एउटा जनताको डायरी

/
0 Comments

नमस्ते मेरो नाम जनता हो । सबै नेताले मेरै निम्ती काम गरेको भन्छन । त्यसैले म सबैतिर छापिन्छु । सबैतिर बोलिन्छु । सुनेको छु, मेरो नाममा राजनीति हुन्छ रे । त्यस्तो धन्दा गर्ने मान्छेलाई चाही नेता भन्छन रे । तिनीहरु कहिले मालाले छोपिएर कहीले खांदाले च्यापिएर गाउतिर छिर्छन । लय मिलाएर, भाका हालेर के के भन्छन । जुम्लाहात जोडेर नमस्ते पनि गर्छन । पाउ नै परुला झै पनि गर्छन । अनि भन्छन, म तपाईको सेवामा सदा हाजिर छु । तपाईले गर्नु केही पर्दैन, यत्ति एक भोट हालिदिए पुग्छ । के के नै माग्लान जस्तो गरी आएकाहरुले जाबो एक भोट मागेपछि नदिने कुरा पनि भएन । आखिर भकारीको धान दिने हैन । बारीको तरकारी दिने हैन । भोट हालिदिएपछि त तिनीहरु हराउछन । जसरी हराएका थिए डायनासोरहरु र वैज्ञानिकहरुले लेन्स लगाएर खोजेका थिए । त्यस्तै हुन्छ ति नेताको हाल ।

अघिल्लो वर्ष दुई चार नेता लश्कर लाएर आएका थिए । एउटाले विकासको गीत गाएको थियो । अर्कोले प्रगतीको लोरी सुनाएको थियो । अनी अर्को चाहीले समृद्धीको भाका हालेको थियो । मेरो वुढीयाले तीनैजनाको कुरा मनपराईन । जिव्रो लेपारी । ओठ लेप्राई । अनि भनी, आं पर्दैन बुढा यिनीहरुका कुरा सुन्न । पर्दैन वुढा भोट हाल्न । तर मैले बुढीको कुरा ज्यान गए मानिन । एउटालाई भोट ठोक्दिए । त्यसले मलाई अघिल्लो सांझ दुई चार सय खांचो परे सरसापटी दिने मान्छे मै हुं । परेका बेला मेरो घर आउनु भनेर साखुल्य पारेको थियो । 
मेरो घरको धुरीमा त्यतिबेला तीन/चार वटा झण्डा फरफराएका थिए । चुनाव सकिएपछि झण्डा लिन कोही आएनन । वुढीयाले सबै झण्डालाई निकाली । बच्चाको थाङनो बनाई । त्यही थाङनोमा मुतेर, हगेर मेरो छोरो हुर्कीयो । मेरो घरका भित्तामा के के जाती लेखेका थिए । अनेक रंगका पोस्टर टासेका थिए । पोस्टर त वर्षाले मक्काईदियो क्यारे । तर भित्तामा लेखीएका नारा अघिल्लो वर्षसम्म थिए । वुढीयाले अघील्लो चैते दशैंमा कमेरोले पोतीदिई । त्यही बेला सुन्या थिए, शहरतिर संविधान नबन्ने हल्ला चल्या कुरा । त्यही सुनेर हो की वुढीयाले नारा पोतीदिएकी । 


भोट हालेपछि मेरो वुढी औलामा निलो मसी लगाईदिएका थिए, सरकारी अड्डका कारिन्दाले । त्यो निलो मसी महिनौसम्म ज्यान गए मेटिएको थिएन । हरेक सांझ भान्छामा वुढीयाले जिस्काउथी तिम्रो वुढी औलामा मसी पोतेर नेताहरु शहर पसे । 

उसले भनेकी थिई, खुबै नाप्यौ तिम्ले । 

वुढीया अलीक मुखाले छे । किनकी सांवा अक्षर त्यसैले चिनेकी छे । म धेरै कुरा जान्दिन । जानेको कुरा भन्दिन । 

भोट हाल्या नेता आउलान नि त भन्ठानेको थिए । तर ज्यान गए आएनन । छोरालाई पखला लागेर हरियो भईसक्दा पनि मैले स्वास्थ्यचौकीबाट औषधी पाईन । डाक्टर भए पो औषधी पाउनु । मेरा कुरा कस्ले सुन्नु । डाक्टर तलब गाउबाटै खान्थे । तर ति शहरमा बस्थे । गाविस सचिवको पनि ताल त्यस्तै थियो । महिना विते, वर्ष विते र मैले भोट हालेको नेताको अनुहार पनि विर्से । ति नेता बेला बखत टिभीमा झुल्किन्छ भन्ने कुरा त सुन्या हुं । तिनको स्वर पनि रेडियोमा बेला बेला सुन्या हुं । रेडियोमा ति बोल्या बेला पनि वुढीया जिव्रो लेपार्थी र भन्थी, खायौं ठूलो भाग । 

खान त खाएकै हुं नि ठूलो भाग । धोकाको । के के जाती भन्याथ्यो । केही कुरा पुगेनन । त्यति खानेपानीको धारो जोडिदिएको भए हुन्थ्यो । मरीकाट्टे सुनेनन । वुढीयाको निरन्तरको खिसीट्युरी सहेर वर्षौ विताए । वर्षदिनपछि मेरो पनि मेख मर्यो । आखिरमा म जनता हुं । म नाथेले किन त्यति धेरै आशा गर्या हुला । सानामा बाआमाले भन्थे, तेरो भाग्य खोटो छ भनेर । मैले पछि त्यही कुरा पत्याए । हो, मेरो भाग्य खोटो रैछ । भोटको बदला मैले चोट पाए । गरिबलाई दिन्छु नभन्या भए नि हुन्थ्यो नि । भनिहाल्यो, पत्याईपनि हालियो । 
म जनता हुं । त्यही भएर विश्वास गर्छु । विश्वास गर्नु मेरो मौलिक धर्म हो । चोट पाउनु चाही के हो कुन्नी । मैलाई थाह छैन । सपना मेरा केही छैनन । मेरो घर म आफै बनाउछु । मेरा सन्तान म आफै हुर्काउछु । हात मुख आफै जोर्छु । अरु कुरामा मेरो चित्त दुख्या हैन । गर्न नसक्ने कुरा किन भने होलान । भन्न नमिल्ने कुरा किने वाढे होलान ? त्यति मात्रै चिन्ता हो । मैले नेता मानेकै हु । भोट पनि हालेकै हु । तर आउछु भनेर नआउने, ल्याउछु भनेर नल्याउने, गर्छु भनेर गर्दै नर्गने कुरा मात्रै मन नपर्या हो । अरु त जे सुकै नापुन । 

केही दिन अघी गाउमा फेरी बाजा बज्यो । अनौठो स्वरको । विहेको बाजा त ताल मिलाएर बजाउछ । यो त विहेको बाजा पनि हैन । मान्छेका लश्कर पनि देखिन्छन । तर ति चिनेका मान्छे पनि हैनन । हल्लीखल्ली मेरै घरतिर वढ्यो । मान्छेको काधमा मान्छे चढेको देखेपछि मेरो छोरो पनि हौसीयो । किनकी उ पनि मेरो काध चढथ्यो र भन्थ्यो, यता लैजा बा । उता लैजा बा । यसो गर बा । उसो गर बा । काधमाथी चढेको मान्छेले पनि त्यसै गर्यो । त्यो पनि कसैको छोरा होला, भन्ठाने । तर त्यसको मोटा जुंगा थिए । शिरमा टोपी थियो । गलामा माला पनि थियो । अरे, केटाकेटी पो बा आमाको काधमा चढछन । त्यो ठूलो मान्छे किन मान्छेको काधमा चढेको होला । मनमनै सोचे, ठूलो भएर पनि केटाकेटी जस्तै भएर होला ।  

मेरै घरनेर आएपछि मैले चिनीहाले, त्यो त्यही मान्छे हो । त्यसलाई नेता भन्दारैछन । अघिल्लो पटक त भन्दैथियो, म जनताको नोकर हुं । नोकर त मालिक भएछ । मान्छेको काध चढने भएछ । 

उ खिस्स हास्यो । म फिस्स हासे । उसले नमस्ते गर्यो । मैले फकाईन । 

उसले भन्यो, के चाहियो । 

मैले भने, हजुर, केही चाहिएन ।

किन चाहिएन, उसले भन्यो, म तपाईकै सेवक हुं । 
मैले भने, तर म तपाईको सेवा चाहन्न । 

ठिकै छ त्यसो भए, उसले भन्यो, तपाईलाई नचाहिए पनि मलाई चाहिन्छ, एक भोट दिनुस है । 
उसले यति मात्रै भन्यो । मैले उसका कुरा सुने। उ जुम्ला हात जोडेर ओरालो लाग्यो । छोरो मेरो काध चढ्यो । उ जनताको काध चढ्यो । 

भित्रबाट वुढीया च्याठिई । 

किन जान्ने हुनुपर्यो । हुन्छ हजुर भनिदिएको भए भैहाल्थ्यो नि । 

वुढीयाको कुरा मैले वुझिन । बुझेर पनि पचाउन सकिन । धेरैबेरपछि उसले भनी, एउटा झण्डा छाडेर गका भए, च्यातिएको थाङना टाल्न हुन्थ्यो नि । उसको कुरा सुनेर म जिल्लीए । भन्ठाने, वुढिया वाठी छे । 

म एउटा जनता हुं । मेरा धेरै सपना छैनन । भएका सपनाहरु पोईल गैसके । पोईल गएकाहरुलाई मेरो के माया । 




You may also like

Powered by Blogger.

.

.

.

.