भात विचार

/
0 Comments

साथीको आमन्त्रणमा अघिल्लो साता बानेश्वरको थकाली भान्साघरमा गज्जपको खाना स्वाद मानेर खाईयो । तर कतारको ५० डिग्री गर्मीमा पसिना चुहाएर भर्खरै फर्केका मेरा मित्रले आधा भात थालमै छोडे र न्याप्किनले मुख पुछे । त्यो देखेर जिव्रोमा झुण्डिएको  स्वाद हरायो । किनकी मैले देखेको छु, मेरा बा ले कति महिनासम्म पसिना चुहाएर, खुट्टा कुहिन्जेल खेतमा दौडधुप गरेर धान उब्जाउनुहुन्छ । मेरी आमाले दाई गरेपछि कसरी एक एक धानका गेडा टिप्थिन । धान फलाउनु र त्यसलाई भकारीसम्म पुर्याउनुअघी हुने दुःखका अनन्त श्रृखलाहरुलाई मैले नजिकबाट देखेको छु । 


थालमा भात छोडेपछि मेरा साथीको अनुहारमा एउटा अनौठो गर्वको रंग पोतिएको थियो । तर म भने ०६४ वैशाखको पहिलो साता रेडियो कार्यक्रम निर्माणका लागी रुकुमको सिमरुत यात्राको सम्झनामा हराए । त्यही भेटेको थिए मैले सदरमुकाम खलंगाबाट तीन दिनको दुरीमा पर्ने गोतामकोटबाट चामल लिन झरेका रुकुमेलीहरुको विर्दिण अनुहार । चामल लिनका लागी तिनीहरुले छिचोलेको दुःखका पहाड र त्यस्तो यात्राले उनीहरुको अनुहारमा पोतीदिएको दुःखका हजार रंग । गोतमकाटेबाट झरेका एक हुंल गाउलेहरुको हुलमा थिए, अधिकांश केटाकेटी थिए । लामो कुराकानी गरेपछि मैले भेउ पाएको थिए, १० किलो चामल लिन तन्नेरीलाई पठाउंदा ५ किलो चामल यात्रामै सकिन्थ्यो । तर केटाकेटीलाई पठाउन सके दुई किलो मात्रै चामल खर्च हुन्थ्यो र सात किलो घर पुग्थ्यो । 


५ छोराछोरीका बाउ गोवीलाल सार्की, भर्खर जुंगाका रेखी बसेका लंगबहादुर र मानवहादुर विकसंग लामो कुराकानी गरेपछि म एउटा निष्कर्षमा पुगेको थिए । थालमा भात पुर्याउनका लागी उनीहरुले जिन्दगीभर कसरी संघर्ष गर्नुपर्छ भन्ने । घण्टौको रस्साकस्सीपछि दस किलो चामल हात पारेपछि लंगबहादुरको अनुहारमा अपूर्व खुशी पोतीएको थियो । तिनी चामलको थैलो बोकेर मेरो छेवै आएका थिए तर वोल्न सकिरहेका थिएनन । किनकी तिन ओठ खुशीले यसरी फैलीएको थियो कि, उनको गाला च्यातिएको जस्तो देखीएको थियो । धेरैबेरपछि उनले ओठबाट थुकको छिटा निकाल्दै भने, आखिर पाइगए सर । 

दुई सय दलित बस्तीको गोतामकोटसंग भोकमरीको लामो ईतिहास छ । विश्व स्वास्थ्य संगठनले शिक्षाका लागी खाद्यान्न कार्यक्रम अन्र्तगत वितरण गरेको चामल लिन त्यहांसम्म आइपुगेका नरसिंह सार्कीले मलाई भनेका थिए, गरिबकै सन्तान धेरै हुंदा रैछन । सन्तान कसरी धेरै भए भन्ने मलाई त थाह थियो, तर नरसिंहका निम्ती त्यो सबै भगवानको देन थियो । मैले त्यतिबेला मनमनै सोचेको थिए, भगवान छन भने किन तिनले गोतामकोट देख्दैनन । तिनीहरुको थालभरी भात खाने चाहना किन सुन्दैनन । 

त्यो यात्राबाट काठमाडौं फर्केपछि मैले साच्चीकै भातको महत्व बुझेको थिए । त्यसभन्दा अघी त म पनि उस्तै थिए । सानो हुंदा घरमा घुर्की लगाएर धेरैपटक मैले थाको भात छोडेको छु । भान्छाकोठामा मिल्काएको छु । त्यसरी भात मिल्काएपछि मलाई ठूलै गर्व गरेको महशुस हुन्थ्यो । तर अहिले बल्ल थाह पाएको छुं, भातको थाल मिल्काएर, आधा खाना छाडेर मैले ठूलै पाप गरेको रहेछु । किनकी अन्नको आत्मा दुखाएको रैछु । 
काठमाडौंका होटलहरुमा भात खाने निम्ता बेलाबखत पाईन्छ । कहिलेकाही लौ त भर्सेला परोस भनेर आफैले पनि खाईन्छ । तर थालमा भात मिल्काएको, र त्यही भात भोलीपल्ट सबेरै सडक वालबालिका टिपेर खाएको वा त्यही भात प्लास्टिकका वट्टामा हालेर सुगुरलाई आहार बनाउन लैजादै गरेको मैले धेरै देखेको छु । भात नफालेर के हुन्छ भन्ने विषयमा मलाई धेरै लामो दर्शन थाह छैन । तर हामीले भात नफाल्ने हो भने, कति धेरै धात खान नपाउनेहरुको मुखमा त्यो पुग्थ्यो होला । गोतमकोटका मान्छेले त्यसरी चामलका लागी दुःखको पहाड बोक्नु पर्दैनथ्यो की ? 
  
 



You may also like

Powered by Blogger.

.

.

.

.