चाईनिज दुबोको वयान

/
0 Comments

जनकराज सापकोटा 

यो नेपाली शिर उचाली संसारमा चम्किन्छ ... गीत गुनगुनाउदै हिडेको मैले खुबै सुनेको थिए, नर्सरीमा छंदा । नर्सरीबाट मलाई रातारात उठाएर सडकको विचमा ल्याएर राखिदिए । अहिले थाह पाउदै छु, त्यो गीत कती झुटो रहेछ भनेर । शिर उचालेर हिडने नेपालीहरु त खुट्टा बजारेर पो हिडदा रहेछन । मेरो छातीमाथी दिनहु मान्छेका पाईतालाहरु बज्रिन्छन । अहो पाईतालका बजन कति फरक फरक । तिनको गती कति भिन्नाभिन्नै । चप्पलको आकार, जुत्ताको साईज र तलुवाको बनावट अनुसार म माथी पर्ने भार फरक फरक हुंदो रहेछ ।

काठमाडौंको सडक । फोटो साभार : कान्तिपुर 
नर्सरीमा मालीहरु त म माथी हिडदा सुस्तरी हिडथे । तिनको पाईतालाको भार हलुंगो लाग्थ्यो । तर सडकमा हिडनेहरुको भार चर्को हुंदो रहेछ । तिनीहरु कति धेरै हतारमा हुंदा रहेछन, चप्पल र जुत्ता पनि गर्याम गर्याम बर्जान्छन । अहो, मान्छेहरु मेरो शिरमाथी गिर खेल्न कति धेरै उत्सुक भएका । मान्छेहरुलाई कति धेरै व्यग्रता । यस्तो हतारो पोतीएको यो शहर किन जहाको तही होला । खैर यो मेरो चिन्न्ताको विषय होईन । चिन्ता गरेर पनि मैले यसको उत्तर पाउने हैन । मेरो दुःख गाडीको चर्को आवाज, धुवा र धुलोको बादल र मान्छेहरुको कोलाहलमै विलाउदो रहेछ । अदना ट्राफिक चर्को स्वरमा सिटी फुकेको आवाज पनि सडकको छेउसम्म आईपुग्दा घुर्मेलो बन्दो रहेछ ।

मचक्क मचक्क मलाई कुल्चेर हिडदा मान्छेहरु कती खुशी हुंदा रहेछन । अरुलाई दुःख दिनु शहरका मान्छेको नियती रहेछ कि क्या हो ? हैन, यही शहरले देश हाक्छ भन्ने सुनेको थिए, नर्सरीमा हुर्कीदा । यो शहरले सभ्यताको ईतिहास बोकेको छ भन्ने पनि घुर्मैलो सुनेको थिए । सडकको विचमा आएपछि थाह पाए, कति झुटा रहेछन ति कुराहरु । आफैले भोगेपछि सबै कुरा थाह हुंदो रहेछ ।

टाई लगाएका, कोट लगाएका, गतिलो जुत्ता लगाएका र अत्तर छर्केकाहरु नै मलाई कुल्चन वढी उद्दत भईरहेका छन् । ठुला वडा, वुद्धिजिवी र शहरका आधुनिक भनिएकाहरु नै पो मेरो टाउकोमा पाईताला बजारीरहेका छन । वेला वखत यो भ्रम हो कि सत्य हो भनेर आफैलाई चिमोटी हेर्छु, तर होईन, यो सत्न नै हो । आफ्नै टाउकोमाथी गिर खेलेको नांगा आखाले नै देखेपछि कसरी अविश्वास गर्नु । भारी बोक्नेहरु, झुत्रा झाम्रेहरु बरु ट्राफिकको सिटीको आवाजबाट तर्सिदा रैछन । तिनीहरु बरु सडकका कहा जेव्रा क्रसिङ छ भनेर खोज्दै हिडदा रैछन । तर पढेलेखेका, सफा र सुग्घरीहरु कानुन देखी पनि नडराउदा रैछन । हैन, तिनीहरु किताब पढेर आत्मविश्वासी हुन्छन र कसैलाई टेर्नु हुदैन भनेर सिक्छन कि क्या हो ह ?

सुरुका दुई चार दिन त खुबै गिर खेले म माथी । पछि पुलीसले नै भकाभक समात्न थालेपछि मान्छेहरु अलिक चनाखो हुन थाले । अब त सुध्रेलान नि भनेको के सुध्रिन्थे । पुलीसको आंखा झिमिक्क हुन पाउदैन, म माथी मान्छेका पाईताला बु्रकुसी मारिहाल्छ । हैन, नियम मिचेर शहरका मान्छे पुरस्कार पाउछन कि क्या हो हं । कि नियम मिचेको आत्मसंस्मरण लेखेर यिनीहरु पैसा कमाउने, रवाफ फैलाउने सुरुमा हुन्छन । हैन भने, दुई पाईला परको जेव्रा क्रसिङबाट बाटो काटन यिनीहरुलाई कत्रो महाभारत ।

मेरो छेवैमा रहेका धुपी दाई पनि निराश देखिन्छन । प्रत्येक दिन यिनको पात चुडेर यिनलाई हैरान बनाएको छन । मलाई हिजो भन्दै थिए, अब धेरै बाचिदैन होला । सडकको विचमा शहरका आधुनिक गुरिल्लाहरुले मलाई शहिद बनाउने भए । धुपीको गुनासो नाजायज थिएन । उनी भन्दै थिए, यो सार्क बेकार आएछ । नत्र यो सडकको विचमा भारीभरकम कर्कश सुनेर उभिनुपर्ने थिएन । मान्छेको निर्लज्ज व्यवहारको साक्षी बन्नुपर्ने थिएन ।

यत्रो कथा कहे । मैले मेरै नाम पो भन्न भुलेछु । म को हो त थाह पाउनुभयो होला नि । तपाईहरु त अक्षर चिन्ने बुद्धिजिवी जो पर्नुभयो । मेरो मुल थलो चिन हो । मेरो कुन पुस्ता नेपाल कहिले र कसरी आयो मलाई थाह छैन । मलाई चाईनिज दुबो भन्छन । विदेशका पाहुनालाई देखाउन सरकारले मलाई सडकको विचमा ल्याएर रोपेको थियो । अब म छिट्टै मर्छु पनि होला । मेरो मृत्युमा आसुं नबगाउनु । शहरमा आंसुको कुनै गन्ध खुट्याउन सकिदैन । खुट्याउने फुर्सद पनि छैन मान्छेलाई । किनकी यहां आंसु भन्दा धेरै खोला र नाला गन्हाउछ यहां ।



You may also like

Powered by Blogger.

.

.

.

.