के लेख्दैछौं हामी ?

/
0 Comments


घनश्याम भुषाल 


मान्छे आफ्नो श्रमको सिर्जनाबाट जति अलग्गीदै जान्छ, त्यति दुनिया अमानविकरण हुदै जान्छ । म मुलत मान्छे, समाज, दुःख निराशा सबैलाई यसैभीत्र राखेर हेर्छु । मान्छे आफ्नो सिर्जनाबाट जति अलग्गिन्छ दुःख त्यहीबाट सुरु हुन्छ । त्यो सिर्जना भनेको मुलतः पसिनाको सिर्जना हो । यस अर्थमा आफ्नो सिर्जनाको उपभोग समग्र मानव जातिको ढंगबाट सोचीयो भनेमात्रै त्यसको सार्थकता होला । राम्रो साहित्य त्यसअर्थमा प्रगतिशिल साहित्य हो । आफ्नो सिर्जनाबाट अलग पारिएका मनुष्यहरुको सिर्जना नै असल साहित्य हो भन्ने मेरो बुझाई हो । 

यस्तो साहित्यको कुरा गर्दा मलाई पत्रपत्रिकामा छापिने पुस्तक वार्ताको प्रसंग याद आउछ । त्यस्तो पुस्तक वार्तामा तपाईलाई मन पर्ने साहित्य कुन हो भनेर सोध्दा अधिकांशले विदेशी साहित्य खुब पढछु भनेर देखाउन हो कि कुन्नी किन हो, विदेशी साहित्यकारका पुस्तकहरुको नाम लिन्छन । यदी तिनीहरुले साच्चिकै त्यसो भनेका हुन भने हाम्रो साहित्य गरिब नै छ । साहित्यको मानक केलाई बनाउने भन्ने अलग कुरा हो । तर पुस्तक वार्तामा देखिने प्रवृत्तीले हाम्रो साहित्यको अवस्थलाई बुझाउछ । यस अर्थमा हाम्रो साहित्यले त्यो सामयिकता नसमेटेको कारणले हामी पछाडी परेका हौं । 

हामी कम्युनिष्टहरुको राजनीतिक सैद्धान्तिक समय चेतनाले राम्ररी खुट्टा नटेकेको हुनाले हामीले जति साहित्यिक लेखनलाई टेवा दिन सक्छौ त्यो दिन नसकेका हौं । यस अर्थमा हामीले समाजलाई बुझने सामयिक चेतनामै समस्या छ । त्यसैले हामीले राम्रो साहित्यको सिर्जना गर्न सकेका छैनौं । राम्रो साहित्यकार यदी कुनै प्रगतिशिल छ भने जाने हुन्छ त्यो पार्टीले जन्माउन खोजेको साहित्यकार होईन । यदी नारायण ढकालको साहित्य राम्रो साहित्य हो भने, पठनिय साहित्य हो भने हामीले जन्माउन खोजेको नारायण ढकाल होईन । गल्तीले जन्मेको हो वा विभिन्न कारणले नचाहदा नचाहदै जन्मेको हो । किन यो दुर्दसा हो भने, हाम्रो राजनीतिमा रहेको सामयिक चेतनाको अभाव हो । 


मैले दुई प्रकारले यस्तो भएको हो भन्ठान्छु । एउटा हो, अत्यन्तै पुरातन, शास्त्रिय र त्यसका नाममा हुने ढोंग ।  लिपपोत नै सिद्धान्त बनाईदिने । गुंदी भन्दा रंगरोगन गर्ने हाम्रो शैली नै हाम्रो समस्या हो । हामी ठूला ठूला सार्वभौम कुराहरु खोज्छौं । वर्गको कुरा गर्छौ तर त्यसको गुंदी हुदैन । हामीमा जात लिंग, क्षेत्र वर्ग जस्ता कुराहरुलाई हेर्ने सन्र्दभमा हामी अलिक पुरातनवादी नै छौं । हामीले त्यो वर्ग भनेको यस्तो वर्ग हो जसको भीत्री आधार छैन तर हेर्दा आर्कषक मात्रै देखिन्छ । यो सब प्रक्रियाबाट हामी एउटा चुनावदेखी अर्को चुनावको प्रक्रियामा मात्रै चक्कर मार्ने भईरहेका छौं । कुन मान्छेलाई विहान कहां चुनाव प्रचारमा पठाईयो र त्यो मान्छेले कति चुनाव प्रचार प्रसार गर्यो र सांझ फर्केर पार्टी, सिद्धान्तको दाम्लोमा बाधिन आईपुग्यो कि पुगेन भन्नेमा मात्रै हाम्रो राजनीति अडकिएको छ । यहानेर चुनाव प्रचार प्रसार भनेको साहित्य लेखन हो । खासमा हामीले जन्माउन खोजेको साहित्यकार यस्तै हो । यदी कसैले राम्रो साहित्य लेख्यो भने त्यो पार्टीको योजनाभीत्रको साहित्यकार हुनै सक्दैन । पार्टीको साहित्यकार हुनका निम्ती त दिनभर जहां गएपनि सांझ पार्टीको दाम्लोमा बाधिन आईपुग्नै पर्छ । 

अविच्छिन्न साहित्य र अविच्छिन्न लेखनको र अविच्छिन्न चेतनाको हालत यस्तो छ । अर्को यसको विरोधमा विच्छिन्न दृष्टिकोण छ । यसको माओवादीले प्रतिनिधित्व गर्छ । यो पनि चुनाव प्रचारको जस्तै शैली हो । त नै महान होस भन्ने खालको । त नै धर्तीपुत्र होस भन्ने खालको । मधेशमा गएपनि त्यही भन्ने पश्चिममा गएपनि त्यही भन्ने र हिमालमा गएपनि त्यही भन्ने । यथार्थमा यस्ता कुराहरु काल्पनिक होईनन तर मान्छेलाई त्यो नै अन्तिम र सार्वभौम हो कि भन्ने लाग्दछ । यस्तो प्रक्रियाबाट एक खालको भद्रगोल जन्मिन्छ । यति भद्रगोल हुन्छ कि त्यो साहित्य, जब तिनीहरु समस्याको चित्रण गर्छन त्यसलाई अनेकन टुक्रामा वाढेर विभक्त गर्छन । जब जातको कुरा गर्छन, धर्तिमा जात बाहेक अरु कुनै कुरा नै छैन भनेझै गरेर प्रस्तुत गर्छन । वर्गको कुरा गर्यो भने त्यही देखी त्यही नै टुंगिन्छ । भन्दा हामी द्धन्द्धवादी भन्छौं तर यसको द्धन्द्धवादीतालाई हेर्दैनौं । हामी यस्तो एकंलकाटे भएर हेछौं, एमालेको हो भने त्यस्तै एक पक्षिय र सार्वभौम नै यही मात्रै हो क्यारे भनेझै गरेर हेर्छौ र माओवादीको हकमा पनि ठ्याक्कै त्यस्तै छ । यसरी हामी बाढीएका छौं  र  सत्य र यर्थाथलाई टुक्रा टुक्रा पारेर हेर्ने प्रवृत्ती विकास भईरहेको छ । यस्तो अभ्यासबाट राम्रो साहित्य जन्मिदैन । राम्रो साहित्य यसरी जन्मिन पनि सक्दैन । हाम्रो समकालिन साहित्य भने हो खासगरी उम्मेदवारले चुनावका बेलामा गर्ने भाषण जस्तो मात्रै छ । जेसुकै भनेर हुन्छ उसले पार्टीको पक्षमा र उम्मेदवारको पक्षमा भक्तीगान गरेजस्तो खस्रो हुन्छ हाम्रो साहित्य । यि यावत कारणहरुले गर्दा हामीले जति साहित्यमा योगदान गर्न सक्थ्यौं त्यति गर्न सकेका छैनौं । हाम्रो आन्दोलनमा हाम्रो लेखनमा त्यो कारणले समस्या परेको हो भन्ने लाग्छ । 

म माक्र्सवादी भएर हेर्छु, त्यसैले पुंजीवाद त्यो जुनसुकै स्वरुपमा होस, त्यो प्रगतिशिल लेखनको विषय होईन । त्यसको विरोधको चेतना नै सामयिक चेतना हो । तर एकदम प्रस्ट छ, हिजो समाजवादी भनिएको जुन पार्टीको साहित्य हो, त्यो नै समाजवादी साहित्य होईन । लेनिनले टोल्सटोयमाथी लेखिएको जुन पार्टीको साहित्य जुन छ, त्यो चेतना त्यो समाजवाद होईन । सम्पूर्ण स्वतन्त्रता सहितको समाजवाद । यसअर्थमा मैले त्यसलाई उत्तर सोभियतकालिन समाजवादी विमर्श भन्ने गरेको छु अथवा उत्तर वोल्सेभिक समाजवादी विमर्श भयो भने मात्रै त्यो आजको हाम्रो प्रगतीशिल साहित्य हुन्छ । 

कर्णालीमा छोराछोरीलाई पिठ्युमा बोकेर नदीमा हामफाल्ने आमा होस, अरबबाट बाकसमा आएका लास होस, पुर्वी पहाडमा विष खाएर मर्ने कुनै लिम्बु होस, कालापाहाड पुगेको दलित होस, अफ्रिकाका डान्सबारमा वर्षौ नांगै नाचेर पनि नांगै नेपाल फर्कन वाध्य हाम्रा चेलीहरु होउन, पुरानो सांस्कृतिक परम्पराले गर्दा कहिल्यै वैश नै नदेखेका कर्णाली र मधेश युवतीहरु होउन, पांच ठाउ पढाउने मास्टर होस, पाठेघरको उद्योग खोल्ने डाक्टर होस, साहित्य चोरीको आरोप लागेर पनि विश्वविद्यालय धाईरहेको डिर्पाटमेन्ट चिफ होस, सत्ताको खालमा बसेको जुवाडे नेता होस, हावाले उडाएर पुल भत्काएको बताउने ईन्जिनियर होस, विदेशी संस्थाको नेपाली जनसम्र्पक अधिकृत जस्तो नेपाली एजेन्ट जस्तो बनेको वर्कर होस, राजनीतिको खेलमा जुका झै टासिएको कर्मचारी होस, यो सबै तथ्यलाई बुझ्ने कुरा नै सामयिक चेतनाको कुरा हो । वा नयां जिन्दगीको खोजीमा विदेश पसेका लाखौं तन्नेरीका चाहना, संकल्प वा सपनाको विषयलाई एक ठाउमा राखियो भने त्यो युगिन साहित्य बन्छ र यसो गर्न सकियो भने मात्रै पुस्तक वार्तामा पनि एक दुईवटा नेपाली साहित्यको नाम आउछ कि ? 

७ वैशाखमा नगरकोटमा आयोजीत नेपाली लेखनमा सामयिक चेतना विषयक कार्यक्रममा भुषालले व्यक्त गरेका विचारमा आधारित ।  



You may also like

Powered by Blogger.

.

.

.

.