला? कुनै राष्ट्रिय दैनिकले अग्रपृष्ठमा 'दसौँ वर्षसम्म हाम्रो पत्रिकाले राजनीतिक जबाफदेही खोज्दाखोज्दा र अशिक्षा तथा गरिबीबारे लेख्दालेख्दा हामीले खासै केही परिवर्तन ल्याउन सकेनौँ। अबचाहिँ सानै किन नहोस् कर्मद्वारा आजबाट त्यस स्थितिलाई बदल्ने जिम्मेवारी हामी स्वयं पनि बहन गर्दैछौँ' भनेर आफैँ वा कुनै कल्याणकारी संस्थासँग मिलेर अभियान चलाउन सक्ला? वर्षमा एक पटकमात्र एउटा राष्ट्रिय दैनिकले वा अन्य लोकप्रिय क्षेत्रीय प्रकाशनले त्यस्तो अभियान सञ्चालन गर्ने हो भने मानवीय जीवनलाई प्रत्यक्ष असर पार्ने कैयन् सत्कार्य नागरिक तहबाटै हुन सम्भव छ। तर, परोपकारी लेख र समाचारलाई त्यति महत्व नदिने र अझ कतिपय स्थितिमा स्थानैै नदिने पत्रकारिताको बजारमा पत्रिका स्वयंले परोपकारी अभियानकै नेतृत्व गर्ला भनेर धेरै आशावादी हुने ठाउँचाहिँ छैन। तैपनि फाट्टफुट्ट पहिलेभन्दा बढी परोपकारी समाचार र विचार प्रकाशित हुन थालेको परिप्रेक्षमा पूर्णतः निराश भइहाल्नुपर्दैन। यस मामलामा जसले पहिलो हुन साहस देखाउँछ त्यसले समाजमा सद्भाव र सम्मान त आर्जन गर्छ नै नेपाली पत्रकारितामा पनि नयाँ इतिहास निर्माण गर्नेछ।

Wednesday, 15 June 2011

स्रोत ः नागरिक दैनिक,http://www.nagariknews.com/opinions/98-opinion/27708-2011-06-15-05-48-14.html



You may also like

Powered by Blogger.

.

.

.

.