/
0 Comments
कहिले सुध्रिने ?
मलाई मेरो ब्लगमा कसैको आलोचना गर्न पटक्कै मन छैन। तर प्रसंग नै यस्तै पर्छन् चुपचाप पनि बस्न
सकिँदैन। यो मेरो नितान्त व्यक्तिगत ब्लग हो र त्यही भएर मैले यसको ट्याग लाईन नै ‘टाढा कतै कुनामा’ (Far In a Corner) राखेको छु। तर केही घटनाहरूले लेख्नलाई उत्प्रेरणा दिने गर्छन्।

प्रसंग बुद्ध एअरको विमान दुर्घटनाको। आइतबार बिहानै दुखद समाचार आयो। हरेक दुखद समाचार पत्रकारका लागि ठूलो र सनसनी समाचार हुन्छ। पत्रकारिताको सामान्य परिभाषाले पनि यही भन्छ… नहुनु पर्ने कुरा भयो, केही दुर्घटना भयो त्यो समाचार हुन्छ। स्वभाविक रूपमा मानिसहरूले राम्रा समाचार जति चाख लिएर पढछन्, हेर्छन् वा सुन्छन् त्यो भन्दा बढी दुखद समाचारमा ध्यान दिन्छन् र पत्रकारहरूले पनि त्यही गरिरहेका छन्। तर सँगसँगै पत्रकारिताका केही सामान्य सिद्धान्त हुन्छन् जुन व्यवसायिक पत्रकारिता गर्नेहरूले अबलम्बन गर्नुपर्ने हुन्छ।

आइतबारको घटना जति दुखद थियो त्यो भन्दा बढी नेपाली टेलिभिजन र अनलाईनहरूको असंवेदनहीन समाचारहरू। विमान दुर्घटना भयो तर नेपाली टिभीहरूलाई त्यो भन्दा बढी कस्ले पहिला ‘न्यूज ब्रेक’ गर्ने भन्ने चिन्ता छायो। अनि अर्कोलाई जित्ने नाममा आफ्नो धोती खुस्केको पत्तै पाएनन् नेपाली टिभीका पत्रकारहरूले। दुखद दुर्घटनाको समाचार आउने बित्तिकै सबै जनता समाचार च्यानलमा झुम्मिनु स्वभाविक हो। तर यो संवेदनाले नेपाल टेलिभिजनलाई छोएन। फ्ल्यास न्यूज स्क्रोल गराएर नेपाल टेलिभिजनले गीतको म्यूजिक भिडियोमा रमायो मानौं केही घटनै भएको छैन र विमान दुर्घटना सामान्य दैनिक घटना हो।

यता न्यूज २४ का रिपोर्टर विकास थपलिया घटना भएको आधा घण्टाभित्रै घटनास्थल पुगे र टेलिफोन लाईभ गरे। यो सकारात्मक पक्ष थियो तर जब भिज्युल फुटेज टेलिभिजन अफिसमा आइपुग्यो। टेलिभिजन स्टुडियोमा बसेका हाम्रा होनहार पत्रकारहरूले त्यो फुटेज सम्पादन गर्नुपर्ने आवश्यकता नै ठानेनन् र सम्पूर्ण फुटेजहरू सम्पादन नगरिएका दृश्य भनेर प्रसारण गरिरहे र सामान्य मान्छेलाई आतंकित पार्न सक्ने लाशहरू यत्रतत्र छरिएका दृश्य देखाइरहे। यतिसम्म कि उनीहरूले कृपया यी दृश्यले तपाईंलाई विचलित तुल्याउन सक्छ भनेर सावधान सम्म गराएनन्। के ती टेलिभिजनका पत्रकारहरूलाई त्यतिसम्म पनि ज्ञान थिएन? अथवा उनीहरूले जे गरे नि हुन्छ भन्ने देखाउन खोजेका हुन्? यति सामान्य कुरा पनि थाहा नभएको हो भने मेरो सिधा सुझाव छ- टेलिभिजन बन्द गर्नुस् म:म पसल चलाउनुस्।

व्यवसायिकताको चर्को नारा लगाउँदै आफूलाई चौथो अंग ठानेर कसैलाई मान्छे नगन्ने पत्रकार महोदयहरूले जे गरे नि हुने हो र? कि उनीहरूमा समाजप्रति केही उत्तरदायित्व थिएन? यतिमात्र होइन, नागरिकको अनलाइन संस्करण नागरिक न्युज डट कमले समाचार लेख्यो ललितपूरका एसपीको हवाला दिँदै। ’१८ वटा लाश बरामद’। बरामद र फेला पर्नु को भिन्नता थाहा नहुनेले किन पत्रकारिता गर्दै हिँडनु? राष्ट्रको चौथो अंग भन्दै किन डुक्रिनु बाटोमा? यतिमात्रै होइन, यही अनलाइनले दोस्रो लाईनमा तीनजना विदेशी नागरिकको नाम तथा देशको नाम लेख्यो र तुरून्तै सँगै लेख्यो उनीहरूको राष्ट्रियता खुल्न बाँकी। जब देशको नाम अमेरिका, जापान, अमेरिका लेखिसकिएको छ भने यो राष्ट्रियतामा अब के खुलाउन बाँकी रहेको हो? घटनास्थलबाट समाचार पठाउने रिपोर्टरले गल्ती गर्ला तर डेस्कमा बस्नुभएका महोदयहरू किन डेस्कमा बस्नु भएको हो? कपि एडिटर भनेर किन पगरी गुथेको? कपि एडिटिङ बाटोमा बसेर कति गाडि गुड्छन् भनेर गन्नु हो?

म आफू पत्रकारिताको विद्यार्थी भएकोले नै होला मलाई पत्रकारिताप्रति लगाव छ र म यसको व्यवसायिकता चाहान्छु। तर के यही शैलीले व्यवसायिकता हासिल गर्न सकिएला? शंका लाग्छ। टेलिभिजन वा पत्रिका चलाउनु म:म पसल चलाउनु हैन। पत्रकारितालाई समाजको ऐना भनिन्छ। जब ऐना नै चर्किएको छ भने त्यस्मा आफनो अनुहार राम्रो देखिएन भनेर गुनासो गर्नुको तुक होला र?

http://sanubhai.wordpress.com/2011/09/26/%E0%A4%95%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A5%87-%E0%A4%B8%E0%A5%81%E0%A4%A7%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%A8%E0%A5%87/

source :



You may also like

Powered by Blogger.

.

.

.

.