शहर गन्थन : २

/
0 Comments
मेरा केही पाईतालाका डोबहरु थिए शहरका केही ओसीला गल्लीहरुमा । ढल बनाउने नाममा, पानीको पाईप फेर्ने नाममा आदिम गल्लीहरु खनियो र पुरीयो त्यहां नयां माटो । जसको गन्ध मेरो नाकसम्म बारम्बार ठोक्किन्छ र मलाई आहत तुल्याउछ । केही थिए धमिला सम्झनाहरु, शहरबाट मैले पाएको नासो । ति सम्झनाहरुमा मेरो असफल प्रेमका केही थान किस्साहरु थिए, केही थान अप्रकट मनोवादहरु थिए । शहरको वढदो प्रदुषण र वढदो ठण्डीले मेरा सम्झनाहरुमाथी बाक्लो भुईकुहीरोको सात पत्र थुपि्रएको छ । फलतः ति स्मृतीहरु डेट स्पायरको विन्दुतिर धकेलिदैछन् । अब फेरी सम्झनका लागी मैले केही दौडधुप गर्नुछ । केही संवादहरुको सुरुवात गर्नुछ र केही सपनाहरुको गर्भधारण गर्नुछ ।

धेरै कुरा हिजोजस्तै लाग्छन । जब सम्झनाका लागी आजको दिन पर्याप्त हुदैन । अथवा कतिपय दिनहरु यती धेरै लुते हुन्छन कि, त्यसको कुरा गर्नु नै वेकार हुन्छ । अथवा ति दिनका कुराहरु दारुका सुरुमा गर्नुको मात्रै मज्जा हुन्छ । नसा चढेजस्तो गरेर, आफैलाई विर्सेजस्तो गरेर लुते दिनको कहानी सुनाएर केही थान जड्याहरुलाई ओठ च्यात्ने गरी हसाउन र आफ्नै खिसीटि्युरी गर्न । कती पात्रहरु हुन्छन, जो ठोकिन्छन कुममा, पाईतालामा । त्यस्तो ठक्कर जती अकस्मात हुन्छ त्यती नै अकस्मात तिनीहरु विलाउछन । तर तिनीहरुले छाडेर गएको पर्फयुमको कडा गन्ध निशुल्क पाउनुलाई उपलब्धी ठान्नुपर्छ त्यती बेला । धेरैपल्ट हिडेपछि सडक पनि पि्रय लाग्छ । धेरै सम्झेपछि सम्झनाहरु पनि पि्रय लाग्छ । बकम्फुस्के तर्कहरु जस्तै, सुर न ताल मिलेको गीत बारम्बार गुन्गुनाउन मन लागेजस्तै । रहरहरुको कुनै सिमाना हुन्न । सम्झनाहरुको कुनै नाप नक्सा हुदैन । हुन्थ्यो भने, रोजगारी पाउन नसकेको आर्किटेक्ट ईन्जिनियरहरु सम्झना र रहका नक्सा बनाउन तल्लिन हुन्थे । तिनले पाउथे रोजगारी र रहर र सपनाहरुले पाउथे वैधता ।


खान नसकेका जागिरको सम्झना त्यतिवेला आउछ, जब झुर जागिरको फन्दामा परिन्छ । गर्न नसकेको पिरतीको सम्झना त्यतिबेला आउछ, जब आफुले मनै नपराएकाहरु बारम्बार पिछा लागिरहन्छन । सम्झना र रहरको त के श्रृखला हुन्छ र ? तर तिनीहरुको अदृश्य तार कहां कसरी जोडिन्छ कुनै पत्तो हुदो रैनछ । तर पनि कहिलेकाही सम्झनाहरु नै सम्पती हुंदा रैछन । हार्ड डिस्कमा राख्न नमिल्ने, कुनै बैंकले धितो र जमानत विश्वास नर्गने, तर पनि आफ्ना लागी अपि्रय, अपसुकन नै भएपनि पि्रय लाग्ने । कसरी कसरीब बारम्बार आईरहने ।

हरेक सम्झनासंग कुनै ठाउ जोडीएको हुन्छ । कुनै गल्लीहरु जोडीएका हुन्छन, एकाध पात्रहरु जोडीएका हुन्छन । अनि जोडीएका हुन्छन एकाध अहंम र लाचारीका समयहरु पनि । वाईन जस्तो जति पुरानो भयो उती महंगो लाग्ने । जती टाढा गयो उती नजिक आउने । सित्तैमा सामान बेच्न खोजेझै गरी हरेकपल्ट ढग्ने साहुजी, ओभरडोज औषधी पिलाएर हुर्काएका हरिया तरकारीलाई हरेकपल्ट अर्गानिक र ताजा हो हजुर भन्दै बेच्ने तरकारी पसले, विहानदेखी सांझसम्म एउटै चियापत्तीमा दुध उमालेर बेच्ने चियापसले र उसले निच्च हांसेर, तपाईकै स्वादमा चिया बनाएको छु नि हजुर भनेर देखाउने कला अनि बासी खबरहरु छाप्ने पत्रिकालाई ताजा खबर भनेर बेच्ने पत्रिका पसले । जति झुक्काएपनि तिनीहरुको सम्झना आईरहने । कुनै यस्तो भाईरस छैन, जसले सम्झनाहरुलाई मेटिदियोस ।



You may also like

Powered by Blogger.

.

.

.

.