पेट्रोलको लाईनमा उम्लिएको आक्रोश

/
0 Comments

पेट्रोलको लाईनमा उम्लिएको आक्रोश

ईन्धनको हाहाकार काठमाडौंले धेरैपटक भोगीसकेको छ । तर यसपाला भने यसको आयु वढी नै तन्कियो । केही महिना अघी पनि यस्तै हाहाकार थियो । तर यतिसारो हैरानी भने कसैले भोग्नुपरेको थिएन । त्यतिवेला एकाध भन्टा पेट्रोल पम्पमा लाईन लागेको अनुभव मैले पनि संगालेको थिए । त्यो अनुभवका अघी अहिलेको दुःख फिक्का लाग्छ । सारै फिक्का । त्यतिवेलाको ईन्धन संकट कस्तो थियो भनेर मैले अनुभूती लेखेको थिए । सान्र्दभिक हुने ठानेर पोस्ट गरेको छु ।


“यो नेपाली शिर उचाली संसारमा पेट्रोलको लाईनमा उभिन्छ ।” मेरो आडैमा लाईनमा बसेको एउटा अधवैशेले भन्यो, “अब यसैगरी सबै गीतको रिमिक्स गर्नुपर्छ, बुभ्नुभो ।” मैले स्विकृतीको भावमा सुस्तरी मुन्टो हल्लाए । झण्डै एकघण्टादेखी लाईनमा बस्दा बस्दै मैले वरपरमा दुईचारसंग मेरो संवाद सुरु भईसकेको थियो । सबैको अनुहारबाट कान्ति गायव थियो । म भने पेट्रोलको लाईनमा धैर्यतापूर्वक उपस्थित सबैको अनुहार पढदै मान्छेको अनुहारमा उहापोह कसरी छचल्किन्छ भनेर जान्न खोजीरहेको थिए ।

हेल्मेटले अनुहार टाउको र अनुहार छोपेर पंक्तिवद्ध भएका सबैको आ आफ्नै स्तर अनुसारको गुनासो थियो । सबै आफ्नो पद, हैसियत र प्रतिष्ठा विर्सेर एउटै लाईनमा थिए । एउटा अधवैशेले आक्रोश मिसिएको चर्को स्वरमा यस्तै ताल हो भने शुसिलको सरकार चाढै ढल्ने अनुमान गर्यो । अर्कोले त्यसमा सही थप्यो । तेस्रोले हो मा हो मिलायो । लौ, सरकार त भक्लुक्कै ढलिहाल्छ कि जस्तो वातावरण तुरुन्तै बन्यो ।

ठम ठम्ती हिडीरहेका पैदल यात्रुहरु तेल भर्न लाईनमा लागेकाहरुलाइ पुलुक्क सस्तो नजर फ्याक्थे । मलाई भने त्यस्तो हेराई नमज्जाको लागिरहेको थियो । तिनीहरुको हेराईमा जिज्ञासा भन्दा धेरै सान्त्वनाको भाव थियो । हेल्मेटले गुम्सिएर, तेल नपाएको झोंकले हो कि धेरैको दिमाख वढी नै तात्तीएको थियो । किनकी सबै चर्का चर्का कुरा गरिरहेका थिए । तिनीहरु विस्तारै भन्न सकिने कुरापनि चर्कोगरी भनिरहेका थिए । एउटाले भन्यो, “हाम्रो पुस्तै अभागी रहेछ यार ।” अर्कोले भन्यो, “सबका सब चोर छन अनि कसरी हुन्छ ।” तिनीहरुको विश्लेषण अजिवोगरिब थियो । एकैछिन सबैजना विश्लेषक बने । आफु सरकारमा भएको भए सब ठिक गरिदिन्थे भन्ने पनि त्यही लाईनमा भेटिए ।

सिंगो दिन पेट्रोलको लाईनमा उभिएर पनि आफुले पेट्रोल नपाएकोमा वृत्तान्त एउटाले सुनायो । चार घण्टा टन्टालापुरे घाम सहेर भद्रकालीको लाईनमा उभिए । पम्पनेर पुग्नै लाग्या बेला होहल्ला मच्चियो । सबैले एकैचोटी हर्न बजाए । पुलिस आयो । डन्ठा बजायो । पेट्रोल दिन बन्द गर्यो । म हिस्स वुढी हरियो दांत भए । सास नफेरेजसरी यति कुरा सुनाएपछि त्यो केटोले लामो सुस्केरा हाल्दै भन्यो, “भगवान यहां चाही त्यस्तो नहोस ।”



लाईनमा उभिने धेरैका कथा उस्तै थिए । तिनीहरुको आक्रोशको रंग पनि उस्तै थियो । तेल खोज्दाखोज्दै भएको तेल पनि सकिएको कथा एउटाले सुनायो । अर्कोले बाईक पुतलीसडकमै छोडेर हिडेको बताउदै हातको ग्यालिन उचाल्यो । अर्को अधवैंशेले मिनिरल वाटरको पानी आधा खायो र आधा फ्याकेर भन्यो, “आफ्नो बाईकमा मात्रै तेल हालेर नहुने । वुढीको स्कुटी दुई दिनदेखी थन्क्या छ । उसलाई तेल नलगे भरे जात्रा हुन्छ ।”
कुराको मेलो सरीरहेको थियो । तर पेट्रोलको लाईन सरिरहेको थिएन । पम्पको मुखेनेरै एउटा ट्याक्सी गुडदै गुडेन । पछाडीबाट दुईचारजनाले बल लगाएर ठेले । त्यतिन्जेलसम्म लाईनमा बसेकाहरुलाई हतार भईसकेको थियो । सबैजना एकमत भएजसरी हर्न बजाए । पैदलयात्रीहरु कान थुन्दै हिडे । एउटा अनौठो ध्वनी प्रतिध्वनीत भयो । त्यति गर्दा पनि लाईन सरेन । एउटा पल्सरवाला चर्को संग अपशब्दहरु मिसाएर करायो । अर्कोले त्यसैमा भाका मिलायो । आक्रोशको स्वर धेरैले सुनेनन । किनकी सबैको कान हेल्मेटले थुनिएको थियो । सायद सरकारको कान पनि यसैगरी थुनिएको छ कि ? के थाह । नथुनिएको भए यस्तो हुदैनथ्यो ।
हल्लाखल्ला चलीरहेको थियो । कोही मोबाईलमा गफिदै सगर्व आफु पेट्रोलको लाईनमा उभिएको बताईरहेका थिए । कोही पर्सबाट पैसा निकालेर कतिवेला लाईन खुल्ला र तेल हालौला भनेर मुखमा पैसा च्यापिरहेका थिए । कतिको मुखमा च्यापिएको पैसा र्यालले भिजिरहेको थियो । म मौन सब हेरीरहेको थिए ।

चर्को हल्ला फेरी एकैपल्ट फैलियो । हल्लाखल्ला मच्चियो । लौ खत्तम ! सबैको मुखबाट एकैस्वरले निस्कियो । पेट्रोल सकिएछ । घन्टौं लाईनमा उभिएर पनि पेट्रोल नदिएकोमा केहीले पेट्रोल संचालकलाई आमाचकारी गाली गरे । कोही आफैसंग भुतभुताए । केहीले भने लाईनबाट आफ्नो बाईकलाई अगाडी ठेल्न सुरु गरे । कोही भन्दै थिए, “अब यही पेट्रोलपम्पमा बाईक थन्काएर घर लाग्नुपर्यो ।” टेंकीमा दुईचारथोपा तेल भएकाहरु भने नजिकैको अर्को पेट्रोलपम्पमा तेल वाढेको छ रे भन्दै हतार हतार कुदे । एकैछिनमा पेट्रोलपम्पमा शुन्यता भरियो । पम्पको छातीमा यहां पेट्रोल छैन लेखिएको सानो सुचना झुण्डाईयो । म भने समयको क्रुर जांतोमा झुण्डिएको मान्छे झै बाईक डोर्याएर अफिसतिर लागे ।



You may also like

Powered by Blogger.

.

.

.

.