जेरी र शहर

/
0 Comments
सर्लाहीको वरसाईन मेलामा बेच्न राखिएका जेरी । 

पुतलीसडकमा एउटा जेरी पसल थियो । घ्युमा पकाइएको जेरीको वासना सडक पर पर सम्म यसरी फैलिन्थ्यो कि, हरेक दिन रत्नराज्य कलेजबाट म धोबीधाराको डेरामा र्फकदा कल्पना गर्थे जागिर खाएपछि पहिलो महिनाको तलबले यही जेरी किनेर खानेछु । जेरीसंग मेरो अनौठो लगाव जोडिएको थियो ।

स्कूल पढदा ठूला हुं भन्नेहरुले गर्ने अनौठा तर उत्तर नै नभएका प्रश्नहरुमा पनि जेरी मिसीएको हुन्थ्यो । तिनीहरुले सोध्थे, जेरीभीत्र गुलीयो कसरी छिर्यो ? मेरो वाल दिमाखमा लाग्थ्यो ? साच्चै कसरी छिर्यो होला जेरीभीत्र गुलीयो । जबकी कही कतै व्वाल छैन । म ठान्थे, हातमा सुई लगाएर औषधी नसामा छिराएजस्तै गरेर गुलीयो पनि सिरिन्जबाट छिराईन्छ कि । चकचके र छुल्याह केटाकेटीलाई पनि जेरी संग जोडेर गाली गरिन्थ्यो । कस्तो जेरी जस्तो वाउठीएको मान्छे छ है यो भन्दै । कतीले बांगो मान्छेलाई जेरी जस्तो मान्छे भनेर पनि गिल्याउथे । यसरी जेरी मेरो दिमाखमा बसेको थियो । त्यसको स्वाद पनि आफैमा अपूर्व हुन्थ्यो । कतीपय मेरा जनजाती साथीहरुले भने बाहुनलाई गुलीयो त्यही माथी जेरी भएपछि के चाहियो र भन्थे । तर त्यसो भने पनि तिनीहरुले जेरी खान छोडदैनथे । 

जेरीको मूल्य गांउ छंदा दुई रुपिया मात्रै थियो । मेरो घर नजिकै खरदारको दोकान थियो । त्यही भएर त्यसलाई खरदार चोक भन्थे । अपभ्रंस भएर त्यो खर्दार चोक भएको थियो । सानो टिनको टहरामा लश्करै पसल थिए । त्यही थियो एउटा जेरी पसल । जहांको जेरी खान मैले मेरी आमासंग कैयनपल्ट झगडा गरेको छु । दशैमा टिका लगाएर दिएको अधिकाशं पैसा त्यही खर्चेको छु । तर बा को गोजीबाट पैसा भने चोरेको छैन । बरु त्यही पसलमा उधारो खाएको छु । तर त्यो पसलमा पकाईने फुच्चे जेरीको स्वाद अजिवको थियो । साच्ची नै अजिवको । घाम नझुल्कदै जेरी पसलम पुग्नु र तात्तातो जेरीको स्वाद लिनु आफैमा अपूर्व समय थियो । 


पुतलीसडकको सिसाले घेरीएको भव्य पसलभीत्र छिरेर जेरीको मूल्य सोध्नु नै मेरो सार्मथ्य बाहिरको कुरा रहृयो महिनौसम्म । सार्मथ्य र हिम्मत भन्ने कुरासंग धेरैजसो समय पैसा भन्ने तिज गएर जोडिएको हुंदो रैछ । हरेक विहान कलेजबाट र्फकदा मेरो पेट भोकले बटारिएको हुन्थ्यो । म त्यही पसितिर घुरेर हेर्थे, जेरीको चाङलाई । जसलाई सिसाको घर्राभीत्र उज्यालो बत्ती बालेर राखिएको हुन्थ्यो । उज्यालो पर्दा ति जेरी आफैमा चहकिला देखिन्थे । त्यो खान पाए झन कस्तो हुंदो हो भन्ने कुराले मेरो मन चिमोटिरहन्थ्यो । यसैगरी महिनौ विते । तर मैले जेरी किनेर खाने हिम्मत गरिन । किनकी त्यसका निम्ती पैसा चाहिन्त्यो त्यो भन्दा धेरै साहस चाहिन्थ्यो । 

महिनौपछि मैले जागिर पाए । केही हजार तलबको । पहिलो महिनाको तलब हातमा पर्ने वित्तीकै म हान्नीएर पुतलीसडकको त्यही पसलमा पुगे, जहांको जेरीले मलाई महिनौसम्म गिज्याएको थियो । म र मेरो साथी मिलेर आधार दर्जन जेरी वुत्यायौ । आंत भरिएर आयो । मन खुशी भयो । जिव्रो त्यसै रमायो । मैले खर्दार चोकमा सानो छंदा जेरी खाएको सम्झे । तर कसैगरी पनि त्यतिवेला खाएको जेरीको जस्तो स्वाद यो जेरीको थिएन । तर हेर्नमा भने यो औधी आर्कषक थियो । 

खनखनी गनेर नब्बे रुपिया दिदा भने मैले जेरीको सबै स्वाद विर्से । त्यतिका धेरै पैसा तिररे मैले पहिलोपटक जेरी खाएको थिए । एक मनले लाग्यो, विथ्थामा पैसा स्वाह गरे मैले । तर अर्को मनले भन्यो, कम्सेकम, मनको रहर त पुरा भयो । हेरेर मर्नु भन्दा .... मर्नु जाती भन्ने त उखानै छ नी । तर त्यो सांझ मैले खुबै दुःख पाए । जेरीले मेरो पेटमा गडवडी गर्यो । म बारम्बार शौचालय दौडिय । झण्डै दर्जनपटक शौचालय धाएपछि मेरो मनको कुनै कुनामा पनि त्यो जेरीप्रतिको आर्कषण बांकी रहेन । तर मेरो खर्दार चोकको जेरीको यादले भने मलाई सताईरहृयो । आकारमा नमिलेको भएपनि, रंगमा अनार्कषक भएपनि खर्दार चोकको जेरीलाई मैले विर्सन सकिन । जसको स्वाद अपूर्व थियो । 



You may also like

Powered by Blogger.

.

.

.

.