/
0 Comments

ब्रेकिङ न्युज
–सुशील पन्त

जेठ १४ गते बिहान साढे ११ बजेको समयमा संविधानसभा भवन नयाँ बानेश्वरमा एकाएक सन्सनी मच्चियो, 'प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा' समाचारले। यहाँका उदीयमान टेलिभिजन, रेडियो र अनलाइनले प्रधानमन्त्रीले दुई दिनभित्र राजीनामा गर्ने भन्दै एकाएक ब्रेकिङ न्युज प्रसारण गरे। कैयांै महिनादेखि अड्किएको प्रधानमन्त्रीको राजीनामा प्रधानमन्त्रीकै प्रेस सल्लाहकारबाट आएको सूचना टेलिभिजनका लागि मसला भए।

टेलिभिजनका स्क्रीनमा आएका ब्रेकिङ न्युजका सिग्नल देखेपछि साथीहरूले फोनमा भने, 'प्रधानमन्त्रीले त राजीनामा गर्ने भएछन् नि !' हामीले त्यस्तो थाहा नभएको बताएपछि कैयौं वर्ष पत्रकारिता पेशामा बिताएका साथीहरूले भने, 'सबै टेलिभिजनले बे्रकिङ न्युज हालिसके'। संविधानसभा–भवनपरिसरबाटै रेडियो–टेलिभिजनका साथीहरूले पनि धमाधम लाइभ दिनथाले। '

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको छद्म नाममा प्रेषित प्रेस विज्ञप्तीलाई आधार बनाएर यहाँका मिडिया बहकिए। प्रधानमन्त्रीको राजीनामाजस्तो महिनौंदेखि विवादित विषयमा आएको सूचनाको 'क्रस–चेक' नगरी बेकिङ न्युज प्रसारण गरेर यहाँका सञ्चारमाध्ययमले आफ्नो बचपन दर्शाए। उक्त घटनाले नेपाली पत्रकारिताको धरातल कति कमजोर र सञ्चारमाध्यममाथिको विश्वसनीयता कस्तो छ भन्ने उजागर गर्‍यो। यो घटना मात्र थिएन, प्रवृत्ति हो, पछिल्लो समयमा सञ्चारमाध्ययले प्रतिस्पर्धाका नाममा जनतालाई झुक्याउन प्रतिस्पर्धामा उत्रिएका छन्।

१० जेठ, २०६७ का दिन एभीन्युज टेलिभिजनले प्रसारण गरेको ब्रेकिङ न्युजअनुसार काठमाडौँको त्रिपुरेश्वरस्थित एक फूल पसलमा बेवारिसे झोला भेटियो रे। मानौं त्याहाँ कुनै अनिष्टकारी वस्तु रहेको प्रमाणित भइसकेको छ। पछि थाहा भयो उक्त झोलामा कुनै ग्राहकको सामान छुटेको रहेछ, टेलिभिजनले निर्दोश झोलामा आणविक बम नै छ भन्नेजस्तो गरी आतङ्क मच्चाइरहेका थिए। एभीन्युज टेलिभिजनले नेपाली टेलिभिजन पत्रकारितामा तमाम नयाँ आयाम र शैली विकास गरेको छ। पछिल्ला वर्षहरूमा खुलेका टेलिभिजन एभीन्युजकै फोटोकपीजस्ता छन्। उसले राजधानीबाहिरका समाचारलाइ महत्व दिन जिल्ला समाचार शुरु गर्‍यो, जुन नयाँ टेलिभिजनका अभिन्न विषय बनेका छन्।

माओवादीले आह्वान गरेको आमहड्तालको तेस्रो दिन 'न्युज २४' नामक टेलिभिजनले काठमाडौँको कलङ्कीबाट प्रत्यक्ष विवरण दिइरहेको थियो। टेलिभिजन संवाददाताले कलङ्कीमा 'मानवसागर' उर्लेको बताए, जबकि त्यहाँ मुस्किलले ५ हजार माओवादी कार्यकर्ता भएको अनुमान लगाउन सकिन्थो। किनकि माओवादी आन्दोलन विकेन्द्रित थियो। टेलिभिजनका स्क्रीनहरूमा 'ब्रेकिङ' 'फ्ल्यास' र अलर्ट न्युजहरू आइरहेका हुन्छन्। माओवादी आमहड्तालकै क्रममा वीरगन्जमा भएको झडपपछि स्थानीय प्रसासनले कर्फ्यु लगाएको भनेर टेलिभिजनले ब्रेकिङ न्युज राखे, तर त्यहाँ कर्फ्यु लगाइएको थिएन। कस्तो न्युजलाई बे्रकिङ वा फ्ल्यास भन्ने बारेमा टेलिभिजनमा सम्पादकीय नीतिको आवश्यकता छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड अचानक पार्टी कार्यालय कोटेश्वर पुगे वा प्रधानमन्त्रीसँग गृहमन्त्रीले भेट गरे भन्ने समाचार ब्रेकिङ होइनन्, नियमित गतिविधि हुन्।

नेपालका टेलिभिजन पत्रकारलाई राजनीतिको बागडोर आफैसँग छ भन्नेजस्तो भ्रम देखिन्छ। हुटिट्याँउले आकाश थामेझैँ। तर, उनीहरूले भारतीय सञ्चारमाध्ययको नक्कल गरिरहेका छन्। काठमाडौंको चक्रपथबाहिरसम्म पहुँच नभएका टेलिभिजन भारतीयसँग दाँजिन खोज्छन्। भारतीय टेलिभिजनहरूले क्रिकेट, क्राइम र सिनेमालाई मुख्य विषयवस्तु बनाए पनि यहाँका टेलिभिजन राजनीतिक घटनाक्रमभन्दा बाहिर जानसकेका छैनन्। नेपाली टेलिभिजनको पहुँच करिब ५० प्रतिशत जनताको घरमा पनि पुगेको छैन। सरकारी तथ्याङ्कअनुसार नै अझै पनि ४० प्रतिशत नेपालीको घरमा बिजुलिबत्ती पुगेको छैन। बिजुलीको पहुँच भएका सबैसँग टेलिभिजन छैन र भएकाको घरमा लोडसेडिङ छ। तर, पनि यहाँका टेलिभिजन प्रस्तोतालाई यस्तो भ्रम छ, नेपालीहरू टेलिभिजन नहेरी बस्नै सक्दैनन्।


You may also like

Powered by Blogger.

.

.

.

.