/
0 Comments

ओठे प्रतिबद्धतामात्रै

रामजी दाहाल
पछिल्लो समयमा विश्वव्यापी रूपमा सञ्चारकर्मीहरू असुरक्षित हुने क्रम बढेको छ । समाचार लेखेकै कारण सन् २००९ मा विश्वभरका १ सय ३७ जना सञ्चारकर्मीको हत्या भयो । सञ्चारकर्मीहरू कति असुरक्षित छन् भन्ने बुझ्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा कार्यरत एउटा अन्तर्राष्टिय संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट -सीपीजे) को यो तथ्यांक काफी छ । उसले यो वर्षलाई पत्रकारहरू मारिएको सबैभन्दा दुःखद वर्ष भनेको छ । यसअघि एकै वर्षमा यति धेरै सञ्चारकर्मीको हत्या भएको थिएन । अघिल्लो वर्ष सन् २००८ मा १ सय ९ जना पत्रकारको हत्या भएको थियो । यसरी मारिनेमा छापामाध्यमका पत्रकारहरू बढी छन् भने न्युज बिटका हिसाबले राजनीति र युद्ध संवाददाता । सीपीजेले पत्रकारहरूको हत्यालाई लिएर यो दसकलाई दुर्दान्त दसकको अन्त्य भनेको छ । सीपीजेका अनुसार, सन् २००९ मा फिलिपिन्समा सबैभन्दा बढी ३८ जना पत्रकार मारिए भने मेक्सिकोमा १३ र सोमालियामा ९ जना । सञ्चार सुरक्षालाई सरकारले गम्भीरतापूर्वक नलिँदा सञ्चारकर्मीमाथि हत्या, आक्रमण र दुव्र्यवहारका घटना बढेको उसको निचोड छ ।

प्रेस स्वतन्त्रता हननका यी र यस्ता घटना नेपालमा पनि दोहोरिएका छन् । अघिल्लो वर्ष समाचार लेखेकै कारण नेपालमा दुईजना पत्रकारको हत्या भएको थियो । यो वर्ष पत्रकारले ज्यानै गुमाउनु नपरे पनि आपराधिक समूहबाट दुईजना सञ्चार उद्यमीको हत्या भयो । २४ माघमा काठमाडौंका सञ्चार उद्यमी जमिम साहको लाजिम्पाटमा हत्या भएको एक महिना नबित्दै जनकपुरका अर्का सञ्चार उद्यमी अरुण सिंघानियाको १७ फागुनमा अज्ञात व्यक्तिहरूले जनकपुरमा गोली हानी हत्या गरे ।

यो वर्ष पनि दल, तिनका भ्रातृसंस्था र सुरक्षाकर्मीहरूबाट प्रेस स्वतन्त्रताप्रति गरिएका प्रतिबद्धता विपरीत निरन्तर आक्रमण जारी रह्यो । सञ्चारकर्मी र सञ्चारगृहमाथिको आक्रमण, हस्तक्षेप र धम्कीका घटनामा कमी आएन । यो वर्ष देशभर प्रेस स्वतन्त्रता हननका १ सय ६९ घटना भए । नेपाल पत्रकार महासंघका अनुसार समाचारकै विषयलाई लिएर यो वर्ष पत्रकारहरूले बढी मात्रामा धम्कीको सामना गर्नुपर्‍यो । प्रकाशित समाचारका विषयलाई लिएर ९५ जना पत्रकारलाई धम्की आयो । यो मामलामा माओवादी अघिल्लो वर्षजस्तै अगाडि देखियो । जेठ १० मा अर्घाखाँचीस्थित कान्तिपुर संवाददाता वीरेन्द्र केसीलाई पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर माओवादीको जिल्ला नेतृत्वले ज्यान लिने धम्की दियो । फागुन २ मा पाल्पा दैनिकका सम्पादक एनआर पौडेललाई एनेकपा माओवादीका पाल्पा जिल्ला सेक्रेटरी नेत्र पाण्डेले ज्यान मार्ने धम्की दिए । आफू र पार्टी विरुद्ध समाचार लेखेको भन्दै सेक्रेटरी पाण्डेले सपरिवार अपहरण गरेर 'सिध्याउने' धम्की दिएका थिए । सञ्चारकर्मीलाई धम्क्याउनेमा दलसम्बद्ध कार्यकर्तामात्र होइन, संविधानसभा सदस्य पनि छन् । रौतहटको क्राइम एक्सप्रेस डेलीका पत्रकार राजेन्द्रकुमार क्षत्रीलाई २८ फागुनमा प्रकाशित समाचारलाई लिएर सभासद बबन सिंहले धम्की दिएका थिए । यी केही प्रतिनिधिमूलक घटनामात्र हुन् । सञ्चारमाध्यमले गरेका टिकाटिप्पणीलाई सहन नसक्ने र आफू अनुकूल बनाउन धम्क्याउने, थर्काउने र आक्रमणमा उत्रने प्रवृत्ति ह्वात्तै बढेको छ ।

प्रकाशित/प्रसारित समाचारलाई लिएर सञ्चारकर्मीलाई धम्क्याउनेमात्र होइन, कार्यथलोमा बस्न नदिएका घटना यस वर्ष पनि दोहोरिएका छन् । जसका कारण यो वर्ष चारजना पत्रकार विस्थापित भए । पाँचथरस्थित कान्तिपुर दैनिकका संवाददाता लवदेव ढुङ्गाना र स्थानीय वर्तमान समय साप्ताहिकका सम्पादक कुमार ओझालाई समाचारको विषयलाई लिएर १३ असारमा वाईसीएल कार्यकर्ताले नियन्त्रणमा लिई हातपात र दुव्र्यवहार गरे । ज्यान मार्ने धम्कीपछि २० असारमा ढुङ्गाना र ओझा जिल्ला छोडी इलाममा विस्थापित भए । महासंघको मिसन टोलीले पत्रकार, स्थानीय प्रशासन, दल र नागरिक समाजसाग छलफल गरी ढुंगाना र ओझालाई कार्यथलोमा फर्काएको थियो ।

जनकपुर टुडे दैनिकका प्रकाशक सिंघानियाको हत्या भएको भोलिपल्टै सोही पत्रिकाका सम्पादक वृजकुमार यादवलाई एक साताभित्र मार्ने धम्की आयो । धम्कीपछि असुरक्षाका कारण पत्रकार यादव जनकपुर छाडी काठमाडौंमा विस्थापित भए । अवस्था सामान्य भएपछि पत्रकार यादव कार्यथलो फर्केका थिए ।

दल सम्बद्ध कार्यकर्ताले समाचार प्रकाशन, प्रसारण र बिक्री-वितरणमा समेत अवरोध पुर्‍याए । कतै आफ्ना बारेमा समाचार नआएका नाममा त कतै आफूले भनेजस्तो समाचार नआएका कारण अवरोध पुर्‍याइएका थिए । ६ साउनमा पत्रिका वितरणका लागि धुलिखेल पुगेको कान्तिपुर पब्लिकेसन्सको गाडी ताम्सालिङ संयुक्त सङ्घर्ष समितिका कार्यकर्ताले तोडफोड गरे । कतिपय ठाउँमा पत्रिका नियन्त्रणमा लिएर जलाउने काम भयो । दल, तिनका भ्रातृसंस्था र अन्य आपराधिक समूहमात्र होइन, राज्यका तर्फबाट पनि यो वर्ष सञ्चारकर्मीहरूले ज्यादती भोग्नुपर्‍यो । यसमा प्रहरी प्रशासन अगाडि देखियो ।

फागुन २ मा सिरहास्थित गोरखापत्र दैनिकका संवाददाता सन्तोष सुवेदीलाई वडा प्रहरी कार्यालय लहानबाट गस्तीमा खटिएका प्रहरी हवल्दार सन्तोष यादवको कमाण्डमा रहेका प्रहरी टोलीसहितका केही अपरिचित व्यक्तिहरूले दुव्र्यवहार र कुटपिट गरे ।

जनकपुर रेल्वे स्टेसनमा महिलामाथि भएको दुव्र्यवहारको घटनालाई लिएर स्थानीयवासीले गरेको विरोध प्रदर्शनको समाचार सङ्कलनार्थ पुगेका पत्रकारलाई प्रहरी उपरीक्षक श्याम खड्काको नेतृत्वको प्रहरी टोलीले घेरा हाली कुटपिट गरे । प्रहरीको लाठीचार्जबाट धनुषाका सातजना पत्रकार घाइते भए ।

सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएका आक्रमणमा संलग्न दोषीहरूलाई सरकारले कानुनी दायरामा ल्याउनसकेको छैन । कानुनी दायरामा ल्याइएका कतिपयलाई सरकारले राजनीतिक रंगमा मुद्दा फिर्ता लिएका घटना पनि छन् । जसले गर्दा अपराधीको मनोबल बढेको छ, दण्डहीनतालाई मलजल मिलेको छ । विद्यमान दण्डहीनताका कारण प्रेस स्वतन्त्रता हननका घटना चुलिएका

हुन् । त्यसकारण सीपीजेले भनेजस्तै सञ्चारकर्मीको हत्या, आक्रमण र धम्कीका घटना दोहोरिन नदिन र दण्डहीनताको अन्त्यका लागि सरकारले नडग्मगाउने प्रतिबद्धता व्यक्त गर्नैपर्छ ।

-दाहाल नेपाल पत्रकार महासंघका सचिव हुन् ।)

dahalramjee@hotmail.com
स्रोतः कान्तिपुर दैनीक, ०६७–०१–२०


You may also like

Powered by Blogger.

.

.

.

.