हिंसा र मिडियाको केमेस्ट्री

/
0 Comments

फागुन १५ गते, सोमबार दिनभरि नेपाली मिडियामा बबरमहलमा बमविस्फोटबाट तीन जनाको मृत्युबारे सनसनीपूर्ण रिपोर्ट आइरह्यो। सत्ताको केन्द्र सिंहदरबारछेउमै विस्फोट र मृत्यु हुनु सनसनीपूर्ण रिपोर्ट नहुने कुरै भएन। तर, बम, विस्फोट, हत्याले त्रसित जनमानसलाई टीभीका सनसनीपूर्ण समाचारले थप भयभीत पारेको अनुभूति भएको छ।
हरेक टीभीले जनमानसमा शब्द र दृश्यलाई असंवेदशील ढंगले बमवर्षा गर्न कन्जुस्याइँ गरेनन्। सकेसम्म छिटो धेरै शब्द र दृश्य बर्साउने तिनको प्रतिस्पर्धा आफैँ कम हिंस्रक थिएन। नोम चोम्स्कीको ...अन्डरस्ट्यान्डिङ पावर' अनुसार ...टीभी हिंसा नाप्न त कठिनै हुन्छ, तर महसुस भने गर्न सकिन्छ। त्यसले मानसपटलमा पार्ने हिंस्रक प्रभाव बढाउने कुरामा शंका छैन।'
अपुष्ट समाचार पनि पुष्टि भएको समाचारका रुपमा प्रसार गर्नुपर्ने बाध्यता, बमले क्षतविक्षत वृद्ध अनुहारलाई सकेसम्म ...क्लोज-अप' मा देखाउने प्रयास, रक्ताम्य लासलाई पनि सम्पादन नगरी जस्तातस्तै देखाउने टीभीका चाहनामा प्रतिस्पर्धामा प्रथम हुने लालचाबाहेक अरु आशय ओझेलमा परे। त्यस्तो प्रतिस्पर्धामा मिडियाको पनि हिंस्रक अनुहार देखिनु अनौठो होइन। यस्तो हिंस्रक प्रतिस्पर्धामा मिडियाका नैतिक सिद्धान्त बेवास्ता गरियो र आफ्नो मार्केट भ्यालु बढाउने काम गरियो। जसरी भए पनि बेसीभन्दा बेसी दर्शक कमाऊ, दर्शक कमाएर टीआरपी बढाऊ र तिनै दर्शकलाई विज्ञापनदाता साहुसामु बेच। यही सिद्धान्त प्रभावशाली भयो, बबरमहल बमविस्फोटको कभरेजमा।



महाजन पत्रकारिता
नोम चोम्स्कीका अनुसार ठूला मिडिया र अन्य कर्पाेरेसनबीच महत्वपूर्ण केही समानता छन्। अन्य अन्य कर्पाेरेसनजस्तै ठूलो लगानी र ठूलै मुनाफा एउटा मुख्य समानता हो। अन्य कर्पाेरेसनले जस्तै मिडियाले पनि आफ्नो उत्पादन बेच्छ, बेच्ने भनेको बजारमै हो। मिडियाको उत्पादन भनेको दर्शक/श्रोता/पाठक हो, तिनलाई नै बजारमा बेच्ने हो। मिडियाको बजार भनेको विज्ञापनदाता हो। यसको स्पष्ट चित्र सबैभन्दा बेसी दर्शकलाई आफ्नो उत्पादन सीधै नबेच्ने टीभी, रेडियो र अनलाइनमा देखिन्छ, अखबारमा कम देखिन्छ। अखबार मालिकले मूलतः अखबार बेच्दैन, किनभने जति बेसी अखबार वा पत्रिका बिक्री हुन्छ, त्यति घाटा हुन्छ। लागतभन्दा धेरै कम मूल्यमा बेचिने पत्रिकामा पनि आर्थिक संकट आयो, पत्रिकाको भाउ बढाइने होला भन्ने धेरैलाई लाग्नसक्छ। नेपालमा अधिकांश मिडिया हाउसले पत्रिकाको मूल्य डबल पारेको मात्रै दृश्यमा देखियो, तर उत्पादन र सर्कुलेसन घटाइएको तथ्य बाहिर आएन।
मिडिया हाउसहरूले बढाउने भनेकै सबैभन्दा बेसी रिडरसिप हो, विज्ञापनको दर बढाउने लक्ष्यसाथ। तिनले आफ्ना विशेषाधिकार-प्राप्त र कुलीन दर्शक/श्रोता/पाठकलाई अन्य व्यापारीलाई बेच्छ, आफ्ना दर्शक/श्रोता/पाठक तथाकथित ...राजनीतिक वर्ग' हो भन्दै, आफ्नो देशको नीति-निर्माता यही वर्ग हो भन्दै। मिडियाका मालिक र अन्य कर्पाेरेट वा व्यापारका मालिकबीच बन्ने सम्बन्धको एउटा सेतु हो : नीति-निर्माता वर्गको किनबेच। एकले आफ्ना विशेषाधिकार-प्राप्त र कुलीन दर्शक/श्रोता/पाठकलाई बेच्छ, अर्काेले विज्ञापन दिएर त्यस वर्गलाई किन्छ, आफ्ना माल, विचार र संस्कृति बेच्छ। यस्तो किनबेचको सम्बन्धले पुँजी, सत्ता र स्रोतमाथि प्रभुत्व जमाएर बसेको प्रभुत्वशाली वर्गको हितमात्रै गर्छ, अधीनस्थ लोक र लोकतन्त्रको होइन। यसको अर्थ हो, देश र जनताको सेवा गरेको दाबी गर्ने मिडियाको देखाउने दाँत एउटा छ र खाने दाँत अर्कै छ, हात्तीको जस्तै। सीके लालले यस्तै पत्रकारितालाई नेपालको ...महाजन पत्रकारिता'को नामकरण गरेका छन्, जुन सही र सान्दर्भिक देखिन्छ।
जे छ, त्यो बेच। जे छैन, त्यो पनि बनाएर बेच। यो मिडिया र मिडियामार्फत गरिने व्यापारको सिद्धान्त हो। बेसीभन्दा बेसी बेच्ने क्रममा मिडिया आफैँ पनि हिंसा उत्पादन गर्ने सांस्कृतिक कारखानाजस्तो भएको छ। मिडिया र हिंसालाई एकसाथ प्रोत्साहित गरेको छ पुँजीवादी बजारले। त्यसले जन्माउने हिंसाको महावृत्तान्त न हुन्, पाँच सय वर्षको इतिहास, दुई-दुई वटा विश्वयुद्ध अनि हजारौँ प्रत्यक्ष युद्ध। त्यही बजारको एक खम्बाको रुपमा विकास भएको मिडियाको कामकारबाहीमा बजारिया स्वार्थको छायाँ नपर्नु त अनौठै हुन्छ।
हिंसाका सिकारलाई नै सिकार
हुन त बबरमहलस्थित नेपाल आयल निगमको मूलढोकामा भएको बमविस्फोटको क्रममा मारिएका तीन जना नेपालीको शरीरमा पनि बजारले नै हिंस्रक चित्र कोरेको हुनसक्छ। ...संयुक्त जातीय मुक्ति मोर्चा : विश्वक्रान्ति'को नाममा गरिएको दाबीलाई नै सत्य मान्दा बजार नै निर्णायक भएको भान हुन्छ। पेट्रोलियम पदार्थको भाउवृद्धि गरिएको विरोधमा बमविस्फोट गरिएको मोर्चाका ...विश्वक्रान्ति'को दाबीले यस्तै आभास दिन्छ। तर, आभास र यथार्थबीच त्यत्तिकै दुरी छ, जति दुरी सत्य र न्यायसँग पुँजीवादी बजारको छ।
जुनसुकै रुपरंगका ...विश्वक्रान्तिहरू'ले अनेक पवित्र उद्देश्यका नाममा गरेको बमविस्फोटले पनि अन्ततः सिकारहरूलाई सिकार बनाएको छ, जुन धेरैजसो संघर्षको दीर्घरोगै हो। पेट्रोलियम पदार्थको भाउवृद्धिको मारमा परेका जनतालाई नै मारेर कस्तो विरोध गर्न खोजिएको हो, शान्ति र संविधानविरोधीले मात्रै गर्नसक्ने खालको हिंसा थोपर्ने तथाकथित मुक्तिमोर्चाका विश्वक्रान्तिहरूले सायद मुख खोल्दैनन्। यस अर्थमा उनको दाबीमा झुटबाहेक सत्यको कुनै अंश छैन, जसरी पुँजीवादी बजारसँग सत्य साथसाथ हिँड्दैन।
जनताका लागि पेट्रोलियम पदार्थ वा अन्य वस्तुमा भएको महँगी आफैँ हिंसा हो, छद्म खालको हिंसा। खुलाबजार अर्थतन्त्रलाई शिरोपर गरेको राज्य संरचनाले जनतामाथि महँगी थोपरेर देशी-विदेशी साहुकारलाई मोटाउने मौका दिँदै आएको छ। महँगीको मारमा परेका मानिसलाई मर्ने र बाँच्ने अवस्थामा पुर्‍याउने सिंगो राज्य संरचना र देशी-विदेशी ...साहुकार' निकै प्रभावशाली देखिएका छन्। तीसामु सुशासन र समृद्धि दिने घोषणा गर्दै हिँडेका बाबुराम भट्टराई सरकारको माओवादी छवि पनि गरुड छायाँमा पर्नु स्वाभाविकै हो। तिनकै नीति र कार्यक्रमका कारण बेरोजगारी, महँगी र भ्रष्टाचारजस्ता संरचनागत हिंसा जारी छ र प्रधानमन्त्री भट्टराईको सुशासन र समृद्धिको घोषणा पनि तिनकै रद्दी टोकरीमा फ्याँकिने सम्भावना बढेको छ।
जारी छ छद्म युद्ध
हुन त प्रधानमन्त्री भट्टराईको माओवादी पार्टीले सशस्त्र युद्ध त्यागिसकेको छ। हतियार क्यान्टोन्मेन्टमा थन्क्याइरहेको छ। तर, पनि नेपालमा छद्म युद्ध भने जारी छ। संरचनागत हिंसा निरन्तर छ। हिंसाचारको सिकार हुने नेपालीको संख्या सशस्त्र युद्धको मारमा पर्ने मानिसको तुलनामा अचाक्ली छ। तिनै सबैखाले हिंसाको कुल जोडमा कहिलेकाहीँ प्रत्यक्ष हिंसा पनि थपिँदा जनमानस त्रसित हुन्छ, तर मिडिया भने त्यसको दोहन गर्न कहिल्यै पछि पर्दैन।
पुँजीनियन्त्रित मिडियाले बम विस्फोटलाई गज्जबसँग भजाएको छ। यसरी भजाउने क्रममा हिंसाको भाषा नै बेसी प्रयोग हुनु अनौठो होइन। हिंसाको प्रयोगशालामा हिंसाले हिंस्रक भाषा र व्याकरणलाई नै समृद्ध पार्नु स्वाभाविकै हो। बम विस्फोटपछिका दृश्य प्रत्यक्ष प्रसारण गरेका टीभीहरूले रक्ताम्य लास कम देखाएका भए जनमानसमा त्रास कम सञ्चार हुन्थ्यो, अब त सायद यस्तो आकांक्षा पाल्नु पनि अस्वाभाविक होला। खबर दिने नाममा त्रास उत्पादन गरी मार्केट बढाउने महात्वाकांक्षाले हनुमानढोकाको विशाल नगरा बजाइरहेको बेला भयको दोहनले भयमात्रै बढाउँछ भनियो भने पनि सुन्ने स्थिति नै हुँदैन। हिंसाको वातावरणमा प्रत्यक्ष र छद्म हिंसाबारे सम्यक् बहस र खोजी हुनुपर्ने माग गर्नु पनि कुनै एलियनको मागजस्तै अनौठो हुन्छ होला।
पुँजीनियन्त्रित बजारले होस् वा बजार नियन्त्रित मिडियाले, नेपाली समाजमा अरु व्यक्ति सिकार हुँदासम्म हिंसा स्वीकार्य हुने, आफू मारमा पर्दा भने अस्वीकार्य हुने वातावरण बनाएका छन्। ससाना अन्यायपूर्ण घटनामा पनि पीडकलाई फाँसी दिनुपर्छ भन्दै माग गर्ने फेसबुक पुस्ताको मनस्थिति त्यत्तिकै बनेको होइन। सानैदेखि गरिब, दलित, महिला, मधेसी, गैरहिन्दू धर्मावलम्बी, गैरनेपाली भाषी र दुर्गम क्षेत्रका जनताले भोग्दै आएका प्रत्यक्ष र छद्म हिंसा भोग्नुपर्‍यो भने उनीहरूले कतिलाई फाँसी दिँदै हिँड्ने होलान्!
...द प्याराडक्सिकल सपोर्ट अफ नेपालिज लेफ्ट फर कमरेड गोञ्जालो'मा अमेरिकी मानवशास्त्री स्टेफन माइकसेलले भनेझैँ ...भूमिको बेदखली, ग्रामीण ऋण, कमैया प्रथा, उच्च बाल मृत्युदर, स्रोतहरूको दुरुपयोग, महँगी, भ्रष्टाचार, श्रमशक्तिको बसाइँसराइ र महिलाको देहव्यापार आदि छद्म हिंसा नेपालमा व्याप्त छ, जसले प्रत्यक्ष हिंसालाई मलजल गरिरहेका छन्।' अनेक खाले विभेद, विभाजन र उत्पीडनको रुपमा देखिने छद्म हिंसाले नै प्रत्यक्ष हिंसालाई मलजल गर्दै आएको छ। त्यही हिंसा कहिले कांग्रेस वा मालेको नाममा त कहिले माओवादीको नाममा वा मधेसीका नाममा प्रकट भएको छ।
यस अर्थमा प्रत्यक्ष वा छद्म हिंसा जन्माउँदै आएको र त्यसमाथि वैध रुपमै एकाधिकार जमाउँदै बसेको राज्य संरचनालाई हिंसामुक्त संस्थाको रुपमा मान्नु बेठीक छ। त्यस्तै, हिंसालाई माओवादी वा तराईका सशस्त्र समूहमा मात्रै सीमित राखेर बुझ्ने र बुझाउने तौरतरिका पनि सही छैन। इतिहासै पल्टाएर हेरियो भने देखिन्छ, तीनतीन पटकसम्म सशस्त्र संघर्ष गरेको नेपाली कांग्रेस र एक पटक वर्गशत्रु सफाया आन्दोलन चलाएको माले (हाल : एमाले) ले पनि अहिलेसम्म हिंसा त्यागेको घोषणा गरेका छैनन्, न सरकारलाई हतियारै बुझाएका छन्। तर, तिनले नै अचेल अर्काे विपक्षीलाई हिंस्रक शक्तिका रूपमा चिनाइराख्न तथा शान्तिप्रक्रिया र संविधान लेखनमा छिड्की हान्न यस्तै बालहठले भरिएका माग गर्दैछन्। यस्तो व्यवहारले हिंसाको व्यापकता र गहिराइबारे सही दृष्टिकोण बन्न दिँदैन, न हिंसाको बुद्धिमानीपूर्ण समाधानै खोज्न दिन्छ। पुँजीवादी बजार, बजार नियन्त्रित मिडिया र समाजमा हिंसाको मार्केट भ्यालु भने बढिरहन्छ। न्याय, शान्ति र समृद्धिका लागि सामाजिक रुपान्तरण, पुरानो राज्यको पुनर्संरचना र लोकतन्त्रीकरणमार्फत प्रत्यक्ष र छद्म हिंसा कम गर्दै जाने दिशामा कम पहल भयो भने बम विस्फोटहरूमा भयभीत र चकित हुने क्रम जारी रहनेछ।

Wednesday, 29 February 2012 10:35from : http://www.nagariknews.com/opinions/98-opinion/37441-2012-02-29-04-52-25.html


You may also like

Powered by Blogger.

.

.

.

.