/
0 Comments

हिंसाउन्मुख टिभी च्यानलहरू

    भरत भुसाल

    वैशाख २७ -
    माओवादी आमहडतालबारे घरमै बसेर जानकारी लिने माध्यम टिभी भयो । यो बेला टिभी च्यानलहरूले पत्रकारिताको अत्यन्त दुरुपयोग गरे । कुटाइका दृश्य, उत्तेजक र आक्रामक संवाद, रक्ताम्य अवस्था र बदला तथा हिंसात्मक भ्वाइस बाइटहरू टेलिभिजनका स्कुप भए । च्यानलहरू उत्तेजना र हिंसाको रिपोर्टिङ गर्न उद्धत भएको पाइयो । हिंसाका दृष्य आफूले नै चाँडो देखाउन पाइयोस् भन्ने आसयले वितण्डतापूर्ण समाचार र दृष्य प्रसारण गरिरहेका छन् ।

    पत्रकारहरू लाइभ रिपोर्टिङमा प्रयोग गरिएका शब्द र पदावलीहरूको भाव, अर्थ र आसय के हुन्छ भन्नेतर्फ वास्ता गर्नुभन्दा विषयवस्तुलाई कसरी अतिरञ्जित गर्न र अवस्थालाई उत्तेजक बनाउन सकिन्छ भन्ने ध्याउन्नमा लागेको देखिन्छ । पत्रकारिताका माध्यमबाट हिंसाको प्रसार गर्न हुन्छ कि हुँदैन भन्ने विवेकको प्रयोग भएको देखिँदैन । देखाइएका दृश्य सत्य नै होलान् तर त्यसले शान्ति, सुव्यवस्था र सहज जीवनमा कस्तो असर पार्छ भन्नेतर्फ पनि ध्यान दिनु जरुरी छ । छिटो हुने नाउँमा वा 'एक्स्क्लुसिभ सिन' दिने बहानामा टिभी रिपोर्टिङ छाडा र भँडुवा हुन सक्ने सम्भावनालाई समयमा नै ध्यान दिनु जरुरी छ ।

    आन्दोलनकारी वा सरकार पक्षलाई सोध्ने प्रश्नहरू समस्याको समाधान खोज्ने भन्दा पनि एक-अर्को पक्षप्रति असहिष्णु र आक्रामक जवाफ आउने खालका थिए । लाइभमा हुनुपर्ने न्यूनतम सचेततासमेत नअपनाएर मनपरी गर्ने प्रवृत्तिले सिंगो शान्ति प्रक्रिया भाँड्न नै सहयोग पुग्नेतर्फ ध्यान पुगेको पाइँदैन । अस्वीकार र प्रतिकारलाई एउटै अर्थमा लिने र त्यसैलाई अतिरञ्जना गर्ने कार्य पनि देखिए ।

    काठमाडौं सतुंगलको सडकमा मरणासन्न अवस्थामा पल्टेको घाइते होस् वा जोरपाटी या बूढानीलकण्ठको झडपका दृष्य हुन्, उत्तेजना र बदलाको भाव बढाउने दृष्य थिए । यस्ता दृष्यको व्यापार गरेर च्यानलहरूले राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूलाई हिंसातर्फ प्रेरित गरेका छन् । रिपोर्टरका लागि ती कुरा रोमाञ्चक होलान् तर सिंगो समाजका लागि ती दृश्यहरूले कस्तो असर पारेको छ भन्नेतर्फ ध्यान कम गएको हो कि ? राजनीतिक दलको रणनीतिक उद्देश्यका साथ सञ्चालन गरिएको च्यानलले त्यसो गर्नु स्वाभाविक होला । आफूलाई व्यावसायिक वा निष्पक्ष भन्ने च्यानलहरूको स्वार्थ के हो भन्ने कुरा बुझिनसक्नु छ ।

    सामाजिक संस्कारको विकासमा सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका हुन्छ । समाजमा शान्ति, सुव्यवस्था कायम नभएमा असल संस्कार र संस्कृतिको विकास हुँदैन । यो समयमा शान्तिसंस्कृति विकास गर्नेतर्फ च्यानलहरूले बढी ध्यान दिनुपर्ने हो तर युद्धसंस्कृति र मानसिकताको व्यापक प्रसार गरेर नेपाली च्यानलहरूले शान्तिसंस्कृतिको धज्जी उडाइरहेका छन् । अपराधका बारेमा रिपोर्टिङ गर्नुको उद्देश्य अपराधको विकास र विस्तार गर्नु होइन । हिंसाको बारेमा रिपोर्टिङ गर्नुको उद्देश्य पनि हिंसा कम गर्ने मनसाय हुनुपर्ने हो । यस अवस्थामा मनसायले मात्र पुग्दैन, प्रसारण गरिने दृश्य र 'न्यारेसन' वा 'भ्वाइस वाइट' हरूको अर्थ, आसय र भाव समेत हिंसा घटाउने खालको हुनुपर्दछ तर मानिसमाथि हुने निर्मम आक्रमण, वीभत्स लास वा

    अवस्था, उत्तेजक भाषण वा गालीगलौजको हुबहु प्रसारणले हामीले शान्तिसंस्कृति भत्काउँदैछौँ भन्नेतर्फ ध्यान दिन ढिला भइसकेको छ ।

    असल पत्रकारिताले समाजलाई बाटो देखाउँछ । यस अर्थमा उसलाई राज्यको चौथौ अंग भनिएको हो । पत्रकारिता र पत्रकार शान्तिपूर्ण समाजमा मात्र सम्मानित हुन्छन् । यदि पत्रकारिताका कारण समाज हिंसात्मक, अराजक र असहिष्णु बन्छ भने त्यहाँ पत्रकारिताको सुरक्षा र सम्मान हुँदैन । हिंसात्मक समाजमा पत्रकारितामाथि पनि हिंसा हुन्छ । समाज ध्वस्त हुँदा पत्रकारिता सुरक्षित हुँदैन । त्यसैले पत्रकारकै सुरक्षाका लागि पनि समाज शान्त र मर्यादित हुनुपर्दछ । त्यस्तो समाज विकासमा शान्ति-पत्रकारिताको आवश्यकता पर्दछ । यसतर्फ नेपाली टिभी च्यानलहरूले समयमै ध्यान दिनु जरुरी छ । देशलाई मुठभेड र युद्धमा जान नदिन जनमत बढाउने र त्यसका लागि नागरिकहरूलाई सचेत गराउने कार्यक्रम छाडेर कम्तीमा हिंसा, हत्या, बदला, प्रतिशोध, उत्तेजना बढाउने खालका दृश्य, संवाद, अन्तर्वार्ता र भनाइहरू प्रसारण नगरौँ । सामाजिक सद्भाव, शान्तिपूर्ण समाज, राजनीतिक सहिष्णुता र समृद्ध नेपालका लागि आवश्यक पर्ने कार्यक्रम अघि बढाउन टिभी च्यानलहरूले मेहनत गर्नुपर्दछ ।

    brbhoosal@gmail.com
    साभार : कान्तिपुर दैनीक, २८ वैशाख ०६७



    You may also like

    Powered by Blogger.

    .

    .

    .

    .