नेपालगञ्जको कृष्णसार एफएमले भदौ १० गते ‘मिडियामा समावेशी मुद्दाहरु’ विषयक अन्तरक्रियामा उनले यसो भनेपछि उपस्थित पत्रकारहरुले खैलाबैला मच्चाए। भ्रष्ट कर्मचारीहरुले आफ्नो कर्तुत खोतल्ने पत्रकारहरुलाई बैरी देख्ने मनोविज्ञानबाट प्रेरित भई यस्तो अभिव्यक्ति दिएको भनेर केही पत्रकारहरुले तत्काल आक्रोस पोखे। केही पत्रकारहरुले यदि त्यो कुरा सही भए कार्वाही गर्न पत्रकार महासंघ तयार भएको बताए।
यो भनाईलाई एउटा तर्क मान्ने हो भने पत्रकारहरुमाथि गम्भिर आशंका पैदा गर्दछ। राजनीति अपराधीकरण तर्फ उन्मुख हुँदै गएको भन्ने त पत्रकारले बारम्बार लेख्ने र देख्ने गरेकै हुन्। अव यस्तै संगिन आरोप आफुतिर पनि आईलाग्दा चाँही के गर्ने ? केवल एउटा आक्रोशित अभिव्यक्ति दिएको हो भनेर चुप लाग्ने वा हामी पत्रकारहरु विच पनि यस विषयमा गम्भिर वहसको थालनी गर्ने ?
अपराध भनेको हत्या, लुटपाट, फिरौती असुली आदि भनेर हामी पत्रकारहरुले बोल्दै लेख्दै आएका छौं। कसैको कर्तुत लुकाउन ‘लाभ’ लिएर समाचार नलेख्ने र ‘लाभ’ लिनको लागि जे पनि समाचार बनाउने हाम्रो चरीत्र अपराधोन्मुख छ कि छैन ? नियोजित रुपमा कसैको चरीत्र हत्या हुने गरी समाचार बनाउने र आफ्नो व्यक्तिगत फाइदाको लागि सुचनाको प्रयोग वा दुरुपयोग गर्ने हामी भित्रैका ‘पत्रकारहरु’ अपराधी हुन कि होइनन् ? यस विषयमा अब गम्भिर वहसमा जुट्ने कि नजुट्ने ? हाम्रो पेशागत मर्यादालाई सम्मानित बनाईराख्न हामी भित्रै शुद्धिकरण अभियान थाल्ने कि नथाल्ने ?
राजनीतिमा प्रवेश गर्न निश्चित शैक्षिक योग्यताको आवश्यकता छैन हाम्रो देशमा। पत्रकारिता पनि त्यस्तै भइदियो। पत्रकार बन्ने कुनै मापदण्ड नभएकोले जो पनि ‘पत्रकार’ बन्न सक्ने भए। यस्तो भद्रगोल भईदिदा राम्रा मान्छे मात्रै यो क्षेत्रमा आएका छैनन् बल्कि गलत मनोबृत्ति बोकेर पनि प्रवेश गरेका छन्। जसले गर्दा आम पत्रकारहरुले शिर झुकाएर हिड्नु पर्ने अवस्था समेत आएको छ।
मेरो आशय, पत्रकारीता क्षेत्रलाई सु-संस्कृत, मर्यादित र उदाहरणिय पेशा बनाउनु पर्छ भन्ने हो। यसको लागि धेरै अग्रज तथा समकालिन साथीहरु अहोरात्र खटीरहनु भएको छ। हामी भित्र धेरै राम्रा र इमान्दार पत्रकारहरु हुनुहुन्छ। उहाँहरुको योगदानलाई म सलाम गर्दछु तर हामी माथी लाग्ने आरोपहरुलाई हामीले हल्का रुपमा लिनु हुदैन। त्यो आरोपको प्रतिकार गर्नु पर्छ मैले भनेको होइन। आरोपलाई हामीले प्रशंसा जत्तिकै सहर्ष स्वीकार गर्नु पर्छ तर हामी भित्र कमीकमजोरी छन् भने त्यसलाई हटाउन संयुक्त पहल पनि गर्नु पर्छ। ता कि समाजमा ‘म पत्रकार हुँ’ भनेर शिर उठाएर बाँच्न सकौं।
र अर्को कुरा, एकजना कर्मचारीले सबैलाई एउटै डालोमा हालेर त्यस्तो अभिव्यक्ति दिदा आम पत्रकारहरुको जसरी चित्त दुख्यो त्यसरी नै हामीले अरुलाई पनि मुल्याङ्कन गर्यौ भनें उनीहरुको पनि त्यसरी नै चित्त दुख्छ। त्यसैले हामी पत्रकारहरुले पनि अरु पेशाकर्मीहरुलाई एउटै डालोमा हालेर नलेखौं र नबोलौं।