हजुरबा म उडन सकिन

/
0 Comments
दुई हातले च्याप्प समातेर मेरो हजुरबाले मलाई आकाशतिर हुत्ताउनुहुन्थ्यो । म वहांको टाउकोभन्दा माथीको आकाशमा पुग्थे र उत्तिनैबेला डरले कालो निलो भैसक्थे । पखेटाजस्ता हात फैलाएर वहांले मलाई च्याप्प समात्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, “मेरो नाती चराजस्तै उड्यो ।” 

उमेरको यो विन्दुसम्म आईपुग्दा पनि मलाई थाह छैन, म चराजस्तै उडन सके कि सकिन । दिव्य ९७ वर्षको उमेरमा हिडरहनुभएका हजुरबाले अहिलेसम्म पनि भेउ पाउनु भएको छैन, वहांको नाती उडीरहेको छ वा छैन । काठमाडौंंको खाल्डोबाट फुत्त भागेर घर पुग्दा वहां हौसिनुहुन्छ । मेरो जागीर, तनखा र सुविधाको कुरा सोध्नुहुन्छ अनि अन्तमा भन्नुहुन्छ, ईमान जमान नछोडेस । त्यत्ती भए पुग्छ ।  

आफ्नो बलबाहु भाई कुनै क्षेत्रीको थर फेरेर वेलायती सेनामा भर्ती भएको कथा सुनाउदा हजुरबा जहिलेपनि हौसिनुहुन्छ र तत्कालै भावुक हुनुहुन्छ । किनकी मेरो हजुरबाको भाई भर्खर विहे गरेकी पत्नी छोडेर बेलायती सेनामा भर्ती हुनुभयो । त्यसको केही महिना पनि नवित्दै वहांको मृत्युको खबर आयो र त्यसपछि खुरु खुरु आउन थाल्यो पेन्सनपट्टा । तर कहिल्यै आएन मेरा हजुरबाको भाईको शव । वहांको मृत्यु कहँं कसरी र के कारणले भयो कसैलाई थाह छैन । जब हजुरबा यि कुराहरु सुनाउन थाल्नुहुन्छ तब हजारौं मुजाहरु परेको वहांको निधार झनै धेरै खुम्चिन्छ । 


मेरो हजुरबा एउटा जिउंदो ईतिहास हो । वहांसंग ईतिहासका पत्रैपत्र छन । तर मसंग के छ ? बारम्बार म यही प्रश्न गर्छु । कहिलेकाही लाग्छ, वुढो भएपछि म संग पनि केही हुनेछन सुनाउने कुराहरु । केही हुनेछन बताउने तर्कहरु । तर त्यस्तो सम्भव छैन । जवानीका उर्वर दिनदेखी मेरा विचारहरु फेसबुकका पानामा पोतीईसकेका छन । ती अक्षरहरु अब मेरा रहेनन । मेरो भर्भराउदो बैशका समयहरु तस्विरमा कैद भईसकेका छन । त्यसैले अब त्यो पनि मेरो रहेन । समयको एउटा विन्दुमा म संग सुनाउने कुराहरु के रहन्छन होला ? कि गन्थन र असन्तुष्टीको चर्को रागले मेरा आंखा र कान पाट्टिन्छन होला । 

जब हजुरबाका कुराहरु सुन्छु र वहांका तर्कहरुसंग म पराजित हुन्छु त्यतिवेला म आफुलाई सबैभन्दा कमजोर ठान्छु । कहिलेकाही त यस्तो सम्म लाग्छ, हजुरबासंग तेलकासा र वाघचाल खेल जतीपल्ट जिते पनि वहांको अनुभवका पहाडका मुन्तिर म एउटा जुम्सो मुसा हो । 

बारम्बार आफ्नो चिना टिप्पन पल्टाएर मेरो हजुरबा जब गर्न थाल्नुहुन्छ आफ्नो सम्भावित आयुको हिसाबकिताब र भन्नुहुन्छ, लौ भन त म कति वर्ष बाच्छु । तब वहांको गह्रौ प्रश्नले किचिएर म घाईते हुन्छु । त्यतिवेला मलाई आफ्नो स्नातकोत्तर तहको लब्धाङ पत्रले हम्किन मन लाग्छ । तर त्यो व्यर्थको प्रयास हुन्छ । 

मेरा गुरुहरुले मलाई के के पढाए । के के सिकाए । भनिसाध्दे छैन । मैले जागिर पाए । त्यसवापत तलब पनि पाए । तर मेरा हजुरबाका निम्ती ति कुनै ठूला कुरा हैनन । वहांको अनुभवले त्यसलाई केही ठान्दैन । जब हजुरबा जोस्सिएर भन्नुहुन्छ, “दुईचार लैना भैसी नपाली, दुई चार विघाह खेतमा धन नफलाई मर्द भईन्न ।” हजुरबाका सबै प्रश्नहरुको उत्तर म संग कहिल्यै हुन्न । किनकी वहांका कतिपय प्रश्नहरुको उत्तर बांकी संसारसंग पनि छैन । 

जवानीको कुनै विन्दुमा मेरो हजुरबा बासको अग्लो झा¨बाट बढेमानको ढुंगामाथी बजारिनुभएको थियो । गाउलेहरुले वहांलाई लौ मर्यो भन्ठानेर तुलसीका मोठमै पुर्याएका थिए । तर भाग्यमानी मेरो हजुरबा बाच्नुभयो । तीन माना भिरमौरीको मह र दुई चारमाना घ्यु खाएका भरमा वहां तग्रिनुभयो । समयको त्यो विन्दुदेखी मेरो हजुरबाको ढाडमा एउटा सानो मासुको पोको पलायो । म केटाकेटी उमेरमा हजुरबाको ढाडमा के झुण्डिएको होला भन्ठानेर बहुतै कौतुक हुन्थे । जिस्किएर हजुरबालाई सोधीपनि हाल्थे, हजीबा ढाडमा के को पोको हो ? वहां भन्नुहुन्थ्यो, यो धनको पोको हो । 

समयको प्रौढ विन्दुसम्म पनि मलाई त्यही लाग्यो मेरो हजुरबा संग धनको पोको छ । त्यही भएर पनि मलाई आफु कहिल्यै गरिब वा धनी के छु भन्ने कुराको खोजीनिती भएन । वालवयमा सुनिएका कतिपय कुराहरु जवानीको एउटा विन्दुसम्म अकाट्या सत्ते लाग्दो रहेछ । मलाई पनि लाग्यो । धन्य हुन मेरा हजुरबा जसले आफ्नो नातीलाई धनी र गरिबको भेद बुभ्mन नदिई हुर्काए । मेरो आत्मविश्वास बढाए । 

मलाई थाह छैन । वालवयका धेरै स्मृतीहरु उमेर चढदै गएपछि र जिम्मेवारीले दिमाखमा घर गर्दै गएपछि विस्मृतीतिर पुग्दो रहेछ । म जन्मेको खुशीमा अझै भनँै छोरो जन्मेको खुशीमा मेरा बा र आमालो माईकाथानमा परेवा उडाउनुभएको थियो रे । त्यतिबेलै मेरो हजुरबाले आकाश चुम्ने गरी उडेको परेवा देखेर भन्नुभएको थियो रे, मेरो नाती पनि चराजस्तै माथी माथी उडोस । 

जब म सम्झिन्छु, हजुरबाका यि कुराहरु । तब उडनका निम्ती मेरा पखेटा नपलाएका देखेर म त्यसै त्यसै निराश हुन्छु । त्यतिवेला मेरो दिमाखमा आउछ, मान्छे सधै केटाकेटी भईरहन किन सक्दैन ।  



You may also like

Powered by Blogger.

.

.

.

.