विवेक नपुगेको पत्रकारिता

/
0 Comments
 केशवशरण लामिछाने
हालैको एउटा समाचारले मलाई नौ वर्षअघि पुर्‍याइदियो र खिन्न बनाइदियो। क्यारियरका सुरु वर्षमा सिक्दै, लेख्दै गरेका बेला पत्रकारिताका सिद्धान्त रट्दै त्यसैअनुसार सूचनालाई समाचारको ढाँचामा सूत्रबद्ध गर्न खोज्नु मेरो जमर्को हुन्थ्यो। सूत्रमा बाँधेर समाचार लेख्दा पूर्ण लेख्न सकेको अहम् जागृत हुन्थ्यो। पहिला सूचना वा घटनाको सार त्यसपछि पुष्टि, उद्धरण र पृष्ठभूमि, यही थियो मैले सिकेको आधारभूत समाचार लेखनको सूत्र र ढाँचा।

नौ वर्षअघि मैले पोखरामा भएको एउटा अपहरणको घटनालाई त्यही सूत्रमा बाँधेर समाचार लेखेको थिएँ। समाचारमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बहुचर्चित डाक्टरकी छोरी एक वर्षअघि अपहरणमा परेको घटनालाई ब्याकग्राउन्ड इन्फर्मेसनका रूपमा लेख्दा आफूले अंग पुर्‍याएको ठान्दै खुसी लागेको थियो। यस्ता ब्याकग्राउन्ड इन्फर्मेसन अरू प्रतिस्पर्धीले घुसाउन नसकेकामा आफैँले आफूलाई अब्बल कोटीको नयाँ पत्रकार ठोनेको थिएँ। त्यसमाथि लेखेकै ढाँचामा तलमाथि नभई राष्ट्रिय दैनिकमा समाचार छापिएपछि त के चाहियो! त्यसैगरी समाचार लेख्दै जाने प्रेरणा मिल्यो।


आफैँले आफंँैलाई बधाई दिँदै समाचार लेख्न कुदिरहेकै कुनै दिन अस्पतालमा ती डाक्टरसापसँग भेट भयो, जससँग मेरो चिनजान थिएन। शिष्टाचारपूर्ण परिचयपछि उनले महिनौँअघि लेखिएको समाचारको प्रसंग कोट्याए अनि आफू र आफ्नी छोरीमा त्यसले पीडा थपेको सविनय गुनासो गरे। पत्रकार भएपछि केके न हुँ भन्ने भन्ने घमण्डले फुलेकै भए पनि त्यतिखेर उनको गुनासोले म झसंग भएँ। अपहरणमा परेकी छोरी फिरौती तिरेर छुटाएको पीडा, त्यसमाथि पुरानो भइसकेको घटना ब्युँताएर मेरो कथित अंग पुगेको समाचारले उनको परिवार र छोरीलाई थप पीडा पुर्‍याएको प्रसंगले मलाई नराम्ररी बि‰यो। त्यसपछि भने अंग पुर्‍याउने वा के, कहाँ, को, कसरी, किन र कसलाईलगायत जबाफ लेख्ने सूत्रमा समाचार ढाल्नुअघि सोच्न थालेँ, कतै समाचारको अंग पुर्‍याउँदा अरू निर्दाेष र पीडितको प्रतिष्ठाकै अंगभंग होला कि!
तीन वर्षअघि राजधानीका प्रतिष्ठित डाक्टरकी छोरी अपहरण गरेको अभियोगमा हालै पक्राउ परेका एक अभियुक्तबारे यो साता सबै पत्रपत्रिकामा छापिएको समाचारले फेरि मलाई नौ वर्षअघि पुर्‍याइदियो र खिन्न बनाइदियो। मैले ऊ बेलै गरेको गल्ती मूलधारका नेपाली व्यावसायिक पत्रिकामा दोहोरिएको देख्दा उति बेला पत्रकार भई टोपल्दा घमण्ड चढ्ने ममा लज्जाबोध भयो। ऊ बेला ममा केटौलेपन थियो र गल्ती गरेको थिएँ, व्यावसायिक बनिसकेको दाबी गरिने पत्रकारितामा अझै उस्तै बालापन देख्दा भने खिन्न लाग्यो।
डाक्टरकी छोरी अपहरण गर्ने अभियुक्त पक्राउ परेको समाचार पीडितलाई बल्ल खाइस् शैलीमै आयो। यो पछिल्लो दृष्टान्तमात्रै हो। पत्रपत्रिकामा समाचार यसैगरी आइरहेका छन्। मूलधारका पत्रिका पढ्दा यस्तो लाग्छ, पीडितको कठोर कथा जति छरपस्ट हुने गरी पोख्यो, उति राम्रो समाचार बन्छ भन्ने पत्रकारिताको मूल मान्यता हो। प्रेमीले प्रेमिका मार्‍यो भनेर मर्ने किशोरी वा महिलाको फोटोसहित समाचार आउँछ। लोग्नेले श्रीमती जलायो भनेर तिनै पीडित महिलाको तस्बिरको बिस्कुन पत्रिकाले सुकाइदिन्छ। लोग्नेले कुरूप बनाएकी महिलाको सट्टा कुरूप चरित्रको पुरुषको तस्बिर खोज्ने सामर्थ्य छैन वा पीडा बेच्न उद्यत छ पत्रकारिता? बुझिनसक्नु छ।
अचेल भारतीय टेलिभिजन समाचारहरूको सिको नेपाली टिभीहरूले निकै गर्न थालेका छन्। दुर्भाग्य नै भन्नुपर्छ, हामी जति भारतको विरोध गर्छाैं, त्यसभन्दा बेसी त्यहाँका विकृतिको नक्कल उतार्न कुद्छौँ। भारतीय पत्रकारितामा सबैभन्दा उत्ताउलो र गैरव्यावसायिक मानिएका टेलिभिजन समाचार नै नेपालीका लागि पोपमन्त्र बनिरहेका छन्। पीडितको आँसु र रोदन चर्काेे स्वरमा प्रसारण गर्न पाए आफूलाई अब्बल ठान्ने प्रतिस्पर्धा बढेको छ। मर्ने मरेर गइसकेको हुन्छ, उसका परिवारलाई पनि मर्न बाध्य तुल्याउने गरी च्याँठि्ठनु नेपाली पत्रकारिताको विशेषता बनेको छ।
पत्रकार आफैँमाथि वा सहकर्मी र आफन्तमाथि पीडा पर्दा चाहिँ त्यसरी समाचार नआओस् नै भन्ने चाहेको मैले अनुभव गरेको छु। पोखरा हटलाइन दैनिकमा पत्रकारिता सुरु गर्दा अस्पताल वा प्रहरी कार्यालय पुगेर मृत्यु र दुर्घटनाका सूचना बटुल्नु नै मेरो दैनिकी थियो। सहधर्मी दैनिकका दुई पत्रकारले राति घर फर्कने बेला मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउँदा समाचार नछापौँ भनेर अनुरोध त्यही पत्रिकाका साथीले मसँग गरेको म बिर्सन्नँ। 'समाचार आयो भने स्याङ्जा र दाङमा भएका ती पत्रकारका घरपरिवारमा अहिल्यै कोकोहोलो मच्चिन्छ, खबर अर्कै तरिकाले पुर्‍याएर उनीहरुलाई बोलाउन्जेल समाचार रोकौँ,' ती मित्रको अनुरोध थियो। सँगै फिल्डमा हिँडिरहनुपर्ने नाताले उनको अनुरोध स्विकार्दै मैले सम्पादकलाई पत्रकारहरू दुर्घटनामा परेको सुइँको पनि दिइनँ। कुनै गल्तीबिना भवितव्यपूर्ण घटना हुँदा त यतिका पीडा हुने पत्रकारलाई अरुको पीडाचाहिँ कहिले दुख्ने होला भन्ने मेरो त्यतिखेरको जिज्ञासा आजसम्म मेटिएको छैन।
पीडितलाई थप पीडा हुने गरी समाचार लेख्न नहुने पत्रकारिताको आधारभूत सिद्धान्तभित्रकै कुरा हो। पत्रकारिता वा जुनसुकै पेसा, कर्म गर्दा गल्ती नगर्न सिद्धान्त पढेर अक्षरशः पछ्याउने कष्ट उठाउनै पर्दैन। सामान्य विवेक पुर्‍याए पुग्छ। सामाजिक मूल्यमान्यता आत्मसात गरे पुग्छ। नेपाली समाजमा नारी दबिएका छन्। उनीहरुमाथि भएका तलबितल सार्वजनिक भए भने तिनको भविष्य खतरामा पर्छ भन्ने पत्रकारिताको कुनै सिद्धान्तबाट सिक्नुपर्ने सूत्र होइन। पीडितमाथि बदलाको होइन, सद्भाव राख्नुपर्छ भन्ने हामै्र धार्मिक र सामाजिक संहिताहरूले सिकाएका छन्। यति जान्न विदेशको विश्वविद्यालयबाट पत्रकारिताको डिग्री लिनुपर्दैन।
http://www.nagariknews.com/opinions/98-opinion/35423-2012-01-13-09-38-13.html
Friday, 13 January 2012 15:22


You may also like

Powered by Blogger.

.

.

.

.