/
0 Comments
फोन ह्याकको आरोप लागेपछि १६८ वर्ष पुरानो पत्रिका बन्द हुने

सम्पादकलाई गिरफ्तार गरिने-
लन्डन, असार २४ (एजेन्सी)- बेलायतको धेरै बिक्ने ट्याबल्वाइड पत्रिकाहरुमध्ये एक 'दि न्युज अफ दि वर्ल्ड' आइतबारदेखि बन्द हुने भएको छ। पत्रिकाका तत्कालीन सम्पादक एन्डी कउलसनलाई पनि गिरफ्तार गर्न लागिएको 'दि गार्जियन'ले जनाएको छ।

सेलिब्रिटी, नेता र सामान्य मानिसको समेत फोन ह्याक गरेको आरोपमा छानबिन हुँदै गर्दा पत्रिकाको स्वामित्व रहेको कम्पनी न्युज कर्पोरेसनले १६८ वर्ष पुरानो पत्रिकाको अन्तिम अंक आइतबार निस्कने घोषणा गरेको हो।

कउलसन सम्पादक रहँदा उनको प्रत्यक्ष संलग्नतामा वा उनको जानकारीमा मोबाइल फोनहरुको ह्याकिङ भएको शंकामा उनलाई गिरफ्तार गर्न लागिएको हो।

न्युज कर्पोरेसनका डेपुटी चिफ अपरेटिङ अफिसर जेम्स मर्डोकले पत्रिका बन्द गर्ने निर्णय सही भएको बताएका छन्। तर त्यहाँ कार्यरत पत्रकार र कर्मचारीहरु भने हठात् घोषणाबाट चकित् भएका छन्। त्यहाँ २ सयभन्दा बढी कर्मचारी कार्यरत छन्।

मर्डोकले आफ्नो वक्तव्यमा पत्रिकाले संसदलाई र सर्वसाधारणलाई पनि यो विषयमा ढाँटेको बताउँदै १३ वर्षीया मिली डाउलरको भ्वाइस मेल ह्याक गरेको आरोप सही हो भने त्यो अमानवीय भएको बताएका छन्। मिलीलाई पछि हत्या गरिएको अवस्थामा फेला पारिएको थियो।

मर्डोकले अन्तिम अंकबाट हुने नाफा सामाजिक कामका लागि खर्च गर्ने घोषणा पनि गरेका छन्। यद्यपि, फोन ह्याकिङ जस्तो अनैतिक काम गरेका कारण विज्ञापनदाताहरुले विज्ञापन रद्द गरेबाट पत्रिका बन्द गर्नु बाहेक अर्को विकल्प नरहेको समीक्षकहरुले बताएका छन्।

बेलायती प्रहरी स्कटल्यान्ड यार्ड सो पत्रिकाले एक लाख पाउन्डभन्दा बढी रकम घुस स्वरुप प्रहरीका अधिकारीहरुलाई दिएको खुलेपछि न्युज अफ दि वर्ल्डले फोन ह्याकिङ गरेको खुलेको हो। पत्रिकाले राजपरिवारको सुरक्षा, हत्याको अनुसन्धान गरिरहेका लगायत संवेदनशील स्थानमा रहेका प्रहरी अधिकारीहरुलाई घुसस्वरुप रकम खुवाएको दावी गरिएको छ।

चार हजारभन्दा बढी मानिसको फोन पत्रिकाले ह्याक गरेको खुलेको छ। बेलायती सरकारले यसको छानबिन गर्ने बताइसकेको छ।

टिप्पणी ः पत्रकारले सूचनाका निम्ती के गर्न हुने र के गर्न नहुने भन्ने प्रश्नका निम्ती दि न्यूज अफ दि वल्र्ड पत्रिका बन्दको प्रकरण सबैभन्दा गतिलो उदाहरण हुन्छ । सूचनाको दौडमा प्रथम हुने नाममा विश्वव्यापी रुपमा पत्रकारहरुले व्यक्तीगत सूचना र गोपनियता माथी नै आक्रमण गर्ने प्रयासहरु भएका छन । केही महिना अघी मात्रै भारतमा भएको राडिया टेप प्रक्ररणलाई पनि कतिपयले व्यक्तीगत सूचनामाथीको अनाधिकृत आक्रमण भनेर टिप्पणी गरेका छन । बहस जे भएपनि सूचना प्राप्तीको निम्ती निजी जीवनमाथीको आक्रमण प्रेस स्वतन्त्रताको व्याख्याको आधार हुन सक्दैन यदी उक्त सूचना चुहाउदा सार्वजिनक जीवनमा सकरात्मक असर पदैन भने ।



You may also like

Powered by Blogger.

.

.

.

.