मिडियाको टाँगन घोडा

/
0 Comments
 -युग पाठक
भारतीय सत्ता र भारतीय पुँजीवादको गरिबमारा चरित्रविरुद्ध सबैभन्दा सशक्त आवाज उठाउने लेखिका अरुन्धती रोयले दिल्लीबाट प्रकाशित हुने अखबार 'आउटलुक' मा प्रकाशित लामो लेख 'वाकिङ् विथ दि कमरेड्स' मा लेखेकी छन्- दन्तेवाडामा पुलिस सादा पोसाकमा हुन्छ, विद्रोहीहरु युनिफर्म पहिरिन्छन्, जेल सुपरिटेन्डेन्ट जेलमा हुन्छ तर कैदी स्वतन्त्र हुन्छन्।

यो द्वैध चरित्र आजको दुनियाँको सबैभन्दा टड्कारो यथार्थ हो। दन्तेवाडालगायत् भारतका माओवादी विद्रोहीको प्रभाव क्षेत्रमा मात्र होइन, सबैतिर यस्ता विरोधाभाष देखिन्छन्। यस्ता विरोधाभाष सत्ताको द्वैध चरित्रले उत्पन्न गर्छन् र सत्ता सरकारले मात्र चलाउँदैन। सत्तामा राजनीतिक शक्ति, पुँजीपति, कर्पोरेट घन्टाउके सबै सामेल हुन्छन्। यस्तै द्वैध चरित्र मिडियाले पनि प्रदर्शन गर्छ। किनभने मिडिया पनि कुनै न कुनै पुँजीपतिको दैनिक व्यापार हो। प्रसंग यहाँ अरुन्धतीको होइन, बरु उनका लेख प्रकाशित गर्ने सम्पादक विनोद मेहताको हो र अझ बढी विनोद मेहतासमेतले भोगेको मिडिया कर्पोरेटको हो।

मिडियामा जे छापिन्छ, देखाइन्छ वा सुनाइन्छ, त्यो सत्यको कति नजिक हुन्छ? लौ भैगो, सत्य त अलि मुस्किल कुरो भो, त्यसमा विचारधारासमेत मिसिन्छ। मिडियाका उत्पादन तथ्यका कति नजिक हुन्छन्? लौ भैगो, तथ्य पनि बेलाबेलामा उल्टोपाल्टो पर्नसक्छ, किनभने स्रोतले तथ्यको कुन पहलु देख्छ कुन देख्दैन पत्तो हुँदैन रे। त्यसो भए आफू गलत प्रमाणित हुँदा, तथ्यप्रतिको इमानदारितास्वरुप कति सम्पादक वा समाचारका रचनाकारले माफी माग्छन्? र, त्यसपछि आफूलाई दुनियाँका अघिल्तिर कति जनाले परीक्षणका निम्ति पेस गर्छन्?

आजकल नेपाली मिडियाबारे विमर्श हुन थालेको छ। अन्यथा जे छापिएर आयो, वा बोलियो, देखाइयो, त्यसलाई ढुंगाको अक्षर मानिने प्रचलन थियो। यो प्रचलन उन्मूलन भइसकेको त अझै छैन, तैपनि मिडियाको चरित्रबारे खुल्ला बहस भने हुन थालेको छ। अनि आजकल ठट्टा पनि चल्न थालेको छ- मिडियाबाट मुद्रित भएर आएपछि कुरोले यस्तो मोड लिन्छ कि जेल सुपरिटेन्डेन्ट जेलमा हुन्छ तर कैदी स्वतन्त्र। विनोद मेहताले नेपाल लिटरेचर फेस्टिभलमा आएर मिडियाबारे जे बोले, त्यो एउटा सम्पादकले आफैंप्रति गर्नसक्ने व्यंग्य र आलोचनाको उदाहरण थियो। तर एउटा सम्पादकले आफैंप्रति गरेको व्यंग्य भने मिडियाको सबैभन्दा ठूलो सत्य थियो।

मेहताले भर्खरै प्रकाशित आफ्नो बायोग्राफी 'लखनउ ब्वाय' मा खोलेको एक गोप्य कुरा के छ भने उनले आफ्नो कुकुरको नाम 'सम्पादक' राखेका रहेछन्। किन त? लिटरेचर फेस्टिभलमा सोधिएको यो प्रश्नको जवाफमा उनले भने- 'कुकुरले आफूलाई सबैभन्दा चतुर र सबै कुरा थाहा पाएको मनिषी भन्ठान्छ।' उनको हास्यचेतले सबैलाई हँसाइरहेको थियो र उनी मिडियाको सबैभन्दा महŒवपूर्ण सत्य स्थापित पनि गरिरहेका थिए। उनले व्यंग्य कस्दै भने- 'पत्रकार भन्ठान्छन् उनीहरु भारतको समस्या हल गरिदिन सक्छन्।' अर्थात् मिडियामा निर्माण गरिने डिस्कोर्सका कर्ताहरु कुन अहम्ले प्रेरित भइरहन्छन् र त्यो कति भ्रमपूर्ण छ भन्ने तथ्यलाई उनले नलुकाई मानिसका अघिल्तिर राखिदिए। मिडियाले निर्माण गर्ने समाचारलगायत्का सामग्री उत्पादन, छनौट र सेन्सर कुन कुन उद्देश्य तथा उत्प्रेरणाले गरिन्छ, यो निकै चाखलाग्दो विषय हो।

फेस्टिभलकै अर्को एउटा सत्रको शीर्षक थियो- मिडियाले हामीसँग कसरी कुरा गर्छ? नेपालका ठूला मिडियाका तीन सम्पादकलाई बहसमा उतारिएको त्यो सत्रमा नागरिकका सम्पादक किशोर नेपालले हाकाहाकी भने- 'लक्ष्मी जसको हातमा हुन्छ, मिडियाको ताला/चाबी उसैको हातमा हुन्छ।' लक्ष्मी अर्थात् धन। धन अर्थात् लगानी। मिडियामा लगानीकर्ताको हात सम्पादकभन्दा माथि हुने सत्य कर्पोरेट दुनियाँको सामान्य सत्य हो। तर यो धेरैजसो छोपिन्छ। धेरै छोपिएका कुराको बुर्का खोलेर तथ्य प्रकाशित गर्ने मिडियाको सबैभन्दा ठूलो सत्य भने छोपिएको हुन्छ। यो विरोधाभाष किन? विनोद मेहताले भनेझैं पत्रकारिता पनि एउटा व्यापार हो र नेपालले भनेझैं यसले 'लक्ष्मी' को क्रिडाभन्दा बाहिर कमैमात्र चियाउने गर्छ।

सबैभन्दा धेरै राजनीतिक सामग्री पस्कने नेपाली मिडियाले राजनीतिक एजेण्डा, त्यसमा पनि परिवर्तनका एजेण्डामा आफ्नो स्वामित्व स्थापित गर्न किन सकेन? यो प्रश्न राजनीतितिरै फर्काइदिन मिडिया कत्ति पनि हिच्किचाउँदैन र उसको तर्क यस्तो हुन्छ- व्यावसायिक पत्रकारिताले राजनीतिक एजेण्डा बोक्न सक्दैन। ठूलो विरोधाभाषाको आरम्भ यहीँनेर हुन्छ। दिनहुँ राजनीतिको 'रामदेव' रुपी अवतारमा नैतिक शिक्षा दिएर नथाक्ने मिडिया जब राजनीतिक एजेण्डा रोज्नुपर्छ, तब व्यावसायिकतातिर भाग्छ। र, जब व्यावसायिकतालाई राजनीतिक सत्ताको आड चाहिन्छ, तब फेरि राजनीतिकै भारी बोक्न ऊ आइपुग्छ। त्यसैले विरोधाभाषमा फसेका राजनीतिक शक्तिहरुझैं मिडिया पनि मौकापरस्त देखापर्छ र 'लक्ष्मी' को सौर्य कायम राख्नका लागि एजेण्डा फेरिरहन्छ।

नेपाली मिडिया गजबको असन्तुलनको शिकार भएको छ। समाजमा उद्भव भइरहने थुप्रै नयाँ आयामबारे मिडिया गम्भीर छैन, तथापि उसको गम्भीरताहीन स्थितिले समाजलाई अप्रभावित भने छाडेको छैन। उदाहरणका लागि रेमिट्यान्सको अंक, रेमिट्यान्सका निम्ति विदेश जाने मानिसको लस्करबारे उसले लेखिरहेकै हुन्छ। तर त्यो यति सतही हुन्छ कि त्यसले समाजमा पारिरहेको प्रभावबारे न समाचारदाता, न त सम्पादक नै संवेदनशील हुन्छ। रेमिट्यान्सको अंक जुन अनुपातमा बढिरहेको छ, त्यही अनुपातमा त्यसले अपराध र सामाजिक असन्तुलन पनि बढाइरहेको छ। तर पूरै समाजको सोच्ने तरिका बदलिरहेको यो मुद्दाका अनेकन पहलुबारे कुनै मिडियाले गम्भीर समाचार, विचार निर्माण गरेको छैन। ठीक त्यही मिडिया दिनहुँ नेताका बोली टिप्न ब्यस्त रहन्छ र त्यो बोलीलाई विभिन्न भावभङि्गमासहित प्रस्तुत गरेर अक्सर भिन्न चीजको रचना गरिरहेको हुन्छ। तर विडम्बना, ऊ त्यसलाई समाचार भनिरहेको हुन्छ। यसले समाजलाई इर्ष्यालु, अति संकीर्ण र राजनीतिक जातमा विभाजित गरिरहेको छ। यो असन्तुलन डरलाग्दो यथार्थ हो। साथसाथै समाजमा आइरहेका बहुआयामिक परिवर्तनमाथि या पर्दा हालिने या छिटपुट गिज्याएर छाडिने हुनाले समाजलाई मिडियाले व्यापक असन्तुलनमात्र उपहार दिएको छ।

मिडियाका पण्डितहरु पनि गुरुकूलकालीन नैतिक शिक्षा बाँडेर अझै रित्तिएका छैनन्। मिडियाले रचना गर्ने डिस्कोर्सले इतिहास, विचारधारा, समाज विकासको प्रवाह, अर्थराजनीतिक र राजनीतिक सन्दर्भलाई कसरी बोक्छ भन्नेबारे अक्सर मिडिया पण्डित केही बोल्दैनन्। कोही ह्रश्व-दीर्घका पछि लागेका छन्, कोही पौराणिक नैतिकताका सर्त परख गर्नमै मग्न छन्। समाजभित्र जुन निरन्तर परिवर्तनको अण्डरकरेन्ट चलिरहेको हुन्छ, त्यसलाई चिन्ने, परख गर्ने, अनुसन्धान गर्ने र अन्ततः त्यसको गति र दिशा पत्ता लगाउने काम मिडियाको पनि हो। र, यो कामलाई नजिकबाट नियाल्ने र समालोचना गर्ने काम मिडिया पण्डितहरुको पनि हो। अझ टेलिभिजनबाट प्रशारण गरिने एकालाप र राजनीतिक टिप्पणीका नाममा गरिने तर्कहीन पुराणवाचनले त समाजलाई थप मनोवैज्ञानिक रोगी बनाइरहेका छन्।

समाज जब संकटबाट गुज्रँदै हुन्छ, त्यहाँ एकाएक पुलिस सादा पोसाकमा देखिन्छ र विद्रोही युनिफर्ममा। यो संक्रमणको संकेत हो। मूल कुरो हो- यो संक्रमण चिन्नु। संक्रमण चिन्नु भनेको समाजको अण्डरकरेन्टमा चलिरहेको राजनीतिक र आर्थिक एजेण्डा चिन्नु हो। मिडिया यसबाट विमुख भयो भने ऊ स्वयम् असन्तुलनको शिकार हुन्छ र समाजलाई पनि असन्तुलनको टाउको दुखाई उपहारस्वरुप दिन्छ। त्यसैले मिडियाको टाँगन घोडा जति चम्किलो, छरितो, द्रुत र हेण्डसम देखिन्छ, त्यसो हुनचाहिँ कठिन हुन्छ। गजबको कुराचाहिँ के हो भने देखिनु र हुनु एकै कुरा होइनन्। मिडियाको टाँगन घोडा हाँक्नेहरुले जब देखिनु र हुनुको भिन्नता बुझ्छन्, अनि त्यसको सन्तुलित प्रयोग गर्छन्, तब यो टाँगन घोडाले रेस जित्छ । -नागरिक न्युजबाट साभार


You may also like

Powered by Blogger.

.

.

.

.