यस्तो देखिएको थियो मधेशमा चुनाव

/
0 Comments

जनकराज सापकोटा/जनकपुर 

जनकपुरको शिव चोक
२४ कार्तिकका सिंगो जनकपुर छठको तयारीमा व्यस्त थियो । तर चोकमा चिया पसल, चौतारा र जमघटमा छठको तयारी भन्दा चुनावमा कसले जित्दैछ भन्ने हिसाबकिताबको राजनीति चर्को देखिन्थ्यो । यस्तो चर्काचर्की मधेशका अधिकांश गाउमा देखिनु सामान्य जस्तै भईसकेको छ, किनकी आसन्न संविधानसभा राजनीतिको ज्वरो मान्छेलाई लागिसकेको छ । सिंगो जनकपुर राजनीतिक दलका पर्चा, पम्लेट, तुल र व्यानरले छोपिएको छ । रामस्वरुप रामसागर वहुमुखी क्याम्पसका प्राध्यपाक भोगेन्द्र झा भन्दै थिए, पर्चा र पम्ल्पेटले जनकपुर यति फोहर कहिल्यै देखिएको थिएन । अघिल्लो संविधानसभा निर्वाचनमा धनुषा ४ जनकपुरबाट चुनाव जितेका मधेशी जनअधिकार फोरमका संजय शाह यसपाली सद्भावना पार्टी नेपालबाट सोही क्षेत्रको चुनावी मैदानमा छन । उनका निकट प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेसमा रामसरोज यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका वृषेशचन्द्रलाल छन् । यि तीनै उम्मेदवारले शहरका सबै भित्ता, छेउ कुना कतै बांकी राखेका छैनन । धनुषा क्षेत्र न. ४ बाट मात्रै स्वतन्त्र सहित ६२ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । 

चुनावी राजनीतिको ज्वरो सदरमुकामदेखी भित्री देहातसम्म छिरीसकेको छ । धान काटने बेला भएकाले अधिकांश मतदाताहरु दिउसोको समयमा घरमा भेटिदैनन । नभेटिएर के भो र उम्मेदवारहरु रातको समयमा भएपनि मतदाताको घरमा पुगीरहेका छन् । जस्तो कि पछिल्लो एक साता यता तराई मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी राती दुई बजेसम्म घरदैलोमा व्यस्त रहेका छन् । सर्लाहीको बर्दीबासमा भेटीएका उनी भन्दै थिए, म त भूत जसरी चुनावमा लागेको छु ।
दिनको २० घण्टा घरदैलोमै विताएको छु । महोत्तरी १ र ५ बाट उम्मेदवारी दिएका उनलाई दुईवटा निर्वाचन क्षेत्रमा बराबर समय निकाल्नु फलामको च्युरा जस्तो भएको छ ।  यस्तै हालत छ महोत्तरी १ मा एकिकृत माओवादीबाट चुनाव लडेका लिलामणी पोख्रेलको पनि । वर्दिबासको आधारशिलामा एकाविहानै भेटिएका पोख्रेलको तिल चामले कपाल अविरको रंगले रंगीएको थियो । भन्दै थिए, सुत्ने भनेको त तीन चार घण्टा मात्रै हो, प्रत्येक सेकन्डको महत्व छ । चुनावमा समयको महत्व कति हुन्छ भन्ने त पोख्रेलले अहिले पो थाह पाएका रहेछन । भन्दै थिए, "चुनाव भनेको त सय मिटरको दौड जस्तो पो रहेछ । म्यारथुन पो विस्तारै गर्दा पनि हुने रैछ ।"

उम्मेदवार मात्रै होईनन, राजनीतिक अगुवाहरुको पनि दिन र रात विर्सेका छन् । सिराह २ को गाढा गाविसमा भेटिएका उमेश प्रसैला नेपाली कांग्रेसका उम्मेदवार सूर्यनारायण यादवलाई जिताउन लागी परेका छन् । पांचथरको फिदिममा सरकारी शिक्षक रहेका उनी ढुक्कैले पछिल्ला एक महिनादेखी चुनावी प्रचारमा हिडेका छन । भन्छन, विहान ५ बजेबाट सुरु हुने प्रचार राती १० बजेसम्म जारी रहन्छ । चुनावी प्रचारले सिंगो गाउलाई गतिशिल त बनाईदिएको छ नै, राजनीति प्रति मानिसको चासो र कस्ता उम्मेदवारहरु असल हुन भन्ने वहसको सिर्जना पनि गरिदिएको छ । 

सिराह क्षेत्र न. ५ बाट चुनावी मैदानमा होमीएका एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई जिताउन लागी परेका सोही पार्टीका मिथिला राज्य समिती ईन्चार्ज विश्वानाथ प्रसाद शाह हप्तादिनदेखी चुनावी धपेडीमा व्यस्त छन् । २६ कार्तिकको मध्यान्हमा सिराहको गोलबजारस्थित आफ्नै घरमा भेटिएका उनले उनले अध्यक्ष प्रचण्डले चुनाव कसरी जित्दैछन भनेर हिसाब सुनाए । उनले चुनावी गणित सुनाईरहदा उनको मोबाईल बज्यो र उनले थाह पाए कि, हास्यकलाकारको एउटा टोली चुनावी प्रचारमा आउदैछ । को को आउदैछ भन्ने मेसो चाही उनी आफैले पाईसकेका रहेनछन । भन्दै थिए, सुनेको छु, ईकु ईकु, हर्के हवल्दार को को आउदैछन रे । चुनावी चटारो उनको अनुहारमा प्रस्टैगरी पोतीएको थियो । बारम्बार बज्ने मोबाईलको घण्टी र उनले कार्यकर्तालाई दिईरहेको निर्देशनले त्यसको झल्को दिन्थ्यो । उनको आडैमा रहेको सहयोगीले व्यङ्ग्य गुहृय कुरो सुनाए, उहांको मोबाईल चौवीस घण्टामा २६ घण्टा व्यस्त हुन्छ, खाने र सुत्ने त हिसाब नै छैन । हो पनि, शाहको दैनिकी बदलिएको झण्डै महिनादिन पुग्न आटिसक्यो । 

मौसमी गर्मीले छोडेको मध्य मधेशमा चुनावी गर्मी भने हृवात्तै वढेको छ । तर त्यस्तो गर्मी अघिल्लो चुनाव भन्दा फरक छ । एकलासका गाउहरुमा झण्डावाल गाडीहरु धुलो उडाउदै वेतोडले कुदेको देखिनु, माईकको चर्को आवाज सुनिनु सामान्य जस्तै भईसकेको छ । यस्ता कमै गाउंहरु छन, जहां रंगीविरंगी तुल,व्यानर र पम्प्लेट नटासिएका हुन । सिराहको मोतीपुरमा भेटीएका प्रेम रामले भने, चुनावले सिंगो गाउ नै तताईदिएको छ । २४ कार्तिकको मध्यान्ह महोत्तरीको वखरी गाविस पुग्दा स्थानियहरु चिया पसलमा राजनीतिको जोड घटाउ गरीरहेका थिए । त्यही भेटीएका रतु महतोले भन्दै थिए, थोरै मात्रै यस्ता मधेशी दलका यस्ता उम्मेदवारहरु छन, जो अघिल्लो चुनावमा जुन चुनाव चिन्हबाट चुनाव लडेका थिए, अहिले त्यही चुनाव चिन्ह बोकेर गाउ छिरेका हुन । रतुले पार्टी परिवर्तन गर्ने उम्मेदवारलाई लक्षित गर्दै भने, नेता उनै छन तर नयां नयां चुनाव चिन्ह गाउ पसेका छन् । 

पार्टी फेर्ने नेताहरुप्रति तल्लो तहमा हुने घोचपेचका अनेक किस्सा सुनिन्छन । २८ कार्तिकमा सिराह क्षेत्र न. २ मा पुग्ला मधेशी जनअधिकार फोरम गणतान्त्रिकका उम्मेदवार राजलाल यादवप्रति त्यस्तै किस्सा सुनिन्थ्यो । अघिल्लो चुनावमा मशाल चुनाव चिन्ह लिएर मधेशी जनअधिकार फोरम नेपालबाट चुनाव जितेका यादव यसपाली फोरम गणतान्त्रिकबट रेल चुनाव चिन्ह लिएर उठदैछन । "मसाल वेचक रेल चढीके आयल । रेलके पटरियो भारतके हातके वेचत" भनेर स्थानियहरु उनलाई व्यङ्ग्य गर्दै थिए ।  अर्थात मसाल वेचेर उनी रेल चुनाव चिन्ह लिएर चुनाव लडन आएका छन । भोली यही रेलको पटरी पनि भारतलाई बेच्न सक्छन । 

ईलामा क्षेत्र न. १ र सर्लाही क्षेत्र न.१ बाट चुनाव लडीरहेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल २८ कार्तिकमा सर्लाहीको गौरिशंकर गाविसमा भोट माग्दै हिडीरहेका  भेटिए । सधै डर्मियलको कोटमा सजिने ईलामे खनाल भादगाउले टोपी र खाट्टी रंगको सेतो कुर्ता सुरुवालमा भोट पसिना काढदै भोट मागीरहेका थिए । विपक्षीहरुले टुरिस्ट उम्मेदवारको विलला भिराईदिएपछि एमालेकै एक कार्यकर्ताले खनाललाई सर्लाहीमै एक कठ्ठा जग्गा दिने निर्णय समेत गरीसकेका रहेछन । खनाल मधेशसंग आफ्नो पुरानो सम्बन्ध रहेको बताउदै भन्दै थिए, उस्तै परे म पनि यतै बसाई सर्ने खतरा बढीरहेको छ । एक कार्यकर्ता भन्दै थिए, अध्यक्षको उम्मेदवारीले कार्यकर्तामा चुनावी रन्को हृवात्तै वढाईदिएको छ । 

मधेशमा "टुरिस्ट" उम्मेदवारको आरोप एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पनि खेपीरहेका छन् । किर्तीपुरका अलवा सिराह ५ बाट उम्मेदवारी दिएका प्रचण्ड मुश्लिले डेढ दिन मात्रै आफ्नो निर्वाचन क्षेत्रमा हिडन भ्याएका छन् । मिथीला राज्य ईन्चार्ज विश्वनाथप्रसाद शाह भन्दै थिए, मतदाताले खै त हाम्राे उम्मेदवार भनेर र्याखर्याखी पारीरहेका छन् । प्रचण्डका विपक्षीहरु उनलाई "एक तो बहरिया तईपर पहडिया" अर्थात पहिलो बाहिरको मान्छे त्यै माथी पहाडीया भन्दै खिसीट्युरी गर्छन । सिराह बडहरामालका माओवादी कार्यकर्ता मानबहादुर लोप्चनले अध्यक्ष प्रचण्डको दर्शन जम्मा एकपटक पाईएको भन्दै राष्ट्रिय नेता भएपछि लामो समय जिल्लामा बस्नु कहां सम्भव हुन्छ र ? भनेर चित्त बुझाउदै थिए । २७ कार्तिकको मध्यान्हमा सिराहको रामपुर विर्ता गाविसको मर्नवा गाउमा पुग्दा ठूलो भोज चलीरहेको थियो । प्रचण्डसंग चुनावी मैदानमा होमीएका नेकपा एमालेका लिलानाथ श्रेष्ठ आफ्ना कार्यकर्ता सबैलाई खाना खुवाउन जुटीरहेका थिए । एक हातमा झण्डा बोकर उनका कार्यकर्ताहरु कागजको प्लेटमा रहेको खाना बुत्याईरहेका थिए । श्रेष्ठ भन्दै थिए, विहान खान दिउसो खादै छौं । अब तपाई नै भन्नुस चुनाव कति लागीरहेको छ ।

थरी थरीका उम्मेदवार, थरी थरी कार्यकर्ताको विचारले मध्य मधेशमा चुनावी वहसलाई तिव्र पारिदिएको छ । सिराह गाढा ९ मा भेटिएका तेजनारायण ठाकुर धान काटने कामलाई थाती राखेर चुनावी दौडधुपमा व्यस्त रहेको सुनाउदै थिए । सिराह क्षेत्र न. २ मा नेपाली कांग्रेसका उम्मेदवार सूर्यनारायण यादवको सम्र्पक कार्यालयमा भेटिएका उनी कार्यकर्तालाई वाढिएको बुनिया र भुजीया खांदै भन्दै थिए, चुनाव त हत्तपत्ती कहां आउछ र ? तर धान त दुई चार दिनपछि काटे पनि भईगयो नि । 

रंगी विरंगी झण्डा फरफराएका गाडी र मोटरसाईकलका लामो ताती देखिनु सामान्य जस्तै भएको छ । निर्वाचन आचारसंहिताले दुईवटा गाडी मात्रै प्रयोग गर्न छुट दिएपनि प्रत्येक उम्मेदवारसंग झण्डै दर्जन गाडीको लश्कर देखिनु सामान्य जस्तै छ । महोत्तरी १ का कांग्रेस उम्मेदवार चिरन्जिवी हमाल आफुले पनि चुनावी प्रचारमा चारवटा गाडी प्रयोग गरीरहेको बताए । उनले कत्ती कुरा नलुकाई भने, दुईवटा गाडी त आचारसंहिता भीत्रै पर्यो, अरु दुईवटा भने मेरा डमी उम्मेदवारले मेरा निम्ती प्रयोग गरीरहेका छन् । गाडीको ताती लगाएर मत माग्नको ताती चलिरहंदा महोत्तरी क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार यम बहादर बुढाथोकी भने पुरानो साईकलमा कुई कुई पार्दै पेडल मारीरहेका थिए । चुनाव चिन्ह काईयो पाएका उनले साईकलमा दुईवटा काईयो भुण्डाएका पनि थिए । तैपनि भन्दै थिए,चुनाव जित्न पनि बेर छैन । 

संविधान हैन विकास 

चुनावी प्रसारले गाउ तातेको देखिएपनि मतदाताहरु धेरै आशावादी छैनन । गाउ छिरेका उम्मेदवारहरु दर्जनौ कार्यकर्ताको झुण्ड बोकेर मात्रै गाउ छिरीरहेका छैनन, दर्जनौ पुरा गर्नै नसक्ने आश्वासनहरु पनि बोकेर छिरीरहेका छन । त्यस्ता आश्वासनमा संविधान निर्माण, मधेशले खोजेको आत्मनिर्णयको अधिकार जस्ता कुराहरु भन्दा धेरै कुलो र पैनीको विकास, वाटो र पानीको सुविधा अनि रोजगारीको अवसर जस्ता कुराहरुको आधिक्यता छ । सिराहको मिर्चैयामा भेटिएका व्यवसायी श्याम शाह भन्छन, चुनाव संविधानसभाको हुदैछ, तर उम्मेदवारहरु विकासे नारा पो लगाईरहेका छन् । धनुषा क्षेत्र न. ३ की एमाले उम्मेदवार जुली महासेठले त आफुलाई जिताईदिएको खण्डमा करोडौंको विकासका योजना गाउमा ल्याईदिने र आफुले संचाल गर्ने परियोजनाहरुमा जागिर लगाईदिने आश्वासन नै वाढेकी छिन । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र निधीले पनि आफुलाई धेरै मत दिने गाउका करौडौंको विकास योजना ल्याउने भाषणा नै गरेका छन् । महोत्तरी १ का कांग्रेस उम्मेदवार चिरन्जिवी हमाल "जो मागो उही मिलेगा" को शैलीमा मत माग्ने अभ्यास व्याप्त भएको बताउछन ।  

महोत्तरी १ का माओवादी उम्मेदवार गिरीराजमणी पोख्रेलले निर्वाचनकेा ५ दिन अघी नै आफ्नो क्षेत्रका १२ वटै गाविसमा घरदैलो गरेर सके । झण्डै सतप्रतिशत मतदाताले आफुसंग विकास मागेको बताउदै उनी भन्छन, अधिकांश जनता संविधान भन्दा पनि विकासको आवश्यकता औल्याउछन । सर्लाहीको क्षेत्र न. ४ बाट उम्मेदवारी दिएका सद्भावना पार्टी नेपालका अध्यक्ष २८ कार्तिको मध्यान्हमा आफ्नै निर्वाचन क्षेत्रको वयलवासमा भेटीदा मतदाताहरुले घेरीएका थिए । मदरसा निर्माणमा निम्ती लाग्ने झण्डै दुई लाख जसले दिन्छ उसैलाई मत दिने बताउदै थिए, स्थानिय मौलाना । महतो भने उनले भनेअनुसारको काम गरिदिन्छु, भोट दिनुस भनेर सम्झाउदै थिए । महतोले अधिकांश मतदाता अधिकार, समानुपातिक सहभागीता र संविधान निर्माण भन्दा पनि कुलो पैनी, विजुली र बाटो बनाईदिनुपर्ने माग गरिरहेको बताउछन । भन्छन, सबैको चासो स्थानिय विकासका स साना कुराहरुमा केन्दि्रत छ । 

६ निर्वाचन क्षेत्र रहेको सप्तरीका अधिकांश मतादचा पनि विकासको पक्षमा देखिन्छन । राजविराजमा भेटिएका मनोज मण्डल भन्दै थिए, चुनावका वेला विकासका निम्ती दुई चार लाख र्झन सकियो भने हो, नत्र त चुनाव जितेपछि कुन नेता र्फकन्छन र ? मण्डलको जस्तै विचारले अधिकांश मतदाताको विचारलाई प्रतिनिधित्व गर्छ । सप्तरीको भुतही गाविसमा त स्थानिय मतदाताहरुले विकास जसले दिन्छ उसैलाई भोट दिने भन्दै व्यानर नै झुण्डाएका छन् । "रोड दो, भोट लो, विजुली नहिं तो भोट नही" लेखिएको व्यानर नै टागेर उनीहरुले विकासको पक्षमा आफ्नो मत राखेका छन् । 



You may also like

Powered by Blogger.

.

.

.

.