स्कूलमा जे भोगे

/
0 Comments

मेरो आंखै अगाडी मेरी हजुरआमाले प्लास्टिकको सेतो बोरालाई धरधरी हसियाले काटिन । थर थरी हात कमाउदै सिरक तक्ने ठूलो सियोमा धागो छिराईन । मैले हेर्दाहेर्दै हजुरआमाले बोराको झोला बनाईदिईन र भनिन, भोलीदेखी किताब यसैमा राखेस । अब ठूलो भईस । स्कूल जानुपर्छ त । म झोला लतार्दै हिडे, हजुरआमाले मलाई हातमा समातेर लतारिन । स्कूल पुगेपछि म चर्कैसंग रोय । जब हजुरआमा मलाई कक्षामा छोडेर घर र्फकन आटिन । म त्यतिखेर चर्कैसंग रोएको थिए क्यारे, कक्षाका अरु केटाकेटी पनि पालैसंग रोय । फिल्ममा डाईरेक्टरले पात्रलाई रुन सिकाएजस्तो पो भयो । मिसले चकलेट खान दिईन । म गुलीयोमा भुले । हजुरआमा मलाई छेल पारेर फुत्त घरतिर कुदिन । म विधार्थी भए । 

मेरो स्कूलको नाम राप्रवि ईन्द्रपुरी हो भनेर लेख्न मात्रै झण्डै एक वर्ष नै लगाए क्यारे । तर चकचकी र बदामसी काम गर्न भने मैले हप्ता दिन पनि लगाईन । सुरु सुरुमा कहिले आमाले, कहिले बाले, कहिले हजुरआमाले मलाई स्कूल पुर्याए । पछि म आफै जान सक्ने भए, अक्षर चिन्न सक्ने भए, लेखेर केही कुरा देखाउन सक्ने भए । म ठूलो भए । आमाले सुकका रोटी पकाईदिन्थिन, म त्यसलाई किताबको पत्रमा राख्ने । हाफछुट्टीमा अरुले माग्लान भनेर लुकी लुकी खान्थे । त्यसको स्वाद गज्जपको हुन्थयो । सायद भोकले स्वाद झनै वढाउथ्यो । 

मेरो घरनजिक चोक बजार थियो । त्यहा एउटा चिया पसल थियो । एउटा पुरानो घरमा किराना पसल थियो र त्यसको अघिल्लितर एउटा धानकुटने मिल थियो । ति ठूला साहुजी थिए । साना किराना पसलेकहांबाट मेरा बा सुर्ती किन्थे, नुन किन्थे, मसला किन्थे, पुरानो एटलास साईकलमा हावा भर्थे । पछि पछि मैले कैचीबाट साईकल चलाउन जान्ने भएपछि साईकलको कहिले तिल्ली भाचिन्थ्यो, कहीले सिटको खोल च्यातिन्थ्यो, कहिले चेन चुडिन्थ्यो । पछि पछि मेरा बाले ति पनि फेर्न थाल्नुभयो । विग्रेको साईकल डोराएर बा अघी अघी हिडथे । म पछि पछि हिडथे ।  किराना पसलको पालीमा रहेको मिस्त्रीले साईकल बनाईदिन्थ्यो । त्यो बनाउन्जेल म बाले किन्दिएका चकलेट खाएर मख्ख परिबस्थे । ति नेवार साहुजी मेरा बा जस्तै थिए । तिनको पनि जुंगा थियो, बा को जस्तै । तिनले सधै भन्थे, फस्ट भईस भने म तलाई याक चुरोटको खोल दिन्छु । अनि किताबमा गज्जपले गाता हाल्लास । चुरोटको खोलको गाता गज्जपको हुन्थ्यो । त्यसको पछाडीपट्टी भागमा प्लास्टिकको लेमिनेसन गरिएको हुन्थ्यो र बाक्लो पनि अचम्मकै । अरु साथीहरु पातलो पत्रिकाको गाता हाल्थे । कोही कोही, असारमा ओडने थोत्रो प्लास्टिकको गाता हाल्थे । तर चुरोटको खोलको गाता हाल्नु त सानको विषय थियो । कागजमै प्लास्टिक टासिएको गाता हाल्न पाउनु मेरो निम्ती भाग्यकै विषय थियो । म साच्चिकै फस्ट भए । ति साहुजीले चुरोटको खोल दिए । मैले गाता पाए । त्यो केहीदिन अलिक गनाउथ्यो । तर त्यसको गन्ध हराएपछि त त्यो खास्साको हुन्थ्यो । स्कूलले दिने मार्कसिट भन्दा चुरोटको खोलकै गाता बलियो हुन्थ्यो । 

म ढाकाटोपी वाला थिए । घरनेरकै दमाईदाईले त्यो सिलाईदिएका हुन । मेरो टोपी टाउकोभन्दा ठूलो थियो । तर त्यो मेरो बा को जस्तो राम्रो  थिएन । बेला बेला म चोरेर मेरो बा को टोपी लाउथे । तर त्यो मेरो टोपी लाउंदा मेरो आंखा नै छोपिन्थ्यो । त्यही भएर बा को टोपी मलाई मन पर्दैनथ्यो । स्कूलमा म सबैका निम्ती टोपीवाला थिए । ठूला कक्षाका केटाहरु मेरो टोपी खोसेर हावामा मिल्काउथे । अग्ला केटाहरुले त्यो च्याप्प समाउथे र त्यसलाई फेरी आकाशमा फाल्थे । म एकछिन त टोपी खोस्न त्यो भिडमा माथापच्चिसी गर्थे । तर एकैछिनमा म थाक्थे । मेरो अनुहार रातो हुन्थ्यो । म कहिलेकाही रुन्थे । मेरो रुवाई चर्को बन्दै गएपछि तिनीहरुले झुत्ती खेलेको टोपी फिर्ता गर्थे । म टोपीलाई कानै ढाक्ने गरेर लगाउथे र  झोला लतार्दै घर फिर्थे । 

तीन कक्षामा पुगेपछि मेरा बाले मलाई कोट ल्याईदिनुभयो । म स्कूलमा टोपीवालाबाट कोटवाला भए । मेरो कोटको दुवै गोजीमा बदमास केटाहरुले कहिले ढुंगा हालिदिन्थे, कहिले घास । म त्यसलाई निकालेर फाल्थे । कहीलेकाही तिनीहरु मेरो कोटमै झुण्डिन्थे । म तिनीहरुबाट छुटि्टएर भाग्न खोज्थे । तिनीहरु मलाई लखेटथे । म सकुन्जेल दौडन्थे र नसकेपछि घोप्टी परेर रुन्थे । तिनीहरु मेरो कोटको झुत्ती खेल्थे । म झनै चर्कोसंग रुन्थे र बलल कोट फिर्ता पाउथे ।  

५ कक्षामा मेरो व्रतबन्ध भयो । टाउको मुडुलो भयो । मामाले मलाई क्याप टोपी उपहार दिनुभयो । मैले मनमनै सोचे, यस्तो गज्जपको उपहार पाउने थाह पाएको भए म दुई/तीन कक्षा पढदा नै व्रतबन्ध गर्थे । टोपी ढल्काएर म स्कूल गए । म क्यापवाला भए । केही केटाहरुले मेरो टोपी टाउकोबाट खोसेर आकाशतिर मिल्काउथे, केही केटाहरुले मुडुलो टाउकोमा थुक लगाएर पडकाउथे । कसैले भने, टुप्पी तान्थे र भन्थे टुप्पीवाला बाहुन । टोपी खोस्न लाग्ने, मेरो जनै सर्टको बाहुलाबाट खस्थ्यो । केटाहरु फेरी जनै तान्थे । म निरुपाए परेर घोप्टी परेर रुन्थे । तिनीहरुले टोपी फिर्ता गर्थे, म रातो अनुहार पारेर घरतिर भाग्थे । मेरो टोपीमा अंग्रेजी अक्षरमा एसटिपि लेखीएको थियो । केटाहरुले छोटकरी अंग्रेजी अक्षरको पुरा अर्थ लगाए । "सेठ्ठी टुप्पी पड्का" । तिनीहरु लोरी मिलाएर गाउथे । ठूलो भएपछि मात्रै मैले थाह पाए, एसटिपिको अर्थ "स्टप" रहेछ । मैले भोलीपल्टदेखी टाउकोमा रुमाल बाधेर मात्रै टोपी लगाउन थाले । त्यसपछि केटाहरुले टोपी त फुकाल्न सक्थे तर टुप्पी तान्न भने सक्दैनथे ।  मनमनै तिनीहरुलाई खुच्चिङ भने । 

क्रमशः 




You may also like

Powered by Blogger.

.

.

.

.