जनकपुर व्युझिरहृयो

/
0 Comments

शिव चौकमा रहेको चल्तीको मानकी होटलभीत्र पनि मलाई एकाध लामखुट्टेहरुले आक्रमण गर्न छोडीरहेका छैनन । पंखा यति वेतोडले घुमीरहेकेा छ, तैपनी लामखुट्टेहरु निसाना साधीरहेका छन् । मेरो मन वसमा छैन । गंगासागर र रामसागरको भव्यताले मेरा आंखाहरुलाई निदाउन दिईरहेका छैनन । म जर्वजस्त गरिरहेको छु । किनकी मलाई अझै कैयन दिनसम्म मधेश घुम्नु छ । 

जनकपुरको यस्तो भव्य स्वरुपलाई मैले कहिल्यै देख्न पाएको थिईन । छठको महिमा, यो पर्वले बोकेको हार्दिकता र सन्देशका विषयमा कैयन समाचारहरु र केही आलेखहरु पनि पढेको थिए । काठमाडौंको रानीपोखरीमा खुम्चीएको छठ फिक्का लागिरहेको थियो । तर जनकपुरको छठले मेरो संकुचनलाई फैलाईदियो । सांझ झण्डै आठ बजेसम्म गंगासागर र रामसागर घुमेर आएपछि पनि मेरा आंखा अघाएनन । जनकपुर सफा शहर होईन । यहांका बाटो र ढलको सिमारेखा पनि छैन । कुनै यस्ता चोक र छेउ छैनन, जुन मुत्रत्यागस्थल बन्नबाट नजोगीएका होउन । गुठखा र परागका खोल, पानको रातो थुकले सिंगो शहर छोपीएको छ । यति धेरै फोहर र अस्तव्यस्तता विच पनि यो शहरको भव्यता अझै कायम छ । 

२०६४ को मधेश आन्दोलनमा जनकपुर झर्दा यहांका कुनै चोक यस्ता थिएनन जहां हातमा मसाल बोकेका, नारा घन्काईरहेका तन्नेरीहरु नहुन । सरकारी कार्यालयका भित्ताहरु जय मधेशको नाराले पोतीएको थियो । मान्छेहरुको अनुहार आवेगले पोतीएको थियो, अधिकारको खोजीमा उनीहरुको जुर्मराहटले आकार ग्रहण गर्दै थियो । 

०६९ को माघमा जनकपुर झर्दा, पिडारी चोकमा मिथीला राज्यको माग राखेर भएको अनसनमा मारिएकाहरुले न्याय पाउनुपर्ने मागमा मानीसहरु फेरी आन्दोलित देखिएका थिए । तर त्यो आन्दोलनको पारोले सिंगो जनकपुरलाई तताउन भने सकेको थिएन । साहित्यकार राजेन्द्र विमलको घरको छतमा बसेर गुलियो मिठाईको स्वादमा मैले उनका शितल वाणीहरु सुनिरहेको थिए । भन्दै थिए, जे देखिन्छ जनकपुरमा त्यो हुदैन । जे देखिदैन जनकपुरमा त्यो भईरहेको हुन्छ । उनको चिन्ता जनकपुरको भव्यताविच हुर्कीरहेकेा असंगतीतर्फ लक्षित थियो । यो शहरको अस्तव्यवस्तता, यहां हुने संदिग्ध अपराध, बेलाबखत उठने उग्र साम्प्रदायिक नारा देखेर विमल वाक्क देखिन्थे । अनि यहांका लोकल दैनिक अखबारहरु यिनै खबरमा मसला भरेर सिंगो जनकपुरलाई तसाईदिन्थे । 

मधेश आन्दोलनपछिका धेरै समयसम्म जनकपुर छिटो सुत्थ्यो र ढिलो व्युझिन्थ्यो । संम्साझै मान्छेहरु घरतिर कुदीसक्थे । यसपाली जनकपुर पहिलेजस्तो थिएन । यो रातभरी व्युझीरहृयो । रातभरी जनकपुर धपक्क बलिरहृयो । पोखरीहरु झकिझकाउ थिए । ति यती सुन्दर देखिन्थे, मलाई भन्न करै लाग्थ्यो, छठी मैया तिमीले कुन जादु गर्यौ । सिंगो शहर राजनीतिक दलका भद्धा नारा, सस्ता पम्प्लेट, तुल र व्यानरले छोपिएको छ । तर चुनावका ति मौसमी सजावट सबैलाई छठको भव्यताले छोपीदिएको थियो । पाईताला दुख्ने गरी दुई चक्कर मार्दा पनि, ठेलामा भक भक उम्लीरहेको कडा रंगको चिया चार कप खाईसक्दा पनि मेरो धित मरिसकेको थिएन । महिलाहरु आधा शरिर पोखरीमा डुबाएर अस्त्ााउदो सूर्यतिर फर्केर नमन गरिरहेका थिए । धुप र दिपको मधुर वासना र चिटिक्क परेका मैथिल नारीहरुको सुन्दरता धपक्क बलिरहेको थियो । 

झण्डै राती दस बजेपछि म मानकी होटल फर्केर सुते । तर जनकपुर रातभरी जाग्राम रहिरहृयो । विहान ४ बजे नै  उठेर म फेरी त्यही भव्यता हेर्न हिडे । मान्छेहरुको अनुहारमा उस्तै कान्ती थियो, पोखरीको डिलमा उस्तै भव्यता थियो । पोखरीको डिल एक चक्कर मार्दा त्यसको छेउ कुनाबाट पिसावको कडा राग मेरो नाकमा ठोक्कीरहेको थियो । पिसाबको भल अध्यारा कुनाबाट उज्यालो भागतिर वगिरहेको थियो र मान्छेहरु नाक उचालेर हिडीनै रहेका थिए । हार्दिकताको यति ठूलो पर्व मनाईरहदा पनि किन कोही गर्दैनन यहां, पिसाव फेर्ने ठाउको व्यवस्था,किन कोही गर्दैनन पोखरीको सफाई अनि किन कोही गर्दैनन यसको उचित व्यवस्थ्ाापन । 
यहांका पोखरीहरु वर्षैभरी यति फोहर रहन्छन की त्यहां लामखुट्टे पनि मुश्किलले बाच्छन । यसअघीका दर्जन भन्दा धेरै जनकपुरमा भ्रमणमा मैले यहांका फोहरी पोखरीका डिलमा पाईताला राखेको छु । नाक उचालेको छु । भैसी नुहांउदै गरेको, केटाकेटीहरु पौडीदै गरेको, कपडा र भाडा धुदै गरेको अनि पानी उभाएर सूर्यलाई अर्घ दिदै गरेको एकैचोटी, एकै ठाउं देखेको छु । 

छठि मैया वर्षको एकचोटी मात्रै पोखरी सिंगारेर किन जनकपुरको कुरुपतालाई छोपीरहेकी छौं । किन म मनुवालाई विहानको पहिलो प्रहरमा यो लेख्न वाध्य पारीरहेकी छौं । 



You may also like

Powered by Blogger.

.

.

.

.