/
0 Comments
देव शमशेरको जुँगा उखेल्दै गोरखापत्र

— चेतनाथ आचार्य

आज गोरखापत्रको १०९ औं जन्मोत्सव। वि.सं. १९५८ वैशाख २४ गते सोमबार तत्कालीन प्रधानमन्त्री देव शमशेरले हाम्रा बारेमा नलेख्नू भन्ने हुकुमसहित गोर्षापत्र प्रकाशन गर्न सनद जारी गरेका थिए।
दक्षिण एशियाबाट एक सय वर्षसम्म नियमित प्रकाशन हुने पाँचवटा पत्रिकाहरूमा एक हो, गोरखापत्र। एक सय वर्षभन्दा लामो समयसम्म घिसि्रँदै भए पनि गोरखापत्रले थुप्रै पत्रकारहरू उत्पादन गरेको छ। वर्तमानमा वरिष्ठ स्थानमा पुगेका सबै नेपाली पत्रकारहरूले पत्रकारिता पेशाको वैतरणी पार गर्न कुनै न कुनै समयमा गोरखापत्रको पुच्छर समाएकै छन्। यसबाहेक गोरखापत्रले नेपाली भाषा र साहित्यको जगेर्ना र श्रीवृद्धिमा प्रशंसनीय योगदान गरेको छ।
शुरुमा साप्ताहिक, पछि हप्ताको दुईपटक अनि तीनपटक हुँदै २०१७ सालदेखि गोरखापत्रले दैनिक पत्रिका हुने मौका पायो। दुर्भाग्य नै भन्नुपर्छ, गोरखापत्रले न त नेपालको पहिलो पत्रिका हुने मौका पायो न त पहिलो दैनिक नै। नेपालबाट प्रकाशित पहिलो पत्रिकाको श्रेय …सुधासागर लाई जान्छ भने पहिलो दैनिक वनेको छ …आवाज। तर, यी दुबै पत्रिका नियमित प्रकाशन नभएकै कारण गोरखापत्र तीनवटामा तेस्रो भएको हो।
पञ्चायतकालभरि एकमात्र दैनिक पत्रिकाका रूपमा एकछत्र राज्य गरेको गोरखापत्रको पतन पनि त्यही कालमा शुरु भयो। २००७ सालपछि प्रजातन्त्रको प्रादुर्भाव भएपछि गोरखापत्रमाथि ठूला–ठूला चुनौतीहरू तेर्सिएका थिए। कवि सिद्धिचरण श्रेष्ठको सम्पादकत्वमा दैनिक पत्रिका प्रकाशन शुरु भइसकेको थियो भने अन्य पत्रिकाले गोरखापत्रलाई हाराबारा खेलाएका कारण गोरखापत्र खरो उत्रिएको थियो। तर, २०१७ मा पञ्चायती शासनको शुरुवातसँगै सबै पत्रिकामाथि सरकारले दमन गर्दै गोरखापत्रलाई मात्र पोस्ने काम गर्‍यो।

सरकारको भजनमण्डलीमै सीमित गोरखापत्रले आफ्नो जन्मकुण्डलीमा लेखेको भावीको निर्देशनलाई उल्टो रूपमा प्रयोग गरिरह्यो। देव शमशेरले …हाम्रा बारेमा नलेख्नू भनेर सरकारको प्रशंसा नगर्न निर्देशन दिएका थिए। तर, त्यसको तीन महिनापछि नै पदच्युत भएका देवशमशेरको जुँगा उखेल्नमै गोरखापत्र तल्लीन भयो।

सरकारले काखमा राखेर ललीपप खुवाएकै कारण ३० वर्षसम्म गोरखापत्रले पत्रकारिताका नाममा सरकारद्वारा प्रायोजित सूचना सम्प्रेषण गर्ने काम गर्‍यो। सबै गाउँ पञ्चायतलाई केन्द्रबाट सदस्य बनाउने र हुलाकबाट पढाउने काम गरेर गोरखापत्रले सरकारी राजपत्रको काम गरिरह्यो। अञ्चलाधीश कार्यालय र मन्त्रालयबाट आएका रेडिमेड समाचारहरू छापेर कपाल फुलाएको गोरखापत्रले २०४७ सालको परिवर्तनबाट नेपाली जनताको पक्षमा कुनै प्रकारको फाइदा उठाउन सकेन। निजी क्षेत्रको लगानीमा दैनिक पत्रिकाहरू प्रकाशन हुनथालेपछि गोरखापत्र प्रतिस्पर्धाको लडाइँमा पछि पर्न थाल्यो। परिवर्तनपछिका सरकारहरूले पनि गोरखापत्रलाई स्वायत्तशासी र स्वतन्त्र संस्थाका रूपमा जनताको धरोहर बनाएर राख्ने पहल गरेनन। ठाडो सरकारी हस्तक्षेप जारी रह्यो। मन्त्रीहरूको राजनीतिक सिफारिसमा नियुक्त कार्यकर्ताहरूको बथान पाल्नुपर्दाको व्ययभार अनि गुणस्तरहीन उत्पादनका कारण गोरखापत्र धरासायी हुनथाल्यो।
सरकारको भजनमण्डलीमै सीमित गोरखापत्रले आफ्नो जन्मकुण्डलीमा लेखेको भावीको निर्देशनलाई उल्टो रूपमा प्रयोग गरिरह्यो। देव शमशेरले …हाम्रा बारेमा नलेख्नू भनेर सरकारको प्रशंसा नगर्न निर्देशन दिएका थिए। तर, त्यसको तीन महिनापछि नै पदच्युत भएका देवशमशेरको जुँगा उखेल्नमै गोरखापत्र तल्लीन भयो। अहिले पनि गोरखापत्रको मुख्य काम भनेको जुन सरकार आउँछ त्यसैको बचाउ र प्रशंसा गर्नु र सरकारका गल्ती कमजोरीहरूलाई ढाकछोप गर्नु रहेको छ।
पत्रकारितामा निजी क्षेत्रको लगानी र उच्च प्रविधि अपनाउँदै आएपछि गोरखापत्रभित्रका व्यक्तिहरू आफूकहाँ आएको निजी क्षेत्रको विज्ञापनलाई अन्य पत्रिकामा पठाउँदै कमिसनमा रमाउन थाले। फलस्वरूप चाहेर पनि गोरखापत्रले लामो समयसम्म नयाँ प्रविधि प्रयोग गर्न र रीन हुनबाट बन्चित हुनुपर्‍यो।
गोरखापत्रलाई व्यावसायिक बनाउने, साँच्चै देनिक पत्रिका बनाउने र स्वतन्त्र विचारको संवाहक बनाउने साहसी पत्रकारहरू पनि गोरखापत्रमा नपुगेका होइनन्। २०५८ सालमा शेरबहादुर देउवा दोस्रोपटक जननिर्वाचित प्रधानमन्त्री बनेपछि गोरखापत्र संस्थानको महाप्रबन्धक र गोरखापत्र दैनिकको प्रधान सम्पादकमा किशोर नेपालको नियुक्तिपछि गोरखापत्रको कायापलट भयो। उहाकै अथक प्रयत्नले गोरखापत्र संस्थानमा रङ्गीन छापाखाना र आधुनिक प्रविधिका मेसिनहरू जडिए। यसको व्यवसायिक व्यवस्थापनको प्रारम्भ भयो र पहिलोपटक गोरखापत्रको मास्टहेडसहित सम्पूर्ण कलेवरमा आमूल परिवर्तन आयो। तर, देउवा सरकारलाई राजा ज्ञानेन्द्रले बलात् हटाएपछि किशोर नेपालले शुरु गर्नुभएका कामहरूले तीव्रता पाउन सकेनन्। उहा पदमुक्त हुनु भएपछि गोरखापत्रमा पुरानै प्रणाली हाबी भयो।
भाषणमा गोरखापत्र संस्थानलाई स्वायत्त र व्यावसायिक बनाउने भन्ने, तर व्यवहारमा सरकारको पाउपोस बनाउने नीति हाबी भए पनि त्यस्तो परिस्थितिलाई चुनौती दिदै गोरखापत्रले सय वर्षपछि शुरु गरेको आधुनिकीकरणको प्रक्रिया उल्टिन सक्ने कुरा त थिएन। तर, गोरखापत्रले दह्रो अभिभावक नपाउदा नया रूपमा पुरानै शैली अपनायो। सरकारी भर्ती केन्द्रका रूपमा गोरखापत्रले फेरि समय कटाउने काम गर्नथाल्यो। अन्य पत्रिकाले अघिल्लो दिन छापेका समाचार छाप्ने, एउटै समाचार दोहोर्‍याएर छाप्ने काम गोरखापत्रका लागि नियमित छन्। नेपाली पत्रकारितामा वि.सं. १९८४ मा वीरगन्जकी एउटी किशोरीले चर्खा घुमाउदै गरेको पहिलो फोटो छाप्ने श्रेय पाएको गोखरापत्रले वर्तमान सुविधासम्पन्न वीरगन्जको समाचारमा समेत फोटो छाप्न सक्दैन । पूर्वयुवराजको समचारमा अन्य पत्रिकाले घटनाको फोटो छाप्दा गोरखापत्र फाइल फोटो छाप्छ र …बाजेले घिउ खाएको छ भन्दै पाठकलाई हात सुघाउछ।

साभार: यो साता साप्ताहिक, वर्ष १, अंक ३२ ०६७/०१/२४–३०


You may also like

Powered by Blogger.

.

.

.

.