बैदेशिक रोजगार र वियोगका कथा

/
0 Comments

सुरेश ढकाल
आश्विन ८, २०७३- अन्तर्राष्ट्रिय श्रम संगठनको एउटा अध्ययनले भन्छ— मलेसिया नेपाली कामदारका लागि ज्यानमारा धराप अर्थात् ‘डेथ ट्रयाप’ हो । विगत सात वर्षमा त्यहाँबाट १ हजार ५ सय ६२ शवका बाकस नेपाल भित्रिए, ती शव आफू र परिवारको खुसी खोज्न कामदारका रूपमा त्यहाँ पुगेका नेपाली युवाका थिए । पछिल्लो दुई वर्षमा प्रतिहप्ता एक नेपालीको शरीर र सपना बन्द बाकसमा फर्कने गरेको छ मलेसियाबाट । यो दस वर्षको बीचमा वैदेशिक रोजगारीमा जानेको संख्या मात्र बढेको छैन उतै ज्यान गुमाउनेहरूको संख्या पनि उल्लेख्य बढेको छ । यस अवधिमा झन्डै पाँच हजार युवा त्यसरी काठको बाकसमा बन्द भएर फर्केका छन् । 


त्यसैमध्येको एउटा थियो, मलेसियन एयरलाइन्सको फ्लाइट नं एमएच १७० ले बोकेर ल्याएको गोरखाका २१ वर्षीय सुरेन्द्र अधिकारीको शवसहितको काठको बाकस ।  पत्रकार जनकराज सापकोटा तिनै सुरेन्द्रको शव बुझ्न आएका सन्तबहादुर अधिकारीलाई विमानस्थलदेखि नै पछ्याउँदै पुग्छन् काठमाडौंबाट १८० किलोमिटरभन्दा टाढा, अवसादपूर्ण खबर र आफन्तको शव कुरिरहेको गोरखाको एउटा दुर्गम गाउँ । र, तयार पार्छन् एउटा वियोगान्त कथा, वैदेशिक रोजगारीमा पराजितको कहरको कथा, जुन उनले हामीलाई उत्तिकै सचेत र संवेदनशील भाषामा बताएका छन्, ‘कहर : वैदेशिक रोजगारीले बिथोलिएको समाज’ मा ।  

‘सानो सपानाको निम्ति ठूलो मूल्य चुकाउन अभिशप्त’ यस्ता आठ मूल कथा र अरू केही सहायक कथा मार्फत मुलुकको दुर्दशा भनेका छन् सापकोटाले । राज्यको चरम बेवास्ता र असफलताका यी कथा कुनै सिर्जनशील लेखको कल्पना वा मनगढन्ते आख्यान होइन । यथार्थ हो । समकालीन नेपालको वास्तविकता ।  


वैदेशिक रोजगारी वर्तमान नेपालको त्यस्तो कुल सामाजिक यथार्थ (टोटल सोसियल फ्याक्ट) हो जुन यति बेला मुलुकको पारिवारिक, सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक संरचनाको विघटन एवं परिवर्तित प्रक्रियाको व्याख्या विश्लेषणको आधार र निर्धारक बनेको छ । एक अनुमानअनुसार मुलुकका कुल परिवारमध्ये दुईतिहाई घरपरिवारले विप्रेषण (रेमिटेन्स) भित्राएका छन् । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा एकतिहाई योगदान छ विप्रेषणको । कुनै पनि मुलुकको आर्थिक, राजनीतिक, सामाजिक भविष्यका लागि यो शुभसंकेत हुनै सक्दैन । यस्तो अवस्था दीर्घकालीन रूपमा आर्थिक र सामाजिक हिसाबमा प्रत्युत्पादक मात्र हुनेछ र अस्थिरता मात्र निम्त्याउनेछ यसले ।  

अहिले त यस्तो लाग्छ, गाउँघरतिरका प्रत्येक आमा गर्भको शिशु हात–खुट्टा लागेपछि विदेश गएको सपना देख्न थाल्छिन् । मानौं प्रत्येक किशोर विदेश जाने रहर आफूभित्र हुर्काउँदै युवा हुन्छ । सहरका र गाउँकाको गन्तव्य काल्पनिकी फरक होलान्, तर विदेश जाने सपना पक्कै सँगालेकै हुन्छन् । यस्तै एक मन छुने उदाहरण दिएका छन् सापकोटाले । चितवन गीतानगर जहाँ उनी हुर्के र पढे, त्यहींको स्कुलमा १५ वर्षपछि पुग्छन् र कक्षा ४ का केटाकेटीसँग कुरा गर्छन् । आजका ती स्कूले नानीहरूलाई पाइलट बन्ने उद्देश्य राख्नुपरेको छैन, बस् हवाइजहाज चढेर मलेसिया वा कतार र दुबई जानु छ । कक्षाका १८ मध्ये ७ जनाका बा विदेशमा रहेछन् । एक छात्राको त बा र आमा दुवै विदेशमा । यो एउटा प्रतिनिधि उदाहरण हो वैदेशिक रोजगारी कसरी सहज दैनिन्दिनी बनेको छ वर्तमान नेपालमा भन्ने । 

लेखकले यहाँ वैदेशिक रोजगारीका अँध्यारो पाटो मात्र उजागर गरेर वैदेशिक रोजगारी खराब हो भन्न खोजेका होइनन् बरु, उनकै शब्दमा, ‘सरकारी निकाय र नियमनकारी संस्थाहरूले आ–आफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग निर्वाह गरिदिए मात्र पनि कैयन् यस्ता दुर्घटनाहरू न्यून गर्न सकिन्थ्यो’ भन्ने हो । उनले राज्य आफ्ना नागरिकको बाँच्ने उपाय र उनीहरूको सुरक्षाको ‘सहयोगी’ बन्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठाउन खोजेका हुन् । वैदेशिक रोजगारीले निम्त्याउने गडबडीको समाधान सूत्रका लागि उनले यो पुस्तक लेखेका होइनन्, जुन उनले स्पष्ट रूपमा लेखेका छन्, ‘राज्यसँग नभएको उत्तर मैले दिन सक्ने कुरै भएन ।’

उनका प्रश्नका निहितार्थ सरल छन् । कलिलो बैंसमा नै विधवा बन्न बाध्य चेलीहरूको आँसुको सागर यति गहिरो बन्न पुग्नु कसको कमजोरी हो ? गर्भे टुहुरा र जीवनको उत्तराद्र्धमा पुगेका वृद्धवृद्धाको सपनाको लासको पहाड यति भयावह हुनुमा दोषी को हो ? प्रश्नले सम्बन्धितको संवेदनामा असर गर्छ या गर्दैन त्यो परीक्षणको कुरा भयो । 

कृषिको घट्दो साख, कृषिकर्म र ग्रामीण क्षेत्रबाट विस्थापित ठूलो आयतनको युवा श्रम, मृत्युन्मुख औद्योगिक क्षेत्र, उदारीकरण र विश्वव्यापीकरणका कारण परिवर्तित सरंचना, विश्व श्रम बजारमा पहुँच, विदेशी श्रमसँगै चुलिएको युवाहरूको रंगीन सपना, अनेक कारण र आयामहरू छन् वैदेशिक रोजगारीका । यो बाध्यता बनेर आएको छ । यो रहर बनेर आएको छ । यसको विकल्प तत्काल उपलब्ध छैन । र, केही दशकदेखि जुन ढंगका सरकार बेहोरिरहेका छौं, त्यस आधारमा भन्न सकिन्छ– त्यस्तो सम्भावना निकट भविष्यमा पनि छैन । आवश्यकता सुरक्षित र निगरानीयुक्त वैदेशिक रोजगारीको प्रबन्ध मिलाउने हो । वैदेशिक रोजगारीको भरपर्दो विकल्प निर्माणमा तदारुकता देखाउने हो र कालान्तरमा त्यस्तो विकल्प निर्माण गर्ने हो । 

गरिबीको चपेटामा च्यापिएका निर्दोष र निरीहहरूले किड्नी बेचेर होस् कि अनकण्टार र बिरानो मरुभूमिमा रगत र पसिना बेचेर होस् पैसा भित्र्याउन पाए आर्थिक सूचक बलियो भएको विश्लेषण गर्ने अर्थशास्त्रले वैदेशिक रोजगारीका कारण चुकाउन परेको सामाजिक, सांस्कृतिक र दीर्घकालीन आर्थिक मूल्यको कुरा बुझ्दैन वा बुझ्न आनाकानी गर्दछ । एउटा जिल्ला महोत्तरीबाट मात्र वैदेशिक रोजगारीमा गएकामध्ये महिनामा एकभन्दा बढी व्यक्ति मारिन्छन् । ‘यो तथ्यांक आफैंमा सानो हुन्छ कि ठूलो ?’ सापकोटा प्रश्न गर्छन् । उनको ठहर छ, ‘रेमिटेन्सको हिसाबसँग देशको आर्थिक विकासको खाका मिलाउन व्यस्त अर्थशास्त्री र योजनाविद्ले पक्कै सोचेका छैनन् ।’ 

यिनै सवालहरू उठाएका छन् लेखकले ‘कहर’ मार्फत ।  

‘कहर’ गोरखाका तिनै अधिकारीको कथा हो जो आफू र परिवारको खुसीको खोजीमा मलेसिया पुगेका थिए तर शव बनेर फर्के, आफन्तका भागमा केवल आँसु मात्र पारेर । कहर तनहुँकी ती अभिशप्त दलित चेली शोभा परियारको कथा हो जो आफ्ना लोग्नेले आफ्नो नाबालक छोरासहितलाई छोडेपछि, उही छोराको भविष्य सुरक्षित गर्न सकिन्छ कि भनेर बिदेसिएकी थिइन् । तर, आफु र छोरा दुवैको भविष्य सुरक्षित गर्न सकिनन् । कहर चितवनकी ती अभागी सुशीला दिदीको कथा हो जो आफ्नो र परिवारको भाग्य बदल्न सकिन्छ कि भनेर परदेसिएकी थिइन तर अज्ञात बनिन् आफन्तका लागि जीवनभरको पीडा छाडेर । स्याङ्जाका २३ वर्षे स्वप्नद्रष्टा युवा जो विदेश पठाइदिने दलालको चंगुलमा मात्र परेनन् कतार पुगेर पनि त्यस्तै विपत्को चक्रव्यूहमा छिरे, ज्यान मुद्दामा जेल परे अर्को त्यस्तै अभागी नेपाली युवा महोत्तरीका इर्साद अन्सारीको हत्या आरोपमा । तिनै कुशल कार्की र इर्साद अन्सारीको नियतिको क्रूरता र दुर्भाग्यको कथा हो ‘कहर’ । मोरङका अभागी बाबु र लाचार पति गंगाबहादुर श्रेष्ठको अवर्णनीय दु:ख र परिबन्दको कथा पनि हो यो पुस्तक । बाराका भाजुनारायण चौधरीको विपत्को कथा हो यो । महोत्तरीका छोटु यादव र सतिलको दर्दनाक कथा हो यो जसले वैदेशिक रोजगारीका कुरूप परिणतिहरूको व्याख्या गर्छ । 

आफ्ना केही व्यक्तिगत अनुभूति जसले उनको बालमस्तिष्कमा दरो गरी घर गरेको थियो, (जस्तै पुस्तकमा समाहित उनका साहिंला हजुरबाको लाहुर कथा र दु:खद परिणति, सुशीला दिदीको कथा र पारिवारिक वियोग), र पत्रकारका रूपमा उनले पाएका अवसर र चुनौती र सोही क्रममा साक्षात्कार गरेका अनेक घटना र पात्र उनका विषय छनोट र ऊर्जा दुवै हुन् भन्न सकिन्छ । त्यसैले पनि ‘कहर’को घनीभूत वृत्तान्त कहने क्रममा उनको निजी संवेदन पनि प्रचुरता पाइन्छ । त्यसैले कतै–कतै लेखक अलिक बढी नै भावुक देखिन्छन् ।  ‘कहर’ पढिरहँदा सापकोटा पत्रकार र शोधकर्ताको नागरिक जिम्मेवारी र सामाजिक न्यायप्रति बढी सचेत देखिन्छन् । दर्जनौं तर उस्तै प्रसंगहरू एकपछि अर्को पढिरहँदा लाग्छ यी घुमन्ते लेखक यस्ता चुम्बकेका डल्ला हुन् र दु:खी पात्रका वियोगान्त कथाहरू फलामे काँटीझैं यिनीसँग लटपटिँदै टाँसिन आइपुग्छन् । अकल्पनीय र असीम दु:खका यी वियोगान्त कथाहरू अपत्यारिलोझैं लाग्न सक्छन् कतिपयका लागि ।  सापकोटाले एउटै विषयका लागि फरक–फरक स्थानमा (बहुस्थानिक), एउटै व्यक्तिसँग फरक–फरक समयमा अन्तर्वार्ता लिएका छन् जसले कथ्यलाई बृहत् र गहन बनाएको छ । घटनाको तिथि, मिति र स्थान खुलाएका छन् जसले आधिकारिकता र सन्दर्भ दिएको छ । 

 पट्यारलाग्दो वैदेशिक रोजगारीका कथा मात्र छैनन् यसमा, प्रशस्त मात्रामा मान्छेका विविध रंग र समाजका किरिङमिरिङ चित्रहरू पनि देख्न सकिन्छ । यो अनेक कथाका फुटकर कथाहरूको कोलाजजस्तो बनेको छ । तर यसले कथाको प्रवाहमा भने अवरोध पुराउँदैनन् । यत्ति हो कथाहरू दु:खका छन् । पाठकलाई भावुक बनाउन पर्याप्त छन् । कतिपय कथाले रुवाउन पनि सक्छन् । विषयको प्रकृतिका कारण हुन सक्छ एकाध ठाउँमा अधिक भावुक देखा पर्छन् लेखक । त्यसले कतै–कतै गैरआख्यान लेखनको अनुशासन उल्लंघन गर्न खोज्छ । एकाध ठाउँमा, ठीक विपरीत, संवेदनशीलतामा आवश्यक गम्भीरता नअपनाएका हुन् कि भन्ने भान पर्छ । 

 कतिपय सन्दर्भमा मिति र सूचनालाई फुटनोटभन्दा पनि मूलपाठमै उल्लेख गरेर अझ सान्दर्भिक बनाउन सकिन्थ्यो । तर अन्य सूचनाका लागि प्रयुक्त फुटनोट सान्दर्भिक छन् र पाठको मूल्यवत्तालाई बढोत्तरी नै गरेका छन् ।  सरकारको उपस्थिति र जवाफदेहिता ‘हेलो सरकार’ मार्फत ट्वीटरमा देखिन्छ । तर ती पारिवारिक वियोगमा दिनरात छटपटिरहेकाहरूको पीडा समन गर्ने काममा भने न सरकार उपस्थित हुन्छ न जवाफदेही बन्छ । यसलाई पुस्तकका कथाहरूले अझै उजागर गरेको छ, प्रमाणित गरेको छ । वैदेशिक रोजगारीको कारण राज्यले चुकाउनुपरेको सामाजिक मूल्य सरकारको थोक असफलताको परिणाम त हो नै सम्बन्धित क्षेत्रमा काम गर्ने अर्धसरकारी, गैरसरकारी क्षेत्रको भागमा पनि असफलताको केही हिस्सा पर्छ ।  

यस्ता थुप्रै कहरहरू खुला रूपमा बाहिर आउनुपर्छ । थुप्रै कहरहरू लेखिनुपर्छ । प्रमुख कुरो यसले प्रकाश पारेका र प्रश्न उठाएका वैदेशिक रोजगारीका ती अनेक समस्या र चुकाउनुपरेको सामाजिक मूल्यको समाधानका लागि सरकारी उदासीनता हट्नुपर्छ । वैदेशिक रोजगारीका कारण भएका क्षति कम गर्ने साथै वैदेशिक रोजगारीलाई न्यून गर्दै जाने उपाय खोज्ने राष्ट्रिय रणनीतिको तर्जुमा आवश्यक छ । सरकारमा बस्नेले विदेशमा काम गर्ने युवाहरूको कष्टकर जीवनको महसुस गर्न नसक्लान्, उनीहरूको पसिनाको सुगन्घ अनुभव गर्न नसक्लान् तर आफ्नो सान–सौकतको जीवनमा तिनैको रगत–पसिनाको भरथेग छ भन्नेचाहिँ बुझिदिऊन् । कम्तीमा पनि के कुरा बुझिदिऊन् भने विदेशमा काम गर्ने युवाहरूको सम्मान र सुरक्षा जति बढाउन सक्यो त्यति मात्रामा सरकारी सान–सौकतमा बाँच्नेहरूको सम्मान र सुरक्षा पनि बढ्नेछ । सरकार चलाउने, राजनीति गर्नेहरू र सम्बन्धित सरकारी निकायको गैरजिम्मेवारीका कारण प्रतिहजारमा दुई युवा प्रतिवर्ष काठका बाकसमा बन्द भएर स्वदेश फर्कन्छन् । बिदेसिएका लाखौंको जिन्दगी धरापमा फसेका छन् । अब भन्नुस्, त्यो अपराधको दोषी को ? सापकोटालाई धन्यवाद, प्रश्नहरू अघि सारिदिएकोमा ।  


प्रकाशित: आश्विन ८, २०७३ 





You may also like

Powered by Blogger.

.

.

.

.