न्युज अफ द वर्ल्र्डको अवसानले सिकाएको पाठ

/
0 Comments

खिम घले

सूचनाका लागि 'टेलिफोन ह्याकिङ' र प्रहरीलाई 'घूस' दिएको आरोप लागेपछि बेलायती पत्रिका न्युज अफ द वल्र्डले २०६८ असार २६ मा उसको अन्तिम संस्करण प्रकाशन गरेको थियो । यसको प्रकाशक संस्था न्युज इन्टरनेसनलले दुई दिनअघि नै आइतबार (२६ गते) यसको अन्तिम संस्करण निकाल्ने घोषणा गरेको थियो । १६८ वर्षको इतिहास बोकेको पत्रिकालाई आतंककारी हमलाका पीडित परिवार, मारिएका स्कुले बालिका, राजनीतिकर्मी तथा सेलिब्रेटीहरू गरी करिब चार हजारजनाको गोप्य रूपमा फोन टेप गरेको आशंका गरिएको छ ।
यही विषयलाई लिएर बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले दुइटा सार्वजनिक जाँचको घोषणा गरेका छन्, जसको नेतृत्व न्यायाधीशले गर्नेछ । पहिलो जाँच न्युज अफ द वल्र्डले गरेको टेलिफोन ह्याकिङ र प्रहरीलाई दिएको भनिएको घूस बारेमा हुनेछ भने दोस्रो बेलायती पत्रकारिताको समग्र 'जर्नालिजम एथिक्स' बारेमा हुनेछ ।


अष्ट्रेलियली नागरिक मिडिया टाइकुन रवर्ट मुर्डकले चलाएको उक्त बेलायती पत्रिकाले अपनाएको भनिएको समाचार संकलनको तरिका, त्यसमाथि भइरहेको जाँचपड्ताल र पत्रिका बन्दको घोषणाले पत्रकारिता जगतमा एउटा हलचल नै मच्चाइदिएको छ । विशेषगरी पश्चिमी जगतमा 'ट्याबलोइट' भनिने पत्रिकाहरूको शैलीले बेला-बेलामा यसप्रकारको हलचल ल्याउने गर्छ ।



न्युज अफ द वल्र्डकै कुरा गर्दा अझै पनि सरकार वा अनुसन्धान अधिकारीहरूले पत्रिकालाई नै औंला ठड्याइसकेको अवस्था होइन । त्यसका कार्यकारीहरूले आफूहरूलाई यस सम्बन्धमा जानकारी नभएको पटक-पटक दोहोर्‍याएका छन् । तर सन् २००३-२००७ सम्म गरिएको भनिएका यी कर्तुतहरूको बारेमा त्यसका कार्यकारीहरू अनभिज्ञ थिए भन्ने कुरा पत्याउन सकिने अवस्था छैन । यसबीचमा कतिपय राजनीतिक, खेलाडी र सेलिब्रेटीलाई टेलिफोन ह्याकिङको कुरा बाहिर नलैजानका लागि ठूलो रकम क्षतिपूर्ति दिएको थियो । 'कतिपय कुराहरू मैले राम्ररी नबुझिकनै रकम दिइएकोमा अहिले आएर गल्ती भएको महसुस भएको छ', न्युज इन्टरनेसनलका युरोप अध्यक्ष जोन मुर्डकले पत्रिका बन्द गर्ने घोषणामा भनेका छन् ।
यो प्रकरण सार्वजनिक हुनुअघि न्युज अफ द वल्र्डलाई बेलायतमा नेतृत्वदायी पत्रिकाको रूपमा लिइन्थ्यो । करिब २५ लाख प्रति बिक्री हुने यो पत्रिकाले अफ्गानिस्तान र इराकको युद्धमा सुरक्षा फौजलाई सहयोग गरेको बताइन्छ । त्यसैगरी धेरै सामाजिक विषयहरू निरन्तर रूपमा उठाएर टुङ्गोमा पुर्‍याएको चर्चा चलिरहेको छ । यसले खेलेको भूमिकाको कारण बेलायती जनमानसमा यसको प्रभाव राम्रो थियो ।
तर जब टेलिफोन ह्याकिङ र सूचनाका लागि प्रहरीलाई घूस दिएको भन्ने विषय सार्वजनिक भयो, त्यसपछि बेलायती आममानिसको यस पत्रिकाप्रतिको धारणामा परिवर्तन आयो । विभिन्न सामाजिक सञ्जाल तथा अन्य मिडियाको माध्यमबाट पत्रिका नपढ्ने घोषणा आयो । ठूला एक दर्जन विज्ञापनदाताहरूले विज्ञापन नदिने घोषणा गरे । न्युज इन्टरनेसनल र पत्रिकाका कार्यकारीहरूले जाँचलाई पूर्णरूपमा सहयोग गर्ने वचन दिए पनि यो साम्य हुनसकेन । एकपछि अर्को गर्दै यो पत्रिकासँग सम्बद्ध रहिसकेका पत्रकारहरू तानिन थाले । जुन समयमा यी कर्तुतहरू भएको भनिएको छ, त्यसबेलाका सम्पादक जो पछि बेलायती प्रधानमन्त्रीका प्रेस विभागको निर्देशक नियुक्त भएका थिए, उनलाई समेत प्रहरीले पक्राउ गरी धरौटीमा छाडियो ।
यसले जति नै ठूलो, प्रभावशाली र इतिहासमा जति धेरै राम्रा काम गरेको भनिए पनि सञ्चार माध्यमहरूको भविष्य उसले गर्ने कामको नैतिकबलमा अडिएको हुन्छ भन्ने पाठ सिकाएको छ । साथै पत्रकारितालाई एउटा व्यापार वा कसैको निजी सम्पत्तिमात्र नभई सार्वजनिक सम्पत्तिको रूपमा पुनः एकपटक उजागर गरेको छ । प्रेस स्वतन्त्रता नैतिकतामा अडेको हुन्छ भन्ने कुरा स्पष्ट पारेको छ । कसैको अनैतिक कार्यलाई ढाकछोप गर्नमात्र होइन, अनैतिक ढंगबाट पत्रकारिता गर्दाको परिणामसमेत देखाएको छ ।

प्रेस स्वतन्त्रताको उदय पश्चिमा मुलुकहरूबाटै भएको हो । अन्य मुलुकले उनीहरूकै सिको गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गरिरहेका छन् । तर तिनै मुलुकमा यसको दुरुपयोग भएको उदाहरण बेला-बेलामा देखिँदै आएको छ । उनीहरूमा सचेत पाठक तथा दर्शक स्रोतका कारण दुरुपयोग गर्नेले त्यसै अनुसारको प्रतिफल पाउने गरेका छन् । हाम्रोजस्तो मुलुकमा सामाजिक वा नैतिक रूपमा यसरी गुञ्जायस छैन । यस्तो प्रकारको अनैतिक र गलत कार्यले आम पत्रकारितालाई नै बदनाम बनाउने वा राज्यको तर्फबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको नै कटौती हुनेगरी कारबाहीहरू हुने गरेको छ ।

त्यसैले नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले पटक-पटक दोहोर्‍याउने गरेको एउटा भनाइ यहाँ सान्दर्भिक छ, 'हाम्रा धेरै पत्रकार साथीहरू के कुरा लेखे भनेर होइन, त्यसलाई कसरी प्रस्तुत गरे भन्ने कारणले गर्दा बढी खतरामा पर्ने गरेका छन् ।' हो, नेपाली पत्रकारहरू अझै पनि स्वतन्त्रतापूर्वक आफ्नो पेसा गर्न नसकिरहेको अवस्था छ । पत्रकारहरूमाथि लेखेकै कारण आक्रमण गर्नेहरूलाई कानुनी दायरामा ल्याउन राज्य अक्षम छ । यति हुँदाहुँदै पनि यसमा हामी कति मात्रामा भागिदार छौं त ? हामी आफैंले आफ्नो मर्यादालाई नाघ्दा र सामान्य सावधानीहरू अपनाउन नसक्दा चुनौतीहरू थपिरहेका त छैनौं ?

न्युज आफ द वल्र्ड बन्द हुनुमा विज्ञापन रोकिएपछि घाटामा जाने डरले मुर्डकले पत्रिका बन्द गरेको भन्नेहरू पनि छन् । त्यससँगै पत्रिकै बन्द नगरेको भए हुने भन्नेहरूको जमात पनि नभएको होइन । 'नखाएको विष लाग्यो' भन्ने त्यो समयभन्दा पछाडि त्यस पत्रिकामा लागेका पत्रकारहरू भनिरहेका छन् । यद्यपि यसले के पाठ सिकाएको छ भने संविधानको धारा, उपधाराहरूमा प्रेस स्वतन्त्रता ग्यारेन्टी गरेर वा कानुनी संरक्षणमात्र पत्रकारिताको विकास वा अक्षुण्णता सम्भव छैन, पत्रिका र पत्रकारहरूले अवलम्बन गर्ने 'एथिक्स' पनि त्योसँग गाँसिएको छ ।
स्रोत ः http://www.ekantipur.com/np/2068/3/27/full-story/332305.html


You may also like

Powered by Blogger.

.

.

.

.